तनहुँमा कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिने
भञ्ज्याङ न्यूज
स्वास्थ्य कार्यालय तनहुँले कोभिड-१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले बताए ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फ कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने तयारी भएको अधिकारीले बताए ।
‘जिल्लाका दसवटै पालिका मार्फ कोभिडबाट मृत्यु हुनेको विवरण माग गरिएको छ’, उनले भने, ‘अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता पाउनेछन्, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउँदैनन् । सबै पालिकाबाट विवरण प्राप्त भएपछि रकम निकासा गर्र्छौं ।’
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड-१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान रहेको छ ।
तनहुँमा कोभिड-१९ बाट १५६ जनाको मृत्यु भएको तथ्याङ्क छ। त्यसमध्ये महिला ६१ र पुरुष ९५ छन् । दोस्रो लहरको कोरोना सुरु भएपछि वैशाखयता मात्रै १२९ जनाको मृत्यु भएको थियो। भानुका ९, व्यासका ४५, शुक्लागण्डकीका ५४, भिमादका २४, म्याग्देका १०, घिरिङका ६, ऋषिङका १, देवघाटका १, बन्दिपुरका ३ र आँबुखैरेनीका ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










