राजनीतिलाई शुद्धिकरण गर्ने स्वतन्त्रको अभियान
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसबाट राजिनामा दिएका नेताहरुले पार्टी सिमित व्यक्तिको कब्जामा गएकाले राजनीतिलाई शुद्धिकरण गर्न अभियान चलाउने बताएका छन । कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र बसेका नेताहरुले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर सिमित व्यक्तिको कब्जामा गएकाले राजनीतिलाई शुद्धिकरण गर्न अभियान चलाउने बताएका छन् ।
म्याग्देको अकलामा बुधबार भएको भेलामा सहभागीहरुले भ्रष्टाचार, बेथिती, परिवारवाद र कुसंस्कार विरुधको अभियान सञ्चालन गर्नेमा जोड दिएका हुन् । भेलामा सहभागी राजु दाहालले कुनै पार्टी खोल्ने र कुनै पार्टी समाहित हुने भन्दा पनि शुद्धिकरण अभियान सञ्चालनका लागि छलफल गरिएको बताए ।
‘आफूलाई पद प्राप्त भएपछि विरोध गरिरहेको मान्छेको पनि समर्थन गर्ने जमात बढ्यो, झुटको खेती बढ्यो’, उनले भने, ‘अब कसरी अगाडी बढ्ने भनि रणनीति बनाउन विषयमा छलफल गरेका हौ ।’
भेलामा यो समूहबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने विषयमा समेत छलफल भएको बताइएको छ । भेलामा संविधानसभा सदस्य झुलबहादुर आले, नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोला, कांग्रेस पूर्व महाधिवेशन प्रतिनिधि महेश्वर भट्टराइ, ऋषिङ गाउँपालिकाका अध्यक्ष उम्मेदवार श्रीराम आले लगायतको सहभागिता रहेको बताइएको छ ।










