लागुऔषध सहित तीन पक्राउ
भञ्ज्याङ समाचारदाता/तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-४ बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका-६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँको ऋषिङ गाउँपालिका-१ सपाङ्दी बस्ने २१ वर्षीय आकाश गाहा मगर र तनहुँको देवघाट गाउँपालिका-२ बैदी बस्ने २१ वर्षीय सुरज थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना५ख १८२ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । बसमा सवार महेशको साथबाट एक सय थान डाइजेपाम, एक सय थान एम्पुल र एक सय थान नुर्फिन गरी तीन सय थान लागुऔषध बरामद भएको छ ।
त्यस्तै सोही बसमा सवार आकाशको साथबाट १५ थान डाइजेपाम, १५ थान फेनरागन र १५ थान नुर्फिन गरी ४५ थान लागुऔषध बरामद भएको छ।
प्रहरीले सुरजलाई लागुऔषध कारोवारको संलग्नको अभियोगमा पक्राउ गरेको हो । पक्राउ परेका तीन जना विरुद्ध मंगलबार नै तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।










