लमजुङको करापुटारस्थित इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा ठाडो बत्ती तथा पुजा गर्नाले सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट शिवरात्रि पर्वमा दर्शनार्थीहरु यहाँ आएका हुन् ।

इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री घिमिरेका अनुसार लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट भक्तजनहरु आएका छन् । समितिका अनुसार ठाडो बत्ती बाल्नेका लागि रू पाँच सय र बसेर बाल्नेका लागि रू तीन सय टिकटको व्यवस्था गरेको छ ।

आज रातभर ठाडो बत्ती बाल्नका लागि नौ सयजनाका लागि व्यवस्था मिलाएको सो समितिले जनाएको छ । यहाँ ठाडो बत्ती बाल्ने, दूध चढाउने, बसेर बत्ती बाल्ने, सामूहिक व्रतबन्ध, रक्तदान, भलिबल प्रतियोगिता, कृषि मेला, हस्ताकला प्रदर्शनी, १०८ धारामा स्नान, दर्शन गर्ने लगायतको कार्यक्रम हुने भएको छ ।

मेला सञ्चालनका लागि ३२ उपसमिति गठन भएको छ । यस मन्दिर धार्मिक हिसाबमा महत्वपूर्ण मानिने भएकाले यहाँ बर्सेनि शिवरात्रिमा करिब पाँच लाखको हाराहारीमा दर्शनार्थीहरु आउने आयोजकले जनाएको छ । यस मन्दिरमा सन्तान प्राप्त र सन्तान भएपछि शिवरात्रिमा मन्दिरमा देखाउन आउनेको बर्सेनि भीड लाग्छ ।

सन्तान वा पुत्र–पुत्री लाभको कामना गर्दै उनीहरूले रातभर निराहार (पानीसमेत नखाई) सन्तानको इच्छा राखेर इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बाल्ने, सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा आएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तानका साथै अन्य मनोकामनासमेत पूरा हुने विश्वासले मेलामा ठाडोबत्ती बाल्नेहरूको घुइँचो लाग्छ ।

मन्दिरमा विशेषगरी महिलाको बाहुल्यता देखिन्छ । रातभर उभिएरै बाल्ने भएकाले यसलाई ‘ठाडोबत्ती’ भनिएको पुजारीहरू बताउँछन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको इशानेश्वर महादेवको मन्दिरलाई सन्तानेश्वर महादेवका रूपमा समेत चिनिन्छ ।

स्थानीय बासिन्दाका अनुसार विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहले मन्दिर निर्माण गरेका थिए । प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई उक्त ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा रातभर ठाडोबत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए ।

त्यतिबेलादेखि नै इशानेश्वर महादेवमा सन्तानको चाहना राख्ने नरनारीले ठाडोबत्ती (उठेर बाल्ने बत्ती) बाल्ने चलन चलेको समितिले जनाएको छ । यस मन्दिरलाई नेपालकै पशुपति मन्दिर पछि दोस्रो मन्दिरसमेत भन्ने गरिन्छ । यस पर्वलाई मध्यनजर गरेर एक सय ७५ जना सुरक्षाकर्मीहरु खटिएका छन् । प्रहरीले दर्शनार्थीहरुलाई तीन चरणबाट सुरक्षा प्रदान गरिरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker