तनहुँ प्रहरीद्वारा ३० जना फरार प्रतिवादी पक्राउ

- भञ्ज्याङ समाचारदाता (दमौली)
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रेहका ३० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादिहरुलाई पक्राउ गर्ने अभियान चलाएको तनहुँ प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका-४ बस्ने बर्ष ३० को अनुपमणि अधिकारीलाई पनि पक्राउ गरेको छ । अधिकारी उपर उच्च अदालत पाटनको २०७६ फागुन १९ गते को फैसलाले ३ दिन कैद र २ लाख ५० हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।
यस्तै, कर्तव्य ज्यान मुद्दामा २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका ७ जना, नकवजनी चोरीमा २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका २ जना, चोरी मुद्दाका १ जना, सम्बन्ध बिच्छेद मुद्दाका ६ जना, कुटपिट मुद्दाका ६ जना, लुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा १ जना, घरेलु हिंसा मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना, केही सार्वजनिक अपराध मुद्दाका १, गाली वेइज्जती मुद्दाका २ जना गरी जम्मा ३० जनालाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि पेश गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।
पक्राउ परेकाहरुबाट हुन आउने कैद १ महिना १८ दिन र जरिवाना ३ लाख ३७ हजार ९५० रुपैयाँ असुल र कैद भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको तनहुँ प्रहरीले जनाएको छ ।










