घरघरमा धारा पुगेपछि स्थानीयवासी खुसी
रासस/मुग्लिन

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका -६ ढुंग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापक समेत रहनुभएका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिनुभयो ।
पुस्तौँदेखि घण्टौँ लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसगैँ घरघरमा धारा आउँदा आफुहरु खुसी भएको बताउनुभयो । उहाँका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेका थिए ।
उहाँले भन्नुभयो, “एक गाग्री पानी लिन घण्टौ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ।” वर्षौदेखिको आफूहरुले पहल गरिरहे पनि स्थानीय सरकार आएसँगैँ पूरा भएको उहाँको भनाइ छ ।
गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेको छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् ।
सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उहाँले बताउनुभयो । गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएकेा हो ।
उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताउनुभयो । गत वर्ष मात्र मोटरबाटो पुगेकेा सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि व्यवसायी तरकारीखेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।
गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ व्यवसायीखेती तर्फ स्थानीयवासीालाई आकषिर्त गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन समेत गरिहेको उहाँको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूलखेतीका लागि उर्वर भूमि मानिन्छ ।










