शुक्लागण्डकी–१० मान्द्रेबजारस्थित बामपाङ खोलामा वर्षाका समयमा कल्भर्ट निर्माण सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङ खोलामा वर्षाका समयमा कल्भर्ट निर्माण सुरु गरिएको छ । वर्षामा बाढी आउने जोखिम भए पनि आर्थिक वर्ष सकिन लाग्दा उक्त ठाउँमा कल्भर्ट निर्माण सुरु गरिएको हो ।
खोलामा असार २ गतेदेखि खन्ने काम थालिएको स्थानीय राजकुमार थापाले बताउनुभयो । “एक वर्षसम्म काम नगरी आर्थिक वर्ष सकिन लाग्दा बाढीको जोखिम भएको ठाउँमा काम सुरु गरिएको छ । यसबाट बजेटको दुरुपयोग हुनेमा आशङ् पैदा भएको छ”, उहाँले भन्नुभयो ।
थापाले वर्षा लाग्ने समयमा खोला खनेर राज्यको पैसा दोहन गर्ने काम भएको गुनासो गर्नुभयो । उहाँले यसअगाडि समयमै कल्भर्ट निर्माणका लागि धेरै पटक प्रमुख/उपप्रमुखसँग कुरा गरेपनि सुनुवाइ नभएको बताउनुभयो ।
थापाले भन्नुभयो, “असारमा आएर काम गर्दा पैसा दोहन मात्रै हुन्छ । गुणस्तरीय काम नहुने पक्का छ ।” लामो समयसम्म काम नगरी बस्ने र असारमा आएर खोला खन्ने काम हुँदा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको उहाँको भनाइ छ ।
पानीको बहाव कम भएपछि काम गर्न यहाँका स्थानीयले माग गरेका छन् । स्थानीयको माग सम्बोधन नगरी वर्षाको समयमा निर्माण थालिएकाले गुणस्तरीय काम हुन नसक्ने सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस्ता काम समयमै गर्नुपथ्यो, एक वर्षसम्म सुतेर बस्ने, अहिले आर्थिक वर्ष सकिनै लाग्दा काम गर्दा बजेटको दुरुपयोग हो । असारमा बाढी आएर खोला सबै बगाउँछ र जोखिम झन बढ्छ ।” पन्तले अहिले खर्च गरेर काम थाल्ने र बाढीले बगाउनुभन्दा अर्को वर्ष राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्माण व्यवसायी अमित पौडेलले नगरप्रमुख कृष्णराज पण्डितको निर्देशनमा काम सुरु गरिएको बताउनुभयो । स्थानीयले असारमा काम नगरौँ, वर्षा सकिएपछि गरौँ भन्ने माग राखेपनि नगरप्रमुखको आदेश अनुसार काम सुरु गरिएको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, “वर्षा सकिएपछि काम गर्ने कुरा थियो । स्थानीय र वडासँग कुरा गर्दा यतिबेला नगरौंँ भन्नुभएको थियो तर नगरप्रमुखसँग कुरा गर्दा उहाँले काम तत्कालै सुरु गर्नुपर्छ भनेपछि काम थालेका हौँ ।”
शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले निर्माण व्यवसायीको कमजोरीका कारण समयमै काम हुन नसकेको बताउनुभयो । हिउँदमै काम सुरु गर्न ताकेता गरे पनि काम नभएको उहाँको भनाइ छ ।
नगरपालिकाको रू २५ लाखको लागतमा बोलपत्र प्रक्रियामार्फत् कल्भर्ट निर्माण थालिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअगाडि काम गर्नका लागि ताकेता गरेका थियौँ, काम हुनसकेन । असार महिनाभित्रै काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन् ।”
वडाध्यक्ष क्षेत्रीका अनुसार छ/छ मिटर लम्बाई र चौडाइ भएको कल्भर्ट निर्माण गरिनेछ । यसअगाडि उक्त ठाउँमा आठ वटा ह्युमपाइप थियो । वर्षामा बाढी आउँदा खोला ह्युमपाइपभन्दा माथिबाट बग्ने र आवतजावतमा समस्या हुने भएकाले कल्भर्ट निर्माण थालिएको उहाँले बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker