कोरोना कहर : लयमा फर्कदै तनहुँ
आइसोलेसन र क्वारेन्टिन खाली, कोरोना परीक्षणका लागि स्वाब लिन र दिन छाडियो

- भञ्ज्याङ समाचारदाता (दमौली)
कोरोना भाइरस (कोभिड-१९) संक्रमण जेखिमका कारण गत चैत्र महिनादेखि बन्द भएका तनहुँका लगभग सबै क्षेत्र निर्वाध रुपमा खुल्न थालेका छन् । सर्वसाधारणहहरु कोरोना भाइरस संक्रमण जोखिमकै बीच आफ्नो दैनिकीलाई पुरानै लयमा फर्काउन थालेका छन् ।
ग्रामीण क्षेत्रका पर्यटन लक्षित होमस्टे, खेलकुदका प्रतियोगिता, सिनेमा हल बाहेक अहिले तनहुँका सबै क्षेत्र खुलेका छन् । सार्वजनिक यातायात, व्यापार व्यवसाय, शिक्षण संस्था, राजनीतिक दलका विरोध र्याली, सभा, वैवाहीक समारोह, पर्यटन, धार्मिक स्थल लगायतका क्षेत्र अहिले निर्वाध रुपमा खुलेका छन् । यस्ता कार्यक्रममा देखिएको भिडभाड, मानिसहरुको चहलपहल देख्दा कोरोना संक्रमण जोखिम हटेको भान हुन थालेको छ ।
सरकार तथा स्वास्थ्य वीज्ञहरु कोरोना संक्रमण जोखिम कायमै रहेको र यो भाइरसका विरुद्ध औषधी उपचार समेत सहज नभइसकेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेपनि सर्वसाधारणले यस तर्फ ध्यान दिएको देखिदैन । अहिले हरेक क्षेत्र पूर्णरुपमा खुलेको तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र बताउँछन् ।
‘सबैले आ-आफ्नो क्रियाकलाप पुरानै लयमा फर्काउन थालेका छन् । सर्वसाधारणमा कोरोना भाइरस संक्रमणको त्रास हटिसकेको जस्तो देखिन्छ’, उनले भने, ‘कोरोना केही पनि होइन, यसले हामीलाई केही गर्दैन भन्ने जस्ता व्यवहार समेत बढेको देखिन्छ । यस तर्फ सबै सचेत भई कोरोना परीक्षणको दायारालाई बढाउनुपर्ने देखिन्छ ।’
तनहुँका १० वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु पनि करिब नौ महिनापछि खुला गरी प्रत्यक्ष पठनपाठन सञ्चालन भएका छन् । भाइरस संक्रमण जोखिमकै बीच विद्यार्थीहरु विद्यालय जान थालेका छन् । बजार क्षेत्र तथा सार्वजनिक यातायातमा पनि भिडभाड देखिन थालेको छ । कोरोना कहरका कारण आर्थिक गतिविधि समेत सुस्ताएकोमा लकडाउन तथा निषेधाज्ञा खुकुलो बन्दै गएपछि अहिले अवस्था सहज बन्दै गएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् ।
उनले भने, ‘कोरोनासंग त्रसित होइन् सावधानि अपनाउँदै दैनिकीलाई अगाडि बढाउनुपर्छ भन्ने सर्वसाधारणमा सचेतना वृद्धि भएकाले पनि सबै क्षेत्र चलायमान भएको जस्तो देखिन्छ ।’ ‘कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि जिल्लामा आवश्यक आइसोलेसन, क्वारेन्टिनको व्यवस्थापन गरेपनि ती आइसोलेसन र क्वारेन्टिनमा बस्न कोही पनि तयार देखिदैनन्’, नगरप्रमुख न्यौपानेले भने, ‘व्यास नगरपालिकाले गत महिनासम्म दैनिक ५० देखि ८० जनासम्मको स्वाब नमुना संकलन गरी पिसिआर परीक्षण गरेपनि अहिले हप्तामा ४/५ जनाले मात्रै परीक्षण गरिदिनु भन्न आउने गरेका छन् । विदेश जाने, प्लेन चढ्ने तथा अप्रेशन गर्नुपर्ने विरामीहरु मात्र अहिले पीसीआर परीक्षणका लागि आउने गरेका छन् ।’
तनहुँका १० वटै पालिकामा हालसम्म १२ हजार ६८ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा १ हजार ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ हजार ७१ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । स्वास्थ्य कार्यालयको तथ्याङ्का अनुसार जिल्लामा अहिले २३० जना सक्रिय संक्रमित रहेका र उनिहरु सबै होमआइसोलनमा बस्दै आएका छन । ६ महिला र १३ पुरुष गरी १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
‘कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि जिल्लाका सबै पालिका, स्वास्थ्य कार्यालय तथा सरोकारवाला निकाय, सामाजिक संघ संस्थाहरुले जनचेतना मुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएका कारण अहिले सर्वसाधारणमा कोरोना प्रति जनचेतना अभिवृद्धि भएको हुँदा अवस्था सामान्य बन्दै गएको छ’, प्रमुख अधिकारीले भने, ‘जिल्लाका सबै पालिकाले कोरोना परीक्षणका लागि स्वाब लिने कार्य गरिरहेका छन् । तर, अहिले सर्वसाधारणहरुनै कोरोना परीक्षण गर्न नचाहाने र गर्नै परेपनि पोखरा, चितवन वा मेडिकलहरुमा गएर गर्ने क्रम बढेको छ ।’ उनले भने, ‘बजार क्षेत्रमा पछिल्लो समय देखिएको भिडभाड, राजनीतिक दलका कार्यक्रमले कोरोना संक्रमण थप जोखिम बढाएको छ । सर्वसाधारणले स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा लापरवाही लापरवाही गरेको पनि देखिन्छ । यस्तो लापरवाही भइरहेमा जोखिम थप बढ्ने देखिन्छ ।’
यस्तै, नियमक निकायले नियमन गर्न तदारुक्ता देखाएको पनि पाइदैन र संकास्पद संक्रमितको स्वाब संकलन गरी पीसीआर परीक्षणको दायारालाई फराकिलो पार्न तनहुँका स्थानीय तहले चासो देखाएका पनि छैनन् ।
कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन स्वयं नागरिक नै सचेत भई स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन । लामो समयको बन्दाबन्दीले असहज बनेको दैनिकीलाई सहज बनाउन अहिले सर्वसाधारणहरु लागिपरेका छन् । चिसो मौसम समेत बढ्दै गएकाले कतै भाइरस संक्रमणले भयवह अवस्था त निम्त्याउने होइन भन्ने चिन्ता समेत बढ्दै गएको छ।










