ग्रामीण क्षेत्रको पहिचान बोकेका घुमाउने घर लोप हुँदै

लमजुङ : केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे। गाउँको भौगोलिक बनोट, स्थानीय स्रोतसाधन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको निर्माण सीपलाई समेटेका ती घर कुनै समय ग्रामीण जीवनका सामान्य दृश्य थिए । अहिले भने त्यही दृश्य इतिहासको पानामा सीमित हुने अवस्थामा पुगेको छ ।
आधुनिकताको आकर्षणसँगै परम्परागत घर भत्काएर पक्की घर बनाउने क्रम बढेपछि लमजुङका गाउँमा घुमाउने घर दुर्लभ बन्दै गएका छन् । एक दशकअघिसम्म जिल्लाका विभिन्न ग्रामीण बस्तीमा सयौँको सङ्ख्यामा देखिने यस्ता घर अहिले खोज्नुपर्ने अवस्था आएको छ ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा यसको उदाहरण स्पष्ट देखिन्छ । वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा टोलैपिच्छेजस्तो घुमाउने घर देखिन्थे । अहिले भने मौलिक शैलीको एउटा घरमात्र बाँकी छ। उनले भने, ‘पहिले टोलैपिच्छेजस्तो घुमाउने घर हुन्थ्यो, अहिले एउटा मात्र बाँकी छ ।’ करिब छ वर्षअघि अर्को घुमाउने घरलाई स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले संग्रहालयका रूपमा रूपान्तरण गरिएको छ। संग्रहालयमा पुग्ने पर्यटकले परम्परागत घरको संरचना अवलोकन गर्ने, तस्बिर खिच्ने र गाउँको पुरानो जीवनशैलीबारे जानकारी लिने गरेका छन् ।
भुजुङमा बाँकी रहेको पुरानो घुमाउने घर करिब एक सय वर्षभन्दा पुरानो मानिन्छ । वडाध्यक्ष गुरुङका अनुसार उक्त घर तत्कालीन जिम्माल तथा प्रधानपञ्च लालपट्टी गुरुङको हो । परिवार अहिले त्यहाँ बस्दैन । तर घर अझै प्रयोगमा रहेको छ । समयसँगै पुस्ता फेरिए पनि उक्त घरले गाउँको पुरानो जीवनशैली, स्थानीय निर्माण सीप र सामाजिक इतिहासलाई आफ्नो संरचनाभित्र जोगाएर राखेको छ ।
घुमाउने घर ग्रामीण बस्तीका लागि बसोबास गर्ने संरचनामात्र थिएनन् । विद्युत् र आधुनिक प्रविधिको पहुँच नहुँदा यस्ता घर स्थानीय भूगोल र मौसमअनुकूल जीवनयापनको भरपर्दो आधार थिए। जाडोमा तुलनात्मक रूपमा न्यानो हुने, आवश्यकताअनुसार भित्री भाग छुट्याएर प्रयोग गर्न सकिने र बलियो संरचनाका कारण यस्ता घर पुस्तौँसम्म टिक्ने गर्थे ।
ढुङ्गा, माटो र काठको संरचनामाथि खरको छाना राखेर बनाइने यी घरमा स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग हुन्थ्यो। घरको बनोटदेखि छाना, झ्यालढोका र भित्री संरचनासम्म स्थानीय ज्ञान र सीपको प्रयोग हुन्थ्यो । त्यसैले घुमाउने घर एउटा भवनमात्र नभई स्थानीय वास्तुकला र जीवनपद्धतिको दस्तावेजसमेत थिए ।
तुर्लुङकोटमा पनि उस्तै अवस्था
सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा पनि घुमाउने घरको अवस्था उस्तै छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म गाउँमा १०–११ वटाभन्दा बढी यस्ता घर थिए। अहिले भने दुईदेखि चार वटासम्म मात्र बाँकी छन् । पुराना घर भत्काएर आधुनिक पक्की घर निर्माण गर्ने क्रम बढेसँगै घुमाउने घरको संख्या घटेको स्थानीय बताउँछन् । सुविधा, सुरक्षा र आधुनिक जीवनशैलीका कारण नयाँ पुस्ता परम्परागत घरमा बस्न इच्छुक नदेखिँदा पनि यस्ता संरचनाको संरक्षण चुनौतीपूर्ण बनेको छ ।
परम्परागत घरमा मर्मतसम्भारका लागि आवश्यक सीप र सामग्रीको अभाव अर्को समस्या हो । खरको छाना छाउने, काठको संरचना तयार गर्ने तथा स्थानीय शैलीअनुसार घर निर्माण गर्ने सीप नयाँ पुस्तामा क्रमशः हराउँदै गएको स्थानीयको भनाइ छ ।
राइनासकोटमा संरक्षणको प्रयास
राइनास नगरपालिका–९ राइनासकोटमा भने हराउँदै गएको परम्परालाई जोगाउने प्रयास गरिएको छ । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक घरबारे चिनाउने उद्देश्यले परम्परागत शैलीको घुमाउने घर निर्माण तथा संरक्षण गरिएको छ। स्थानीय तथा राइनास होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बालसिंह गुरुङका अनुसार विगतमा राइनासकोटमा पाँचवटासम्म घुमाउने घर थिए। अहिले एउटा मात्र बाँकी छ ।
उनले भने, ‘बाँकी रहेको एउटा घुमाउने घर संरक्षण गरेर राखेका छौँ। होमस्टेमा आउने पर्यटक त्यहाँ पुगेर घर हेर्ने, तस्बिर तथा भिडियो खिच्ने र घुमाउने घर यस्तो रहेछ भनी विशेषताबारे जानकारी लिने गर्छन् ।’
संरक्षण गरिएको घुमाउने घर अहिले स्थानीयका लागि पुरानो संरचना जोगाउने माध्यममात्र बनेको छैन, पर्यटक आकर्षित गर्ने स्रोतसमेत बनेको छ । यसले हराउँदै गएको परम्परागत वास्तुकलालाई पर्यटनसँग जोडेर जीवित राख्न सकिने सम्भावना देखाएको छ ।
होमस्टेमा आउने पर्यटकलाई स्थानीय खाना, संस्कृति र जीवनशैलीसँगै मौलिक घरको अनुभवसमेत गराउन सके यस्ता संरचना गाउँको पर्यटन सम्पदाका रूपमा विकास गर्न सकिने स्थानीयको बुझाइ छ ।
आधुनिकता स्वीकार्दै मौलिकता जोगाउने चुनौती
मर्स्याङदी गाउँपालिका–३ ढक्कैका स्थानीय पूर्णबहादुर गुरुङ पुराना घुमाउने घर भत्काएर आधुनिक घर निर्माण गर्ने क्रम बढेपछि गाउँको मौलिक संरचना हराउँदै गएको बताउँछन् ।
उनका अनुसार भविष्यमा पुरानै शैलीमा घुमाउने घर निर्माण गर्न आवश्यक सामग्री, सीप र जनशक्ति पाउन कठिन हुनसक्छ । त्यसैले आधुनिक सुविधालाई स्वीकार गर्दै गाउँको मौलिक स्वरूप जोगाउने उपाय खोज्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘भविष्यमा पुरानै शैलीको घुमाउने घर बनाउन सम्भव नहोला, तर गाउँघरको टिपिकल स्वरूप झल्किने घर सिमेन्टलगायत आधुनिक सामग्री प्रयोग गरेर भए पनि निर्माण गर्ने सोच छ ।’
यो सोचले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ– आधुनिकता र मौलिकता एकअर्काका विरोधी हुन् त ? आधुनिक सुविधा आवश्यक छ, तर सुविधा थपिँदै जाँदा गाउँको पहिचान नै मेटिनुपर्ने अवस्था भने स्वीकार्य नहुन सक्छ । घुमाउने घरको संरक्षण पुरानो घर बचाउने अभियानमात्र होइन। यससँग जोडिएको स्थानीय निर्माण सीप, वास्तुकला, सामाजिक इतिहास, वातावरणअनुकूल जीवनशैली र सांस्कृतिक पहिचान जोगाउने अभियान पनि हो ।
सम्पदा संरक्षणमा अभिलेखीकरण आवश्यक
लमजुङका ग्रामीण बस्तीमा बाँकी रहेका घुमाउने घर अब व्यक्तिगत सम्पत्तिको सीमाभन्दा माथि उठाएर सांस्कृतिक सम्पदाका रूपमा हेर्नुपर्ने आवश्यकता देखिएको छ। कुन गाउँमा कति घर बाँकी छन्, तिनको निर्माण कहिले भयो, कसले बनायो, कुन प्रविधि र सामग्री प्रयोग भयो तथा त्यससँग जोडिएको सामाजिक इतिहास के हो भन्ने विषयमा व्यवस्थित अभिलेख राख्न आवश्यक छ ।
बाँकी रहेका घरको संरक्षण, पुनर्निर्माण तथा मौलिक शैलीको पुनरुत्पादनमा स्थानीय तहले पनि भूमिका खेल्न सक्छन् । होमस्टे, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटनसँग जोडेर यस्ता संरचनालाई आर्थिक गतिविधिको माध्यम बनाउन सकिए स्थानीयले समेत संरक्षणको प्रत्यक्ष लाभ पाउन सक्छन् ।
किनकि घुमाउने घर हराउनु भनेको एउटा पुरानो भवन भत्किनुमात्र होइन । त्यससँगै एउटा पुस्ताको सीप, एउटा समाजको जीवनशैली, एउटा भूगोलको वास्तुकला र एउटा गाउँको मौलिक पहिचान पनि विस्तारै हराउँदै जानु हो । लमजुङका गाउँमा अहिले बाँकी रहेका ती थोरै घुमाउने घरले यही प्रश्न गरिरहेका छन्–आधुनिकताको दौडमा हामी सुविधा त थपिरहेका छैनौँ, तर आफ्नै पहिचान भने गुमाइरहेका त छैनौँ ?
अब संरक्षण नगरे ढिलो हुन सक्छ । बाँकी रहेका घरलाई जोगाउने, अभिलेख बनाउने र नयाँ पुस्तालाई त्यसको महत्व बुझाउने काम तत्काल सुरु गर्नुपर्ने देखिन्छ । परम्परा संग्रहालयभित्र थन्क्याउने होइन, समयअनुकूल रूपान्तरण गर्दै जीवित राख्ने प्रयास नै मौलिकता जोगाउने सबैभन्दा बलियो बाटो हुन सक्छ ।










