संस्कृति जोगाउँदै समाज घर

रासस/कास्की

विभिन्न अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै छन् । गाउँमा भएको सबैथोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई सहरमा देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, ‘समाज घर’ । विभिन्न गाउँबाट पोखरा झरेकाहरुले यहाँ आ-आफ्नो सहरमा समाज घर बनाएका छन् । यस्ता समाजघरमार्फत संस्कार, संस्कृति, भाषा जोगाउन ध्यान दिइएको पाइन्छ । हिजो बुद्ध पूर्णिमाका दिन पोखराका गुरुङ समाजघरमा घाटु नृत्य देखाइयो । पोखरा महानगरपालिका-१४ काजीपोखरीस्थित पोंचोकों तमु परिवार पोखरामा पनि दिनभर घाटु नाच प्रस्तुत भयो ।

समाजघरमा घाटुसरीहरु दिनभर व्यस्त हुनुभयो । टाउकोमा लाया (घाटुका लागि धानको लाभाबाट बनाएको टोपी) र बिर्कोट (लायालाई अड्याउन बनाइएको कपडा) लगाएका बालिका निदाएकै आभाषमा गुरुबाको स्वरसँगै हाउभाउ मिलाएका देखिन्थे । यहाँ शुक्रबारदेखि सुरु भएको नाच पाँच दिनसम्म चल्छ ।

लमजुङको घनपोखरा र उत्तरगङ्गा घर भएका गुरुङ समुदाय पोखरा घाटु नृत्य जोगाउन विसं २०६२ देखि नै तल्लीन छन् । श्रीपञ्चमीदेखि सुरु घाटु वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीका समयमा सक्ने (सेलाउने) पोंचोकों तमु परिवार पोखराका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो । “पोखरा बस्ने घनपोखरा र उत्तरगङ्गाका स्थानीयहरु २०६२ सालदेखि नै खटिएका छौँ”, अध्यक्ष राजकुमारले भन्नुभयो, “हामीले सुरु गरेपछि अन्य समाजघरले पनि सुरु गर्नुभएको छ । समाजघरको माध्यमबाट पोखरामा घाटु देखाउने सम्भवतः हामी पहिलो हौँ ।”

नयाँ घाटुसरी (घाटु नाच्ने बालिका) छनोट गर्ने बेला रजस्वला नभएका, घाउचोट नलागेका र कपालसमेत नकाटेका बालिकालाई राखेर गीत गाउने प्रचलन रहेको पूर्वघाटुसरी बिनकुमारी गुरुङले बताउनुभयो । जुन बालिकालाई घाटुले ‘छोप्छ’, तीमध्ये दुइजनालाई घाटुसरीका लागि छानेर श्रीपञ्चमीदेखि बुद्धपूर्णिमासम्म अभ्यास गराइने बिनकुमारीले सुनाउनुभयो । उमेरले ६२ वर्ष लाग्नुभएका बिनकुमारीले घाटु जोगाउन पोंचोकों तमु परिवारमा सुरुदेखि नै लागिपरेको बताउनुभयो । “हाम्रो संस्कृति हराएर जान्छ कि भन्ने साह्रै चिन्ता लाग्छ”, बिनकुमारीले भन्नुभयो, “सुरुमा हामी पहिलेदेखि नै नाच्नेहरु नाच्यौ, अहिले निशा गुरुङ र शीतल गुरुङलाई तयार गरेका छौँ ।”

निशा र शीतललाई घाटुसरी बनाउन निकै संघर्ष गर्नुपरेको बिनकुमारीले बताउनुभयो । अहिलेको युवती नाच्न रुचि नगर्ने कारण घाटुसरी पाउनै समस्या रहेको उनले सुनाइन् । “घाटुरसीहरु पाउनै गाह्रो छ । अनि यिनीहरुलाई माग्न जाँदा बुहारी माग्न जाँदा जस्तै हो”, उहाँले भन्नुभयो, “नाच्ने जस्तो लागेपछि फलफूल र रक्सी लिएर तपाईंको छोरी हामीलाई घाटुसरी बनाउन दिनुस् भनेर माग्नुपर्छ अनि लौ ठीकै छ लैजानुस् भनेर दिएपछि ल्याउने हो ।”

बाह्रमासे, कुसुण्डा र सती गरी तीन प्रकारका घाटुमध्ये यहाँ देखाइको बाह्रमासे घाटु हो । यसमा दुइ बालिकामध्ये एकलाई राजा र एकलाई रानीको भेषमा सजाएर वनमा सिकार, राजारानीको विवाह, प्रेम, पुत्रलाभ, युद्धमा राजाको मृत्यु र रानी सती गएको प्रसङ्ग गीतमार्फत प्रस्तुत गरिन्छ । नाच सुरु हुने अघिल्लो दिन राति सामूहिक दर खाएपछि उपवास बस्ने चलन रहेको घाटुका गुरुबा जीवराम गुरुङले बताउनुभयो । गाउने-बजाउने, नाच्ने गुरु, सुसारे र घाटुसरी भोलिपल्ट दिनभर फलफूल मात्र खान्छन् । “घाटुमा ठूलो शक्ति हुन्छ, त्यसैले यसलाई हामी जुनसुकै बेला गाउने, बजाउने र नाच्ने गर्दैनौँ”, जीवरामले भन्नुभयो । तर, यो विशिष्ट परम्परामा युवाहरूको रुचि घट्दै जानु चिन्ताको विषय भएको उहाँ बताउनुहुन्छ । बाह्रमासे घाटु विशेषगरी तीन वर्षसम्म नाचिन्छ । नयाँ घाटुसरीहरु तीन वर्षसम्म नाचेर सेलाएपछि ती घाटुसरीहरु अरू ठाउँमा नाच्न पाउने जीवरामले बताउनुभयो ।

“नयाँ घाटुहरु आएपछि तीन वर्षसम्म नचाउनुपर्छ अनि सेलाइन्छ, अहिले नाचेका शीतल र निशाको यो वर्ष सेलाउने हो”, उहाँले भन्नुभयो, “अब केही वर्ष उनीहरुले नै धान्छन् अनि नयाँ खोज्नुपर्ला तर नाच्न इच्छा गर्ने भेट्नै गाह्रो छ ।” गाउने गुरुबाहरु पनि तयार गर्न समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताहरुले घाटुमा वास्तै नगरेका कारण अबको पुस्ताले के गर्छ भन्ने गुरुङको चिन्ता छ ।

बाह्रमासे घाटुमा नाच्ने घाटुसरीले लगाउने बिर्कोट पनि पाउन गाह्रो रहेको जीवरामले सुनाउनुभयो । “अहिले उनीहरुले लगाएको बिर्कोट पनि गुरुहरुले पञ्चासेतिरबाट खोजेर ल्याउनु भएको रहेछ”, जीवरामले भन्नुभयो, “जस्तो पायो उस्तै धागोको बनाएर हुँदैन । यो बनाउने छुट्टै तरिका छ । अब नयाँ घाटुसरी तयार गर्दा बिर्कोट कताबाट ल्याउने भन्ने चिन्ता छ ।” घाटु नाच सुरु हुनुभन्दाअघि गुरुले पूजा गरेपछि राजा घाटुसरीलाई रातो र रानीलाई कालो बिर्कोट दिइन्छ । गुरुबाहरुले पूजा गरेर दिइने बिर्कोटमा विशेष शक्ति हुने जीवरालेले जानकारी दिनुभयो । विर्कोट लगाएपछि घाटुसरीलाई देवता चढ्ने विश्वास छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker