तनहुँमा खेलकुद गतिविधि बढ्यो
कृष्ण न्यौपाने/दमौली
कोभिड-१९ को जोखिम कम हुँदै गएपछि तनहुँमा खेलकुदका गतिविधि बढेका छन् । जिल्लाका स्थानीय तहले दौड, फुटबल, भलिबल, व्याडमिन्टन, डोरी तान्ने खेलकुद सञ्चालन गर्न थालेका हुन् । व्यास नगरपालिकाले महिला हाफ म्याराथन सम्पन्न गर्नाका साथै अल्ट्रा म्याराथन र मेयर-उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ ।
माघ १६ गते सहिद दिवसका अवसरमा हुने पाँचौँ अल्ट्रा म्याराथन कोभिडका कारण स्थगन भएकामा फागुन २८ गते सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । यस्तै गत वर्षदेखि नारी दिवसका अवसर पारेर सुरु गरिएको महिला हाफ म्याराथन फागुन २४ गते सम्पन्न भएको थियो ।
व्यास नगर अल्ट्रा म्याराथन ४४ किमी दूरीको छ । व्यास नगरपालिका-५ मानुङबाट सुरु हुने म्याराथन वडा नं ८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
नगरपालिकाले म्याराथनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “पर्यटकीय गाउँ मानुङ र सहिदहरूको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनले त्यस ठाउँको प्रवर्द्धन हुने विश्वास गरेका छौँ, उहाँले भन्नुभयो ।

अल्ट्रा म्याराथनमा प्रथमलाई रु ८५ हजार ७८, द्वितीयलाई रु ६५ हजार ७८, तृतीयलाई रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु १६ हजार ७८ प्रदान गरिनेछ । अल्ट्रा म्याराथनमा २०० र महिला हाफ म्याराथनमा १५० धावक सहभागी हुने अनुमान गरिएको छ ।
मेयर-उपमेयर कप फुटबल प्रतियोगिता
खेलाडीको सहभागिताका लागि फागुन ९ देखि २९ गतेसम्म दर्ता गर्न सकिनेछ । खेलाडीको जन्ममिति विसं २०६० वैशाख १ गतेभन्दा अघिल्लो जन्ममिति मान्य नहुने बताइएको छ ।
खेलाडीको नाम दर्ता गर्दा कक्षा ९ र १० को हकमा आधारभूत तह उत्तीर्ण भएको ग्रेडसिट र कक्षा ११ र १२ को हकमा एसइइको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि सम्बन्धित विद्यालयले प्रमाणित गरी पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ।
भिमादमा मेयर कप
भिमाद नगरपालिकाले पाँचौँ भिमाद मेयर कप अन्तरपालिका स्तरीय पुरुष भलिबल तथा क्लबस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । भलिबलको विकास तथा नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरुप चैत १ देखि प्रतियोगिता गर्न लागिएको हो ।
पुरुषतर्फ प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार नगद प्रदान गरिने खेल संयोजक प्रेमबहादुर थापाले जानकारी दिनुभयो । महिलातर्फ प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार नगद प्रदान गरिनेछ ।
आँबुखैरेनीमा अध्यक्ष कप सुरु
आँबुखैरेनी गाउँपालिकाले प्रथम अध्यक्ष कप प्रतियोगिता सुरु गरेको छ । फागुन १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटबल, डोरीतान, व्याडमिन्टन खेल सञ्चालन गरिने त्यहाँका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो । रासस










