तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष रानाद्वारा सामुदायिक भवन उद्घाटन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-५ स्थित काफलस्वाँरा सामुदायिक भवनको शनिबार उद्घाटन गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानबाट निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन गर्दै रानाले विकास निर्माणका कामलाई प्राथमिकता दिइएको बताइन् । स्थानीय समुदायको मागका आधारमा तालिम, सीपमूलक कार्यक्रम, स्वास्थ्य, शिक्षा लगायतका काम गरिएको उनले बताइन् ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय स्तरमा समुदायको मागका आधारमा सामुदायिक तथा आमा समूहको भवन निर्माणका लागि सहयोग गर्दै अएको बताए । निर्माण सम्पन्न भएको भवन समुदायको विभिन्न कार्यक्रम गर्न र स्थानीय समुदायको कला कौशल देखाउनका लागि सहयोग पुग्ने उनले बताए ।
भवन निर्माणका लागि पालिकाले ६ लाख सहयोग गरेको थियो भने स्थानीयले ६ लाखको श्रमदान गरेका थिए । त्यस्तै स्थानीय समुदायबाट एक लाख ४७ हजार संकलन भएको म्याग्दे गाउँपालिका-५ की वडा सदस्य चिनीमाया थापाले जानकारी दिइन् ।










