तनहुँको ढोरफिर्दीमा दोस्रो तीज कप रनिङ शिल्ड प्रतियोगिता

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले दोस्रो तीज कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ विहीबारबाट सञ्चालन गरेको छ। गणपति खेलमैदानमा सञ्चालित प्रतियोगितामा रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गतका तीन विधामा खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको पहिलो दिन घैटो फुटाई, चम्चा गुच्चा दौड, र सियोमा धागो उन्ने प्रतियोगिता सम्पन्न भएका छन् । घैटो फुटाई तर्फ मिलन टोल विकास संस्थाकी पुजा लम्साल प्रथम, संगम टोल विकास संस्थाकी ईन्द्रा विक द्धितीय र तल्लो किमलडाँडा टोल विकास संस्थाकी शारदा कुमाल तृतीय भएको आयोजक वडा नम्वर ८ का वडाध्यक्ष नारायण सिं थापाले बताए ।
यस्तै सियोमा धागो उन्ने प्रतियोगिता तर्फ शिव टोल विकास संस्थाकी विमला वि.क प्रथम, अन्नपूर्ण टोल विकास संस्थाकी शिला महत द्धितीय र गणेश टोल विकास संस्थाकी मनु राना तृतीय भएकी छन् । विहीबार नै सम्पन्न भएको चम्चा गुच्चा दौड प्रतियोगिता तर्फको नजिता प्राविधिक कारणले प्रकाशन गरिएको छैन ।
वडामा रहेको महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा तीज गित प्रतियागिताका साथै म्युजिकल चेयर प्रतियागिता समेत आयोजना गरिएको छ । बाँकी दुई विधाका प्रतियोगिता शुक्रबार सञ्चालन गरिने सुचना अधिकारी इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
प्रतियोगितामा वडाका १९ टोल विकास संस्थाका प्रतियोगिहरु सहभागि रहेका छन् । प्रतियोगिताका शुक्रबार गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमहरु मध्ये तीज गित गायन तर्फ प्रथम, द्वितीय, तृतीय हुने समुहले क्रमशः सात हजार ७७७, पाँच हजार ५५५, र तीन हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् भने चौथो र पाँचौ हुने समुहले दुई हजार २२२ र एक हजार १११ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । अन्य विधामा प्रथम द्वितीय र तृतीय हुनेहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष थापाले जानकारी दिए ।
वडाध्यक्ष थापाले प्रतियोगितामा सहभागि भएका टोल विकास संस्थाका सदस्यहरु मध्ये सबैभन्दा धेरै मेडल जित्ने संस्थाले रनिङ शिल्डको उपाधी सहित नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।
यस्तै मेडल अनुसार द्धितीय र तृतीय हुने टोल विकास संस्थालाई नगद १५ र १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लगातार एउटै टोल विकास संस्थाले तीन पटक प्रथम भई उपाधी जिते रनिङ शिल्ड उक्त संस्थालाई प्रदान गरेर थप नगद ५० हजार प्रदान गर्ने प्रावधान रहेको वडाध्यक्ष थापाले बताए ।










