पाँचौं भिमाद मेयर कपको उपाधि बौदीकाली गाउँपालिकाले जित्यो
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको पाँचौं भिमाद मेयर कपको उपाधि वौदीकाली गाउँपालिका डेढगाउँले जितेको छ । चैत्र १ गतेदेखि शुरू भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता र क्लव स्तरीय खुल्ला महिला भलिवल प्रतियोगिताको फाइनल खेल बिहीबार सम्पन्न भएको हो ।
पुरुष तर्फ भिमाद नगरपालिका ‘ए’ र बौदीकाली गाउँपालिका बीच भएको फाइनल खेलमा ३-१ सेटले भिमाद नगरपालिकालाई पछि पार्दै बौदीकाली गाउँपालिकाले उपाधि जित्न सफल भएको हो । यस्तै घिरिङ्ग गाउँपालिका तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने समुहले क्रमश १ लाख, ७५ हजार र ५० हजार प्राप्त गरेका छन् ।
यस्तै महिला तर्फको प्रतियोगिताको उपाधि कास्की अर्चलबोट क्लबले उचालेको छ । महिला तर्फ भिमाद नगरपालिका ‘ए’ र कास्की अर्चलबोट बिच भएको फाइनल खेलमा भिमाद नगरपालिकालाई २-० सेटले पराजित गर्दै कास्की अर्चलबोट क्लबले महिलातर्फको उपाधि जितेको छ । कास्कीको पोखरा क्लब गगनगौंडा तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने समुहले क्रमश ७५ हजार, ५० हजार, २५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेका छन् । सो अवसरमा भिमाद नगरपालिकाका नगरप्रमुख मेख बहादुर थापा, ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
यस्तै, पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो भने महिला तर्फ ४ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक प्रेम बहादुर थापाले बताएका छन् ।