भिमादलाई समृद्ध बनाउने सोचका साथ चुनावी मैदानमा उत्रिए एमालेका उम्मेदवारहरु (प्रतिवद्धतापत्र सहित)
भञ्ज्याङ न्यूज

स्थानीय निर्वाचनका लागि तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेको दधिराज सुवेदी ‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा विस्तार : भौतिक पूर्वाधार समृद्ध भिमादको आधार’ भन्ने उद्घोषका साथ चुनावी मैदानमा उत्रिएका छन् ।
स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनेगरी पार्टीले संविधान निर्माणमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै उम्मेदवार सुवेदीले हाम्रो पार्टीको सरकारको नेतृत्वमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका कानुन निर्माण र कार्यान्वयन, कर्मचारी समायोजन, वित्तीय स्रोत हस्तान्तरण जस्ता महत्वपूर्ण कार्यहरू गरेको सुवेदीले बताए ।
संविधानले प्रत्याभूत गरेको आवधिक निर्वाचन अन्तर्गत मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको र यस निर्वाचनले अगामी पाँच वर्षा लागि स्थानीय सरकारको निर्माण गर्ने हुँदा हामी भिमाद नगरबासीहरू दोस्रो पटक सक्षम, कुशल र गतिशील सरकार निर्माणको प्रक्रियामा रहेकाले यस अभियानमा भिमाद नगरबासिको साथ र सहयोगको अपेक्षा गरेको उम्मेदवार सुवेदीले बताए ।
भिमादको समग्र विकास र उन्नयनमा नेकपा एमालेले विगत लामो समयदेखि नेतृत्वदायी भूमिकामारही योगदान गरिरहेको र २०७४ को स्थानीय निर्वाचमा भिमाद नगरपालिका बासिको अमूल्य मतले हाम्रो पार्टीलाई विजयी गराइ काम गर्ने सुनौलो मौका दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै उम्मेदवार सुवेदीले भने, ‘आगामी दिनमा समेत एमालेले नै यस नगरको विकास र समृद्धिको स्पष्ट खाकासहित अघि बढ्ने र त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति राख्दै तपाइँ नगरबासीहरूलाई अमूल्य मतदान गर्न हार्दिक अपिल गर्दछौं ।’
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार निर्माण तथा उन्नत प्रविधिको विकास गरी उत्पादनमा वृद्धि, स्वरोजगारको प्रत्याभूति गर्दै समुन्नत भिमाद निर्माण गर्ने लक्ष्य र स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी भिमादलाई समृद्ध बनाउने सोचका साथ आफु चुनावी मैदानमा उत्रिएको उनले बताएका छन् ।

मेयर पदका उम्मेदवार दधिराज सुवेदी, उपमेयरका उम्मेदवार शारदा खनाल, वडाध्यक्ष, सदस्यहरु सहित भिमाद नगर कमिटीले सञ्चालन गरेको चुनावी घरदैलो अभियानमा अघिल्लो नेतृत्वले गरेका राम्रा काम, अधुरा रहेका योजना र अब गर्नुपर्ने कामका विषयमा जनतालार्य जानकारी गराउँदै आफ्नो पक्षमा मतदान गनै आग्रह गरेका छन् ।
अघिल्लो नेतृत्वले भिमादमा नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएका अधिकारको प्रावधान भित्र रहेर नेकपा एमालेले नेतृत्व गरेको स्थानीय सरकारले ५ वर्षा १८ वटा ऐन, ३५ वटा नियमावली, निर्देशिका, कार्यविधि, मापदण्डहरू र १ वटा आचारसंहिता निर्माण गरी सुशासन र संविधानको कार्यान्वयन गर्ने कार्यमा अगाडि बढेको अवस्था रहेको उपमेयरकी उम्मेदवार एवं निवर्तमान उपमेयर शारदा खनालले बताइन् ।
यस्तै, अघिल्लो नेतृत्व सडकका पूर्वाधार निर्माण, कालोपत्रे, खानेपानी पाइप लाइन विस्तार, नाला निर्माण, शैक्षिक क्षेत्र, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, खानेपानी, सिंचाइ लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उपलब्धीहरु जनताको घरदैलोमा पुगेर जानकारी गराइएको छ ।
चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका उम्मेदवारहरुले आगामि पाँच वर्षको लागि पार्टीले तय गरेको प्रतिबद्धता समेत जानकारी गराएका छन् । भिमाद नगरकमिटीले नीति, कानुन तथा योजना तर्जुमा एवं कार्यान्वयन, शिक्षा क्षेत्रको विकास, स्वास्थ्य, खानेपानी तथा वातावरण, फोहोरमैला व्यवस्थापन र सरसफाइ, विद्युतीकरण र आधुनिक ऊर्जा, आवास व्यवस्थापन, कृषि तथा पशुपञ्छी, भूमि व्यवस्थापन, सहरी विकास तथा बस्ती विकास, पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धन, कला, संस्कृति, धार्मिक सास्कृतिक, जैविक विविधता तथा पुरातात्विक सम्पदा, युवारोजगारी तथा खेलकूद, समावेशी तथा सहभागिता, ज्येष्ठ नगरिक, गरिबी निवारण तथा रोजगारी सिर्जना, उद्योग र वाणिज्य, सुशासन, सूचना तथा सञ्चार, अर्थ संककलन र परिचालन, तथ्याङ्क अभिलेखीकरण लगायतका विविध क्षेत्रलाई आफ्नो प्रतिवद्धतामा समावेश गरी मतदाताकोमा पुगेका छन् ।










