भानुमा प्राकृतिक श्रोत व्यवस्थापन र जैविक विविधता संरक्षण विषयक अन्तरक्रिया
भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकामा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन र जैविक विविधता संरक्षणमा लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ । भानु नगरपालिकाले युएसएआइडी जल जंगलको सहयोगमा उक्त कार्यक्रम गरेको हो ।
प्रकृति संरक्षण, मानव संमृद्धि र सुरक्षित भविष्यको लागि पारिस्थितिकीय प्रणाली तथा वन्यजन्तुमा हुने बहुआयामिक जोखिम कम गर्ने कार्यक्रमको उद्देश्य रहेको बायोडाइभरसिटि गण्डकी प्रदेशका कार्यक्रम टिम लिडर मानबहादुर विश्वकर्माले बताए । उनका अनुसार सबै तहमा लैङ्गकि समानता र सामाजिक समावेशीकरणको सुनिश्चितता, सरोकारवालाहरुको आत्मनिर्भरताको लागि क्षमता विकास, नीति प्रणाली र मापदण्ड सुधार गर्दै जाने अवधारण जल जंगलको रहेको छ ।
उनले भने, वन, वन्यजन्तु र जैविक विविधताको अवस्थामा सुधार, वातावरणीय अपराधको रोकथाम तथा नियन्त्रण र प्राकृतिक स्रोत सुरक्षण र जलवायु उत्थानशिलता अभिवृद्धि गरी ३ वटा उद्देश्यसहित अगाडि बढेका छौं ।’
यस्तै, कार्यक्रममा प्राकृतिक श्रोतहरु तथा जैविक विविधता संरक्षणमा महिला तथा सिमान्तकृत वर्गहरुको सवाल तथा सम्बोधनका उपायहरु पहिचानका लागि छलफल गरिएको थियो । यस कार्यक्रमबाट प्राकृतिक श्रोत तथा जैविक विविधताका विषयमा उठेका समस्यको समाधानका लागि नगरपालिकाले छलफल गरी आवश्यकता अनुसारको बजेट विनियोजन गरी कार्यक्रमहरु संचालन गर्ने भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
नगरपालिकामा वन्यजन्तु र मानवबिच भएको द्वन्द्वका कारण मानवीय क्षति भएको बताउँदै उपप्रमुख उमा गोतामेले वन्यजन्तुलाई वनमै व्यवस्थापन गराउने प्रयासहरु र अन्य छलफलहरु पनि भैरहेको बताइन्।
नगरपालिका भित्रका समस्य उजागर भए समस्य अनुसारको समाधान पनि आउने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत दिवाकर पौडेलले बताए। नगरबासीले उठाएका सवलहरुमा सहकार्य गर्दै जाने उनले बताए ।
यस्तै, भानुमा चितुवा र मानव बीचको द्वन्द्व, बाँदर आतंक, भालु आतंक समाधानका लागि कार्यक्रममा सहजीकरण गर्ने युएसएआइडी जल जंगलले बताएको छ । यसैगरी जल जंगलले सामाजिक राजनीतिक रुपमा बञ्चित समूहहरुलाई सशक्त बनाउनका लागि निर्णय प्रक्रियामा महिला, दलित, गरिव, आदिवासी, जनजाति र सीमान्तकृत समूहको सहभागिता र नेतृत्व तहमा पहुँच बढाउने, प्राकृतिक स्रोतहरुबाट समतामूलक लाभ बाँडफाँडमा पहुँच सुनिश्चित गर्ने, अनुगमन र मूल्याङ्कन प्रणालिमा जीइएसआई सूचकहरुलाई मूल प्रवाहमा ल्याउने लगायतमा केन्द्रित रहेको सिनियर जिइएसआई अफिसर सुनिल कुमार चौधरीले बताए ।
कास्कीमा रहेको युएसएआइडी जल जंगलको कार्यलयले जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्रको व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापनबाट स्थानीयलाई लाभान्वित, सुधारिएको जलस्रोतबाट लाभान्वित, प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षण सम्बन्धी थप सीप तथा ज्ञानबाट लाभन्वित गराउने कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारसंग सहकार्य गर्दै आएको जनाएको छ ।