अर्घाखाँची : पर्यटन, संस्कृति र इतिहास
के.बि. मसाल

पर्यटकलाई नदेखेको कुरा नयाँ हुन्छ। नयाँ ठाउँ नयाँ कुरा र सधै देखि रहेको भन्दा फरक खालको भूगोल पर्यटकहरुका लागि गन्तब्य बन्दछ । पर्यटन भित्र आजभोली धेरै बिट भएका छन् । पर्यटनमा सबैलाई ध्यान केन्द्रित गर्ने क्षेत्र हो ऐतिहासिक सम्पदा । सस्कृति, ऐतिहासिक र पुरातात्वीक सम्पदामा पर्यटकहरुले अध्ययन अवलोकन गर्ने धेरै कुरा हुन्छन। इतिहासमा पढेको तर देख्न नपाएको ठाउमा पुग्दा पर्यटक खुशि हुन्छन् । अहिले अर्घाखाची जिल्ला लुम्विनी प्रदेशमा पर्दछ । भुरेटाकुरे राजाहरुको पाला देखिनै अर्घाखाचीको ऐतिहासिक महत्व र पहिचान छुट्टै रहदै आएको छ । सुन्दर डाडाकाडा, ऐतिहासिक सम्पदा र आफ्नै मौलिक संस्कृति रहेको अर्घाखाँची हिमालसंग नजोडिए पनि तराइको समतथर भूमीसंग जोडिएको छ । तर अर्घाखाचीको बिभिन्न पहाडी श्रृंखलाबाट हिमाल भने पर्यटकहरुले अवलोकन गर्न सक्दछन ।
इतिहासमा अर्घाखाँची भुरेटाकुरे राजाहरुका पालामा अर्घा र खाँची दुई राज्यमा विभाजित थियो । त्यसपछि २०१८ साल भन्दा पहिले गुल्मी र अर्घाखाची एउटै जिल्ला रहेको थियो । अर्घाखाँचीको नामाकरण पनि दुईवटा ऐतिहासिक स्थल अर्घा र खाँचीसंग जोडिएको छ । अर्घा र खाँची यी दुबै कोट ऐतिहासिक महत्वका सम्पदा हुन । अर्घा शब्दको उत्पत्ती भगवतीको मन्दिरमा अर्घले दही चढाउँदा देवी निस्किएकीले र खाँची शब्द भने सरकारले कर असुल गर्ने ठाउँमा खजाञ्चि रहने भएकोले त्यसैबाट अपभ्रंश भई खाँची हुन गएको हो भन्ने मान्यता रहेको छ । पछि जिल्लाको नामाकरण गर्ने बेला अर्घा र खाँचीलाई जोडेर अर्घाखाची भएको हो । अर्घाखाचीको अर्को पर्यटकिय स्थल एवं ऐतिहासिक स्थलको रुपमा परिचित स्थान हो ठाडा । जहा राणा प्रधानमन्त्री विर शमसेरको पालामा वि.सं. १९४३ मा खडक शमसेरलाई सजाय स्वरुप अर्घाखाचीको ठाडामा धपाइएका थिए । ठाडामा हाल रहेको पोखरी उनकै पालामा निर्माण गरिएको थियो । ठाडा बसेको तिन बर्ष पछि वि.सं. १९४५ मा खडक शमसेरलाई पाल्पा गौडाको तैनाथी दिएर पाल्पा फर्काइएको थियो । ठाडा यसको कारण पनि ऐतिहासिक मानिन्छ।
अर्घाखाँची घुमफिर गर्नको लागि धेरै पर्यटकहरु गोरुसिंगेबाट पनि यात्रा गर्दछन्। गोरुसिंगेदेखि बस, जीप, मोटर साईकलबाट १ घण्टाको समयमा ठाडा पुग्न सकिन्छ । पथ्थरकोटबाट पहाडी उकालो सडक र रमणीय वातावरणको दृष्य अवलोकन गर्दै ठाडा पुगिन्छ । ठाडाको कुनै अग्लो स्थानबाट चारैतिर हेर्ने हो भने पर्यटकहरुले प्राकृतीक आनन्द लिन सकिने धेरै स्थलहरु छन् । ठाडा दहलाई डमरु दह नामले समेत चिनिन्छ। ठाडाबाट विहानको समयमा रमणीय हिमालको समेत अवलोकन गर्न सकिन्छ। सामान्य खान वस्नको लागि ठाडामा होटलहरुको समेत सुविधा रहेको छ । ठाडा अर्घाखाँचीको दक्षिण क्षेत्रको व्यापारिक केन्द्र पनि हो ।
अर्घाखाँची घुमफिरमा जादा पर्यटकहरुले प्याकेज बनाउदा राम्रो हुन्छ। कहाँ–कहाँ जाने ? कुन बाटो जाने र कताबाट निस्कने भन्ने कुरा घुमफिरमा जानु भन्दा पहिले निधो गर्न सके राम्रो हुन्छ । अर्घाखाची घुमफिर गर्न अहिले पाल्पाको तानसेन–छहरा हुँदै र रुपन्देहीको सालझुण्डि हुँदै पनि जान सकिन्छ । अर्को तर्फ कपिलवस्तुको गोरुसिङ्गे हुँदै र प्युठानको चुजाठाटी हुँदै पनि अर्घाखाँची प्रवेश गर्न सकिन्छ । यो बाहेक प्युठान, गुल्मी र अर्घाखाँचीको सिमाना सौतामारे र गुल्मीबाट पनि अर्घाखाचीको बिभिन्न ठाउमा पुग्न सकिन्छ ।
सालझुण्डिदेखि अर्घाखाँची जादा रुपन्देहीमा ५, पाल्पामा २० र अर्घाखाँचीको भूगोलमा ७० किलो मिटर दुरी सालझुण्डि–ढोरपाटन सडक पर्दछ । आजभोली अर्घाखाची जिल्लामा सबै पालिकाहरुको वाडमा सडक पुगेको छ । बर्षाको समयमा केही सडक अवरोध भएपनि हिउँदको समयमा सबै ठाउँमा हल्का सवारी साधन पुग्दछन् । तर यात्रा गर्दा बलेरो अथवा स्कारपियो जस्ता गाडी भयो भने यात्रा सजिलो मात्र होइन छिटो समेत हुन्छ । मोटरसाइकलमा यात्रा गर्न सक्नेहरुका लागि भने घुमफिरको मज्जा छुट्टै हुन्छ ।
पाल्पा अथवा रुपन्देहीको सालझुण्डीबाट अर्घाखाँची घुमफिर गर्न जाँदा पहिला पाणिनी तपोभूमि अर्थात पणेना लेक, साततले गुफा र दुर्वाशेश्वर गुफा खिदिम, आलम देवीको मन्दिर मैदान, छत्र मन्दिर छत्रगञ्ज जस्ता सम्पदाहरु सालझुण्डि–ढोरपाटन सडक नजिकै पर्दछन् । अर्घाखाँचीको पाणिनी तपोभूमि संस्कृत भाषाको ब्याकरणको उत्पत्ती र रचना भएको स्थल हो । पाकीस्तानको लाहोरवाट अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका हुन् । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउँदै अ, इ, उ, ऋ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना भएको मान्यता रहेको छ ।
पणेना योग भूमी पनि हो । किन भने योग संस्कृत शब्द हो । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको छ । तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको हो । पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनि पछि कात्यायनी र पतञ्जलि समेत लागेका हुन । संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि महाभारत श्रृंखलामा पर्दछ। संस्कृत भाषा प्राचीन मानिन्छ । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो । जुन करिव ई.पू. ५०० मा रचिएको थियो । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग भएको हो । विश्वकै प्राचिन ग्रन्थ ऋग्वेद संस्कृत भाषामा नै रचिएको छ । त्यसैगरी अन्य वेदहरु यजुर्वेद, सामवेद र अथर्ववेद पनि संस्कृत भाषामै लेखिएका छन् ।
पाणिनी तपोभूमिको अवलोकन गरेपछि तीर्थाटन पर्यटकहरु श्री दुर्वासेश्वर महादेव साततले गुफा जान सक्दछन् । दुर्वासेश्वर महादेव ऐतिहासिक र तीर्थाटन स्थल मानिन्छ । खिदिमको दुर्गाफाटमा रहेको श्री दुर्वासेश्वर गुफा मोटरमार्गबाट १७२ वटा सिढीको पैदल यात्रामा गुफासम्म पुग्न सकिन्छ । सुन्दर बगैचाको परिसरमा ३३ कोटी देवी–देवताका मूर्तिहरु, सुमेरु पर्वत, राम–लक्ष्मण सीताका मूर्ति, शिर्वजीका मूर्ति निर्माण गरिएको छ । दुर्वासेश्वर महादेवको तीर्थाटन पछि पर्यटकहरु जंगबहादुरको जन्मस्थल समेत पुग्न सक्दछन्। जंगवहादुरको जन्मस्थल मथुरावेसीमा भएको हो । मथुरावेसी सन्धिखर्कबाट ११ कि.मी.को दुरीमा रहेको छ । जंगबहादुरका बाबु बालनरसिंह कुँवर दैलेखमा जागिर थिए । श्रीमती गर्भवती भएको अवस्थामा त्यसबेलाको बोलीचालीमा नेपाल अर्थात काठमाण्डौ पठाएका रहेछन। दैलेखबाट उनी अर्घाखाँचीको मथुरामा आइपुग्दा प्रवस पीडामा परिछन् । जंगबहादुरको जन्म वि.सं. १८७४ मथुराबेसी पौवा भन्दा लगभग दुई किलोमिटर दुरीमा केरुङा र वाङलाको सिमाना नजिक चौपारीमा भएको थियो । बालक जंगबहादुरलाई पौवा रहेको स्थानमा लगिएको र त्यहिँ उनको न्वारान गरिएको थियो । जंगबहादुर राणा प्रधानमन्त्री बनेपछि आफ्ना जेठान शहनसिंह कर्नेललाई अर्घाखाचीको मथुराबेसीमा पठाइ आमाको सम्झनामा बल्कोटमा बीसखुट्टे दरबार अर्थात पौवा निर्माण गराए हुन । जुन पौवा हेर्न आजभोली धेरै ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन् ।
अर्घाखाची प्राकृतिक सम्पदा, ऐतिहासिक कोट, गढी र तीर्थाटन स्थलहरुले ग्रामीण पर्यटकहरुलाई लोभ्याउने गर्दछ । गोरुसिङेबाट अर्घाखाँचीको सदरमुकाम संन्धिखर्क जाने मोटर मार्गमा पर्ने सुपादेउराली तीर्थाटन पर्यटकहरुका लागि गन्तब्य हो । अर्घाखाँचीको मध्य भागमा रहेको सुपादेउराली गोरुसिंङगेबाट करिब ३२ किलोमिटरको दुरीमा पर्दछ । सुपादेउराली मन्दिर परिसरमा नवदुर्गा महाकाली, महालक्ष्मी, शिवजी र गणेशलगायतका देवीदेवताको मूर्ती स्थापना गरिएको छ । जसले गर्दा आजभोली सुपादेउरालीमा आफ्नो भाकल लिएर पुग्ने तीर्थाटनका पर्यटनहरुको भिड लाग्ने गर्दछ । एकादशि, औसी, कृष्णजन्माष्टमी, ऋषि पन्चमी, राम नवमी, महा शिवरात्री, श्रीपन्चमी र अष्टतृतियाका दिनहरुमा सुपादेउरालीको मन्दिरमा वली चढाइने गरिन्न । भाकलको वली चढाउने मानिसहरुले यी तिथीका दिन भने यादगर्नु पर्दछ ।
सुपादेउरालीको उत्पत्ती वारे रोचक प्रसंग रहेको छ । वाइसे चौविसे राजाहरुको पालामा खाँचीकोटका राजकुमार र भारत वलरामपुरको राजकुमारीसंग वैवाहिक सम्वन्ध कायम गर्ने कुराको निर्णय भएछ । विवाहको लग्नको दिन वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दुलही लिएर अर्घाखाची फर्कने बेला बाटोमा जन्तीहरुलाई भोज खुवाउने कार्यक्रम भएछ । भोजखाने क्रममा जन्तीहरुबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलही तर्फको जातको प्रशंग निकाल्दा जन्तीहरु विच विवाद उत्पन्न भएछ । भोजमा जे–जस्तो विवाद भएपनि दुलही खाँचीकोटसम्म पु¥याउन पर्ने हुँदा जन्तीहरु बाटो लागेछन । बाटोमा दुलही बोकेको तामदानबाट रगतको थोपा चुहिन थालेछ । जन्तीहरु आत्तिएर तामदानमा हेर्दा दुलही मृत अवस्थामा रहेको देखेछन । दुलहीनै मृत अवस्थामा देखेपछि सबै जन्तीहरु शोकाकुल हुन पुगेछन ।
दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमंग्न हुनपुगेछ । भोलीपल्टबाट गाउँमा रोगव्याधी उत्पन्न हुन थालेछ । कसैको गाई मर्ने, कसैको भैसी मर्ने र गाउघरमा मानिसको समेत मृत्यु हुन थालेछ। सबै मानिसहरु आत्तिन थालेछन । गाउँका धामी, झाँक्री र जोखाना हेर्ने जैशिहरुको समेत खैलावैला भएछ। त्यसैवेला एकजना खनाल थर भएका झाक्रीले विवाह गरेर ल्याएको राजकुमारी देवीको स्वरुप सुपा देउरालीमा उत्पन्न भएकोले उनको पुजाआजा नगर्दासम्म गाउँमा यस्तै भैरहने बताएछन ।
त्यसपछि गाउँलेहरु दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान सुपाखोलाको पश्चिम नरपानी र फलामे अग्लो महाभारत पर्वतको विच भञ्ज्याङमा आएर सुपा देउरालीको प्रतिमा राखी पुजाआजा चलाउन थालेछन। यो सुपादेउराली देवीको उत्पत्तीको किवंदन्ती कथा हो । यही कथामा लाहुरे पहराको पनि कथा जोडिएको छ । सुपा देउरालीको भाकल गरेपछि मनले चिताएको सबै कुरा पुग्ने जनविश्वास थियो। एकजना युवाले आफु लाहुरे बन्ने भाकल गरेछन । भाकल गरेको केही समयपछि लाहुरे भएछन । घर छुट्टीमा आउने बेला बाटोमा आफुले गरेको भाकल सम्झिएछन। उनले भर्ती भै हालियो किन भाकल चढाउने भन्ने कुरा उब्जिएछ । सुपादेउराली नजिक आइपुग्दा बाटो छलि खोलाको बाटो हिड्न खोज्दा उनको मृत्यु भएछ । जुन ठाउँलाई अहिले लाहुरे पहरा भन्ने गरिन्छ। त्यस पहरामा लाहुरेको आकृतीको चित्र टाँसिएर रहेको छ । अहिले सुपादेउराली पुग्ने ग्रामीण पर्यटनहरु त्यो दृष्यहेर्नको लागि लाहुरे पहरा पुग्ने गर्दछन ।
अर्घाखाँचीको नरपानीमा ग्रामीण पर्यटनको लागि मसिनाको लेक, सुपादेउराली मन्दिर, नर्तनाचल पर्वत, सितापुर, खाँचीकोट मन्दिर लगायतका ऐतिहासिक धार्मिक क्षेत्र पर्दछ । नरपानी गोरुसिंगेदेखि ३५ कि.मी. उत्तरमा पर्दछ । सुपादेउराली मन्दिरको नजिकै विशाल चौर सहितको नरपानीको पहाडबाट तराई तथा हिमाल अवलोकन गर्न सकिन्छ । नरपानीमा पानीको सुविधा, खुल्ला मैदान, शितल हावापानी र पर्यटकहरुलाई खाना बस्न होटलको समेत सुबिधा छ । गर्मी मौसममा वनभोजका लागि नरपानीमा धेरै पर्यटकहरु पुग्ने गर्दछन नरपानीमा सुविधासम्पन्न रिसोर्ट पनि सञ्चालन भएको छ ।
नरपानीको चिसो हावापानीमा पर्यटकहरु रमाउँदै एक दुई दिन नरपानी बसेर जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने गर्दछन् । कुल २२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टबाट अग्ला–अग्ला हिमश्रृंखला र मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । नरपानी पुगेपछि खाँचीकोट पुग्नै पर्दछ । खाँचीकोट नरपानी रिसोर्ट देखि दुई किलो मिटर मात्र दुरीमा पर्दछ । ऐतिहासिक कोटको फेदीसम्म मोटरबाट पुग्न सकिन्छ। फेदीबाट १५ मिनेटमा रेलिङ समेत भएको सिढीमा पैदल यात्रामा खाँचीकोटको परिशरमा पुगिन्छ । खाँचीकोट परिशरबाट अन्नपूर्ण, धौलागिरी र लमजुङ हिमाल समेत अवलोकन गर्न सकिन्छ । अर्को तर्फ नर्तनाचल पर्वत डिडाडा, किटेनी, र भुवनडाँडाको ग्रामीण बस्ती नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
नरपानीबाट १८ कि.मी.को दुरीमा अर्घाखाचीको सरदमुकाम सन्धिखर्क पर्दछ । अर्घाकोट अग्लो पहाडको थुम्कोमा रहेको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेको रमणीय स्थल हो । पन्धौं शताब्दीदेखि अस्तित्वमा रहेको अर्घा भगवलीको मन्दिरमा विजयादशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । बाइसे राज्यका समयमा राजकाज चलाउन अर्घाकोटमा दरवार र भगवतीको मन्दिर निर्माण भएको थियो ।
अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । अर्घाखाँचीमा पुगेपछि पुग्नै पर्नेस्थान हो मालारानी। सन्धिखर्कदेखि ३० किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिन्छ मालारानीमा । खनदहमा रहेको मालारानी मन्दिर तीर्थाटनका पर्यटकहरु पुग्नै पर्दछ। मालारानी मन्दिर खनदह र हंसपुरको सिमानामा पर्दछ । २२ से २४ से राज्यको समयमा माला नाम गरेकी रानी यो स्थानमा वसेकी कारण उनैको नामवाट मालारानी रहेको हो । मालारानी मन्दिरदेखि ५ मिनट पैदल यात्रामा पुग्न सकिने मनोचिन्ते पानी पर्यटकहरुका लागि आकर्षण मानिन्छ। ठूलो गुराँसको रुखको फेदमा पानीको कुवा बनेको छ । त्यो पानी कहिल्यै सुक्दैन र घट्दैन पनि ।