शुक्लागण्डकीको खैरेनीटारमा दुइ वटा महोत्सव : जुंगाको लडाइ र राजनीतिक खिचातानी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुइ संस्थाले एउटै मितिमा महोत्सव आयोजना गरी जुंगाको लडाइ लडिरहेका छन्। आयोजकको गतिविधिलाई नियाल्दा महोत्सवको नाममा राजनीतिक खिचातानी प्रष्टरुपमा देखिन थालेको छ । वि.सं. २०६३ सालदेखि चैते दशै पर्वलाई लक्षित गरी खैरेनीटारमा मेला महोत्सव सञ्चालन हुँदै आएको छ ।

विश्वभर महामारिकै रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण विगत दुइ वर्ष सञ्चालन हुन नसकेका मेला महोत्सव अहिले धमाधम हुन थालेका छन् । यही मेसोमा खैरेनीटारमा एउटै मितिमा दुइ वटा महोत्सव गर्ने गरी जोडतोडका साथ तयारी थालिएको छ ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघले यही चैत्र २४ देखि २०७९ वैशाख ५ गतेसम्म वडा नं. ६ को खैरेनीटार बजारमा ‘शुक्लागण्डकी महोत्सव-२०७८’ आयोजना गरेको छ । यस्तै, यही मितिमा करिब नौ सय मिटरको दुरीमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समिति र शुक्लागण्डकी नगरपालिका आयोजक रहि ‘शुक्लागण्डकी खैरेनीटार महोत्सव-२०७८’ आयोजना गरिएको छ ।

यस अगाडि तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत रहेको खैरेनीटार बजार इकाइले चैते दशैं पर्वलाई लक्षित गरी खैरेनीटार महोत्सव गर्दै आइएको थियो । मुलुक संघीय संरचनामा गएसंगै अहिले शुक्लागण्डकी नगरपालिकामा शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ नामक दुइ संस्था खडा गरिएको छ ।

राजनीतिक खिचातानीका कारण साविकको खैरेनीटार बजार इकाईमा आबद्ध व्यवसायी अहिले दुइ धारमा विभाजित हुन पुगेका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ मातहातमा रहेको खैरेनीटार बजार इकाई र शुक्लागण्डकी उद्योग वाणिज्य संघले एकै मिति चैत्र २४ देखि वैशाख ५ गतेसम्म खैरेनीटारमै महोत्सव गर्ने तयारीमा जुटेका छन् ।

एकातिर दुइ उद्योग वाणिज्य संघको गठन र अर्कोतर्फ कोरोना संक्रमणका कारण दुइ वर्षसम्म रोकिएको खैरेनीटार महोत्सव अब कुन संस्थाको नेतृत्वमा सञ्चालन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । यी दुइ संस्था र नेतृत्व गर्ने व्यक्तिहरु बीच अहिले जुंगाको लडाइमात्र होइन राजनीतिक खिचातानी र दाउँपेच प्रष्ट रुपमा देखिन पुगेको छ ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघले चैते दशै र नयाँ वर्ष २०७९ लक्षित गरी महोत्सव सञ्चालनको तयारी गरेको अध्यक्ष हरिकुमार श्रेष्ठले बताएका छन् । ‘आर्थिक, व्यवसायिक, कृषि, पर्यटन तथा खेलकुद विकासका पूर्वाधार, शुक्लागण्डकी महोत्सव समृद्ध शुक्लागण्डकीको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको र यो महोत्सव समग्र शुक्लागण्डकीका व्यवसायी, उद्योगीका साथै नगरबासिको हितमा नै महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

‘शुक्लागण्डकी-६ को खैरेनीटार बजारमा गत पुस १२ देखि २५ गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी निर्णय गरेका थियौ । तर, कोरोनाको तेश्रो लहर संक्रमण फैलिएसंगै स्थगित गरियो । फागुन महिनामा महोत्सव गर्ने तयारी भइराख्द अन्यत्र पनि मेला महोत्सव आयोजना हुँदा जुध्न गएका कारण सञ्चालन गर्न सकिएन’, अध्यक्ष श्रेष्ठले भने, ‘चैतको पहिलो साता गर्ने तयारीमा थियौं आठौ तनहुँ महोत्सवको मिति सार्वजनिक भएपछि हामीले चैत्र २४ देखि वैशाख ५ गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएका छौं, यसमा हाम्रो कसैसंग विवाद छैन ।’

महोत्सव सञ्चालनका लागि वडा कार्यालय, नगरपालिकाबाट समेत अनुमति प्राप्त भएको र महोत्सव सञ्चालन अबधि भर सुरक्षा व्यवस्थापनका साथै महोत्सव सञ्चालनको अनुमति समेत जिल्ला प्रशासन कार्यालय तनहुँबाट फागुन २५ गते प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए ।

एकै ठाउँमा दुइवटा महोत्सव सञ्चालनको विषयमा जिज्ञासा राख्दा अध्यक्ष श्रेष्ठले भने, ‘नगरस्तरीय उद्योग वाणिज्य संघको हिसावले हामी समग्र नगरपालिकालाई समेटेर महोत्सव सञ्चालन गर्ने तयारीमा जुटेका छौ । बिगतमा पनि हामीले महोत्सव सञ्चालन गरेको हो ।

चैते दशै खैरेनीटार महोत्सवको शुरुवात गर्ने पनि म आफै भएकाले हामी समग्र व्यवसायी तथा नगरबासीको हितमै यो महोत्सव आयोजना गरेका छौं । अहिले अर्को संस्थाले पनि यही मितिमा महोत्सव आयोजना गरी विवाद सृजना गर्नुभएको छ । हामी विभाजित होइन मिलेर एउटै महोत्सव गर्नुपर्छ भन्दै आएका छौं ।’

महोत्सव आयोजक दुबै पक्ष बीच एक चरणको छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘चैत्र १० गतेसम्म सहमतिका लागि आउनु भएमा उहाँहरुसंग हामी मिलेर अगाडि बढ्न तयार छौ । मिलेर पालैपालो गरौं, यदि मिल्न सकिदैन भने व्यवसायी र स्थानीयलाई हानि पुग्ने गरी विभाजित हुनुहुँदैन भन्ने हाम्रो भनाई छ ।’

‘यदि, यस्तै विवाद रहने हो भने अहिले कुनै पनि संस्थाले मेला महोत्सव नगारौं र अर्को बर्षबाट कुन संस्थाले महोत्सव गर्ने भन्ने निर्णय अहिलेनै गरौं भन्ने पनि हाम्रो भनाई छ’, अध्यक्ष श्रेष्ठले भने, ‘अहिले महोत्सव नै गर्ने हो भने खैरेनीटार बजार व्यवस्थापन नामक संस्था खडा गरी कुनै अग्रजलाई संयोजक तोकि संयुक्त रुपमा महोत्सव गरौं । उद्योग वाणिज्य संघकै नाम जोडेर अहिले कुनै पनि मेला महोत्सव नगरौं भन्ने विषयमा पनि हामी तयार छौं ।’

यता, दुबै संस्थाले खैरेनीटारमा महोत्सव सञ्चालनका लागि नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट अनुमति र स्वीकृति समेत पाइसकेका छन् । यसरी एउटै वडामा एकै मितिमा दुइ वटा महोत्सव सञ्चालनका लागि अनुमित दिने नगरपालिकाको भूमिका विवदास्पद देखिएको स्थानीय बताउँछन् ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले गत शुक्रबार खैरेनीटारमा पत्रकार सम्मेलन गरी महोत्सवका विषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा इकाई सभापति पूर्णबहादुर कायस्थले केहीले महोत्सव जुधाइ राजनीति गर्न खोजेपनि त्यो सम्भव नहुने बताएका छन् ।

उनले भने, ‘आफुहरूले नगरपालिकाबाट स्वीकृति समेत लिसकेका छौ । बिगतदेखिनै हामीले खैरेनीटारमा महोत्सव आयोजना गर्दै आएको हो र अब पनि गर्दै जान्छौं । एघारौं संस्करणसम्म गरिएको खैरेनीटार महोत्सवको निरन्तरता स्वरुप नै शुक्लागण्डकी खैरेनीटार महोत्सव आयोजना गरिएको हो ।’

दुबै संस्थाले शुक्लागण्डकीको धार्मिक, पर्यटकीय स्थलसँगै स्थानीय कला सँस्कृति र कृषि उपजको प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको दाबी गरेका छन् । खैरेनीटार बजार इकाई समितिले ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नारा तयार गरेको छ ।

यस्तै, बिगत ११औं संस्करणसम्म महोत्सव सञ्चालन गरेको साविक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले महोत्सवको आयव्याय विवरण सार्वजनिक गरेपनि महोत्सवबाट भएको आम्दानीको रकम व्यक्तिले सञ्चालन गर्दै आएको आरोप लागेको छ । इकाईले मेला महोत्सवबाट करिब एक करोड रुपैया रकम जम्मा गरेको र सो रकम कसरी सञ्चालन भएको छ भन्ने विषयमा सार्वजनिक नगरेको आरोप लागेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker