देवघाट गाउँपालिका : डोजरको प्रयोग गरी आफन्तलेनै गरे संक्रमितको शव व्यवस्थापन
आशिक राना/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव आफन्तलेनै व्यवस्थापन गरेका छन् । देवघाट-५ गौरिटारकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण आइतबार साँझ घरमै मृत्यु भएको थियो ।
महिलामा रुघाखोकी देखिएपछि आइतबार बिहान गाउँपालिकाले स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाएकोमा रिपोर्ट नआउँदै उनको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले बताए ।

‘दुइ दिन अघि मात्र ति महिला काठमाडौंबाट देवघाट आएकी थिइन् । उनीसंगै उनका दुइ छोराको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाएका छौं’, उनले भने, ‘मृतक महिलाको रिपोर्ट सोमबार बिहान आयो भने छोराहरुको रिपोर्ट आउन बाँकी नै छ ।’
कोरोना संक्रमित महिलाको शव उनकै आफन्तले व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए । उनले भने, ‘हुन त हामीसंग शववाहन छैन तर गाउँपालिकाकै पिकअप भ्यान प्रयोग गर्ने तयारी गरेका थियौं तर उनका छोराहरुले आफ्नै डोजरको प्रयोग गरी शव व्यवस्थापनको अनुमति मागेपछि आवश्यक सुरक्षा मापदण्डको पालन गरी शव व्यवस्थापन गर्न दिएका हौं ।’

कोरोना संक्रमणबाट मृत्यु भएकी आमाको शव दुइ छोराले पिपिई लगाई देवघाटस्थित त्रिशुली नदी किनारमा व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा १३ जना सक्रिया संक्रमित रहेको र उनीहरु होम आइसोलेशनमै बस्दै आएका छन् । दोस्रो लहरको कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।










