गणित विषयका शिक्षकहरुलाई पेशागत विकास तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

कक्षा १ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि पाँच दिने अतिरिक्त शिक्षक पेशागत विकास तालिम प्रदान गरिएको छ । बन्दिपुर-२ स्थित भानु माध्यमिक विद्यालयमा आयोजित तालिममा शिक्षकको ज्ञान र सीप विकास गरी गणित विषयमा गुणस्तर वृद्धि गर्दै एकिकृत पाठ्यक्रमलाई निर्दिष्ट गरेको सिकाई उपलब्धी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
बन्दिपुर गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाइका आईमिन परियोजनाको सहयोगमा चैत्र ११ देखि १५ गतेसम्म तालिम सञ्चालन गरिएको थियो ।
शिक्षकको ज्ञान र सीप विकास गरी गणित विषयमा गुणस्तर बृद्धि गर्दै एकिकृत पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धी हासिल गर्दै बालबालिकाको सिकाई मा सुधार गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले बताए ।
तालिम समापन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शैक्षिक गुणस्तर बृद्धि गर्न तालिमले सघाउ पुग्ने हुँदा सिकेको ज्ञान तथा सिपलाई कक्षाकोठामा उतार्न आग्रह गर्दै शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले शिक्षकको ज्ञान, सिपमा निखारता ल्याउन आवश्यक सामाग्रीमा पालिकाको तर्फबाट सधैँ साथमा रहने बताए ।
जाईका आइमिन परियोजनाका केनिचि तानाकाले तालिम विद्यार्थीको दौनिक शिक्षण सिकाईसँग जोडिएको विषयबस्तु भएकोले शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप दिगो हुने साथै प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुने बताए ।
कार्यक्रममा परियोजनाबाट सञ्चालन गरिएको आधार सर्वेक्षणको नतिजाको बारेमा समेत सहजीकरण गरिएको थियो । कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकामा शैक्षिक क्षति भएका कारण शिक्षकले नै उनीहरुको अवस्था, समस्या बुझ्दै बालबालिकाको सिकाईमा सहयोग गर्न पनि उनले अनुरोध गरे ।
कार्यक्रम बन्दिपुर गाउँपालिका अन्तर्गतका ३१ वटा सामुदायिक विद्यालय मध्ये दोश्रो चरणमा १६ विद्यालयका कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीले बताए ।










