दमौलीको भोर्लेटार चोकका खाद्य पसल र होटलमा अनुगमन

दमौली : चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको संयुक्त टोलीले व्यास नगरपालिका–४ भोर्लेटार चोक आसपासका खाद्य पसल, होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा करिब ३ हजार ७ सय रुपैयाँ बराबरका म्याद नाघेका खाद्य सामग्री फेला परेपछि नष्ट गरिएको छ । टोलीले खाद्य सामग्रीको स्वच्छता र गुणस्तरका साथै फ्रिजको उचित व्यवस्थापनमा विशेष ध्यान दिन व्यवसायीलाई सचेत गराएको छ ।
अनुगमनका क्रममा व्यवसायीलाई म्याद नाघेका तथा गुणस्तरमा शंका भएका खाद्य सामग्री बिक्री नगर्न, खाद्य वस्तु सुरक्षित रूपमा भण्डारण गर्न र सरसफाइमा ध्यान दिन आग्रह गरिएको जनाइएको छ ।
चाडपर्वको समयमा खाद्य सामग्रीको माग र कारोबार बढ्ने भएकाले बजारमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन व्यास नगरपालिकासँगको समन्वयमा आगामी दिनमा बजार अनुगमनलाई थप सघन बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।










