तनहुँका १० जना लाभग्राहीले रकम फिर्ता गरे

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा १० जनाले स्वेच्छिक रूपमा रकम फिर्ता गरेका छन् । भूकम्पपीडित लाभग्राही मध्ये सम्झौता गरी किस्ता लिएका उनीहरूले रकम फिर्ता गरेका हुन्। सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरेअनुरुप उनीहरूले भवन पुनर्निर्माण नगर्ने भएपछि उक्त रकम फिर्ता गरेका जनाइएको छ । नौ जनाले रु ५० हजारका दरले चार लाख ५० हजार र एक लाभग्राहीले तेस्रो किस्ता बापतको तीन लाख गरी कूल रु सात लाख ५० हजार फिर्ता गरेको कार्यालयले जनाएको छ ।

पहिलो किस्ता बापतको रकम लगेपछि एक हजार ३४३ लाभग्राहीले सम्झौता गर्नसमेत आएका थिएनन् । उनीहरूको खोजी शुरु गरिएको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । छुटमा रहेका लाभग्राहीका लागि यही मङ्सिर मसान्तसम्म सम्झौता गर्नुपर्ने, अगामी पुस १५ गतेसम्म पहिलो किस्ता लिइसक्नुपर्ने, माघ १५ सम्म डिपिसी सम्पन्न गरेर लाभग्राहीले निवेदन दिनुपर्ने, वैशाख महिनाको मसान्तसम्म सबै काम सम्पन्न गरी निवेदन दिने र जेठ महिनामा भुक्तानी लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

उहाँले प्राविधिकलाई स्थानीय तहमा पठाएर प्रत्यक्ष लाभग्राहीले भेटेर भवन निर्माण गर्ने/नगर्ने, गर्ने भए कहिलेसम्म पुनर्निर्माण कार्य सम्पन्न गर्ने भनी कबुलियती नाम गराउने कार्य शुरु गरिएको बताउनुभयो । पुनर्निर्माण गर्न नसक्नाका कारणसहित कार्यालयले तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “जिल्लामा जोखिम वर्गका लाभग्राही ५४१ रहेका छन्।” नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन् । अगामी कात्तिक मसान्तसम्म निजी आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत लाभग्राहीलाई तेस्रो किस्ता रकम निकासा गरिएको हो ।

जिल्लामा भूकम्पबाट क्षति भएका १५ हजार ९६३ लाभग्राही मध्ये १४ हजार ६२० लाभग्राहीलाई पहिलो किस्ताको रकम निकासा गरिएको कार्यालयका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । छुट हुन गएका लाभग्राही मध्ये केही व्यक्ति कार्यालयमा आएर सम्झौता गर्न थालेका छन् । उहाँले भन्नुभयो, “पहिलो किस्ता लगेका एक हजार ३४३ मध्ये करीब ५० प्रतिशतले सम्झौता हुन सक्ने अनुमान गरिएको छ ।”

भूकम्पबाट जिल्लाको भानु नगरपालिकामा पूर्ण क्षति भएका चार हजार ५५१ र आंशिक क्षति २९४ गरी चार हजार ८४५, व्यासनगरपालिकामा पूर्ण क्षति दुइ हजार ९३ र आंशिक ४४८ गरी दुइ हजार ५४१, शुक्लागण्डकी नगरपालिकामा पूर्ण क्षति एक हजार ९५७ र आंशिक १२० गरी दुइ हजार ७७, म्याग्दे गाउँपालिकामा पूर्ण क्षति एक हजार ३९२ र आंशिक ९७ गरी एक हजार ४८९ तथा भिमाद नगरपालिकामा पूर्ण क्षति एक हजार १४५ र आंशिक १८६ गरी एक हजार ३३१ घर क्षति भएका थिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा पूर्ण क्षति एक हजार २४ र आंशिक ९२ गरी एक हजार ११६, आँबुखैरेनी गाउँपालिकामा पूर्ण क्षति ७५२ र आंशिक १८९ गरी ९४१, देवघाट गाउँपालिकामा पूर्ण क्षति ६१९ र आंशिक ४२ गरी ६६१, ऋषिङ गाउँपालिकामा पूर्ण क्षति ५४५ र आंशिक ८७ तथा घिरिङ गाउँपालिकामा पूर्ण क्षति ३१७ र आंशिक १३ गरी ३३० घर क्षति भएका थिए । आर्थिक वर्ष ०७५/७६ मा पहिलो किस्ता ३१७, दोस्रो किस्ता पाँच हजार २६५ र तेस्रो किस्ता पाँच हजार १३२ लाभग्राहीका रकम निकासा गरिएको छ । कार्यालयका अनुसार आव ०७६/७७ मा पहिलो किस्ता ६१९, दोस्रो किस्ता एक हजार ४५४ र तेस्रो किस्ता दुइ हजार २९३ जनालाई रकम निकासा गरिएको छ । त्यसैगरी आव ०७७/७८ मा पहिलो किस्ता ४०८, दोस्रो किस्ता ३४६ र तेस्रो किस्ता ७२२ जना लाभग्राहीले रकम बुझिसकेको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker