दमौली ट्रेड सेन्टरको पुनः टेण्डर नगर्न राजनीतिक दल र वडावासीको जिससलाई ध्यानाकर्षण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरको पुनः टेण्डर नगर्न नगरस्तरीय राजनीतिक दल र वडाबासीले जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले व्यास नगर कमिटीका कार्यवाहक अध्यक्ष तुल्सीराम पाण्डेको नेतृत्वमा बिहीबार समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै उक्त ठाउँको पुनः टेण्डर नगर्न ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा स्थानीयवासीको जनभावना अनुसार अगाडी बढ्न आग्रह गरिएको छ ।
अध्यक्ष पाण्डेको संयोजकत्वमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस नगर सभापति सूर्यचन्द्र हड्खले, नेकपा माओवादी केन्द्रका गोपाल सुर्खाली, रास्वपाका चुडामणि दाहाल, नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठ लगायतले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त जग्गालाई पुनः टेण्डर नगर्न भन्दै जिल्ला समन्वय समिति तनहुँको ध्यानाकर्षण गरेका छन् ।
जिससलाई वडावासीको ज्ञापनपत्र
यसतै, व्यास-२ गणेशमानचोक स्थित दमौली ट्रेड सेन्टर पुनः भाडामा नलगाउन माग सहित जिल्ला समन्वय समिति तनहुँलाई ज्ञापनपत्र बुझाइएको छ । वडाका वासिन्दाले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई भेटी विहीबार ज्ञापनपत्र बुझाउँदै ट्रेड सेन्टर हटाएर उक्त ठाउँमा उद्यान निर्माण गर्नुपर्ने माग राखेका छन् ।
आगामी असार मसान्तमा ट्रेड सेन्टरको सबै संरचना जिल्ला समन्वय समितिको स्वामित्वमा आउने र साउन १ गतेदेखि उक्त सटर पुनः खुल्ला प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी विरोध स्वरुप ज्ञापनपत्र बुझाइएको वडा सदस्य समेत रहेका सुरेश वाग्लेले बताए ।
उनले भने, “यस ठाउँलाई खुल्ला राखेर उद्यान बनाउनुपर्छ भन्ने वडाका १७ टोल विकास संस्थाका अध्यक्ष एवं वडावासीको माग हो । नगरपािलकाको नीति तथा कार्यक्रम अन्तर्गत योजना छनोट गर्ने क्रममा गणेशमानचोकमा उद्यान निर्माण गर्ने निर्णय भएको छ ।”
उक्त ठाउँमा उद्यान निर्माणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको बताइएको छ । स्थानीयवासी राजकुमार श्रेष्ठ (राकु)ले वडामा खुल्ला ठाउँ नभएकाले यस ठाउँलाई उद्यान निर्माण गर्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले भने “विपद् घटेको खण्डमा कहाँ गएर बस्ने, खुल्ला ठाउँ नै छैन । त्यहीकारण यस ठाउँलाई खुल्ला उद्यानको रुपमा विकास गर्नर्ुपर्छ । यसअघि पनि पटक-पटक निवेदन दिएपनि सुनुवाई भएको छैन ।”
यस्तै, ज्ञापनपत्र बुझदै जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आफू पनि वडावासीकै पक्षमा रहेको उनले बताए । उनले भने “त्यतिबेला मैले पनि त्यो ठाउँमा व्यापारिक सटर बनाउन हुँदैन भनेर बोलेको छु । तर ११ वर्ष अगाडी जनप्रतिनिधि आउनुभन्दा अगावै तत्कालिन जिल्ला विकास समितिले सम्झौता गरेर भाडामा दिएको हो ।”
आफूहरु कानुन बमोजिम नै अगाडी बढ्ने बताउँदै वाग्लेले जिल्ला समन्वय समिति कार्यकारी अवस्थामा नरहेको उल्लेख गरे । उनले भने, “समन्वय समितिले एक्लै चाहेर न बनाउन सक्छ, न भत्काउनका लागि पैसा व्यवस्थापन गर्न सक्छ ।”
यस विषयमा नगरपालिकाले अपनत्व महशुस गरेर त्यहाँ उद्यान बन्ने ग्यारेण्टी हुनुपर्ने वाग्लेले बताए । उनले भने, “अहिले तत्काल त्यहाँ भत्काइदिएर उद्यान बनेन भने के हुन्छ -” जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको फराकचौर ९/ग हाल व्यास-२ गणेशमानचोक स्थित कित्ता नम्बर १६३७ को जग्गा विसं २०६९ साउन १ गते दिपेश बस्नेतलाई भाडामा दिइएको थियो ।
पहिलो पाँच वर्षका लागि मासिक रु ७७ हजार र त्यसपछिको पाँच वर्षका लागि मासिक रु दुइ लाख ११ हजारमा समन्वय समितिले भाडामा दिएको थियो । उक्त ठाउँको सबै संरचना साउन १ देखि स्वतः जिससको नाममा आउन लागेको छ ।
त्यसलगत्तै उक्त सटरहरुमा जिल्ला समन्वय समितिले प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी गरेको छ । जिल्ला समन्वय समितिले विसं २०६९ साउन १ गतेदेखि दिपेश बस्नेतलाई भाडामा दिँदै आएको जग्गा भाडामा लिने दिनेबीच भएको पछिल्लो सम्झौता अनुसार २०८० असार मसान्त पश्चात् सम्झौताको म्याद समाप्त हुने र उक्त जग्गामा बनेको संरचना स्वतः जिल्ला समन्वय समितिको स्वामित्वमा आउने उल्लेख छ ।
्उक्त सम्झौताको म्याद अब थप नहुने भनी जिसस तनहुँको विसं २०७९ माघ १५ को बैठकबाट निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ । समन्वय समितिले माघ २४ गते उक्त निर्णय निज बस्नेतलाई जानकारी गराइसकेको छ । उक्त सटर कोठा लगायतका संरचना २०८० साउन १ देखि जिल्ला समन्वय समितिको स्वामित्वमा आउने र सो पश्चात् उक्त सटर खुल्ला प्रतिस्पर्धाबाट भाडामा लगाइने जनाइएको छ ।
तर सम्झौताकर्ता दिपेश बस्नेतले सम्झौतामा उल्लेख भए बमोजिमको जग्गा प्रयोग गर्न नपाएको भन्दै पुनः चार वर्षका लागि उक्त ठाउँको सम्झौता गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका छन् ।










