गण्डकी प्रदेशका गौरवको आयोजनामै ढिलासुस्ती

गण्डकी : मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । कमसल सडकका कारण बर्सात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ ।

पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले बर्खामास जहीँतहीँ परेका खाल्डाखुल्डीले झन समस्या थपेको बताउनुभयो । “एकातिर गाडी चाँडै बिग्रिने, अर्कोतिर यात्रुलाई सकस”, उहाँले भन्नुभयो, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।”

क्षेत्रीले एक वर्षदेखि सडकको हालत उही रहेको बताउनुभयो । ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम समेत नभएकामा उहाँले दुःखेसो पोख्नुभयो । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जनाएको छ ।

केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ । आयोजना प्रमुख कल्पना अधिकारीले सोचे जसरी निर्माण कम्पनीले काम नगरेको बताउनुभयो । “ठेक्का अवधि अझै एक वर्ष बाँकी छ तर अहिले भइरहेको काम सन्तोषजनक छैन”, उहाँले भन्नुभयो, “कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दैआएका छौँ, केही दिनमा मुख्य ठेकेदारलाई नै बोलाएर छलफल गर्छाैँ ।”

बर्खायाम, भुक्तानी नपाएकोजस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । गत वर्ष साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माणको जिम्मा पाएको थियो । पच्चीस मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । अब पनि कामले गति नलिए आउँदो साउनभित्र सडक कालोपत्र हुन मुस्किल पर्ने बताइएको छ ।

कतिपय ठाउँमा सडक विस्तारदेखि कालोपत्रका लागि पूर्वाधार तयारीका काम गर्न बाँकी छ । वर्षदिन बितिसक्दा कामको प्रगति चित्तबुझ्दो नभएको आयोजना कार्यालययले जनाएको छ । प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ ।

पश्चिमतर्फ पर्वत, बागलुङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक कालोपत्र नहुँदा धुलो र हिलोको समस्याले स्थानीयवासी आजित छन् । व्यापारमा पनि असर पुगेको छ । सडक साँघुरो र अस्तव्यस्त हुँदा सवारी जामको समस्या उस्तै छ ।

दुर्घटनाको पनि जोखिम बढेको छ । नाला र सडक खनेर अलपत्र छोड्दा बर्सातमा खाल्डाखुल्डी पर्ने र पानी जम्ने समस्या भएको हो । यो बर्खामा सो खण्डमा कुनै पनि निर्माणको काम हुन नसकेको आयोजनाले जनाएको छ । सडक निर्माणमा ढिलासुस्ती भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले यसअघि स्थलगत अनुगमनसमेत गरेको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker