बन्दीपुरमा सिसाको पुल निर्माण गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ । पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ ।

बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुनेक्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।

बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एण्ड बञ्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

“बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेका छौँ, सोहीबमोजिम केबलकार परियोजना निर्माणाधीन छ”, शर्माले भन्नुभयो, “अब सिसाको पुल निर्माणको काम सुरु गर्ने तयारीमा छौँ ।”

शर्माका अनुसार सिसाको पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम थालनी भएको छ । सिसाको पुल निर्माणका लागि करिब रु एक अर्ब बजेट लाग्ने अनुमान छ। “डिपिआर तयार भएपछि बजेटको टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो, “सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।”

बन्दीपुर गाउँपालिका-४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेशनको नजिकै सिसाको पुल बनाउने योजना छ । “सत्र तले पाँचतारे होटल नजिकको जङ्गलमाथि सिसाको पुल बनाउने लक्ष्य हो, सिसाको पुल समुन्द्र सतहबाट तीन सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भिरमाथि हिँडेको अनुभव लिन सकिनेछ”, शर्मा भन्नुहुन्छ ।

बन्दीपुरमा निर्माणाधीन केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि केबलकारको व्यावसायिक सञ्चालनको तयारी भइरहेको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब निर्माणको अन्तिम चरणमा पुगेको शर्मा बताउनुहुन्छ ।

विसं २०८० को मङ्सिरभित्र पाँच तारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र वाक्स म्युजियम सम्पन्न गर्ने लक्ष्य छ । बरालथोकमा पाँचतारे होटलको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । बन्दीपुर-४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ ।

ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिज्जम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो । यसमा एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker