गुन्द्री बुन्ने चलन लोप हुँदै

मिला दरै/डुम्रे

पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् । हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सीको उपयोग गर्दछन् ।

परालको गुन्द्रीसँगै सिमान्तकृत दरै -दराइ) समुदायले प्राकृतिक तथा जैविक कच्चापदार्थको प्रयोग गरी गुदको गुन्द्री बुन्ने गर्दछन्। तनहुँको व्यास नगरपालिका-१ भादगाउँका ६८ वर्षीया मनसुलीमाया दरैले सानो उमेरदेखि गुदको गुन्द्री बुन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउन अन्तिमदेखि कात्तिकसम्म गुद संकलनका लागि विभिन्न स्थानमा जानुपर्छ । पुस, माघमा हर्रोको लेदोले पोतेर सुकाइन्छ । प्राकृतिकरूपमा जंगलमा रहेका कच्चापदार्थ सङ्कलन गरी माघ, फागुन, चैतसम्म बुन्ने गरेका छौँ ।”

गुदको गुन्द्री बुन्ने निकै समय र मेहेनत लाग्ने मनसुलीमायाले जानकारी दिनुभयो । “राम्रो र बुट्टेदार देखिए पनि बुन्न भने लामो समय लाग्छ । मौलिक संस्कार र संस्कृति जोगाउनका लागि हामीले अझै गुदका गुन्द्री बुन्ने गरेका छौँ”, उहाँले भन्नुभयो। अतिथि सत्कार मात्रै नभइ संस्कार र पहिचानका लागि पनि गुन्द्री बुन्ने गरिएको उहाँको भनाइ छ ।

स्थानीय ६६ वर्षीया फूलमाया दरैले भन्नुभयो, “पहिले पहिले त बाबियाको डोरीले गुन्द्री बुनिन्थ्यो । अहिले फेरिँदै गएको छ। हामी अल्छी हुन थालेका छौँ । अहिले सुतरीको डोरीमा नै गुदको गुन्द्री बुन्छौँ।” पहिले पहिले धेरै ठाउँमा पाइने गुद अहिले पाउन अलि कठिन हुन थालेको उहाँको अनुभव छ ।

फूलमायाले भन्नुभयो, “पहिले त चार/पाँच दिन लगाएर विभिन्न स्थानमा पुगेर खोला किनारमा पाइने गुद लिएर आउने गर्थ्यौं । ल्याएर घाममा सुकाएर पुस लागेपछि भने बुट्टेदार गुन्द्री बुन्नका लागि रङ्ग्याउने कार्य थालनी हुन्छ ।” साधाभन्दा बुट्टेदार बुन्ने प्रचलन बढी रहेको भन्दै यो आकर्षित पनि देखिने उहाँले बताउनुभयो ।

पहिले हिँडेर गुद ल्याउने गरिएको थियो भने अहिले सवारीसाधनमा जाने हुँदा एकै दिनमा ल्याउने गरिएको फूलमायाले बताउनुभयो । सुविधाको पनि उपयोग गरिरहेको भन्दै परालको भन्दा गुदको गुन्द्री बुन्न कठिन हुने उहाँको अनुभव छ । “परालको गुन्द्रीमा बिट सजिलो हुन्छ । गुदको गुन्द्रीमा बुट्टासँगै बिट मार्नै फरक तरिका हुने भएकाले अलि समय लाग्छ”, उहाँले भन्नुभयो ।

परालको गुन्द्रीमा जस्तो बिटले गुदको गुन्द्री एकैछिनमा फुस्किने भएकाले पनि यो फरक तरिकाले बनाउनुपर्ने फूलमायाले बताउनुभयो । “यो फरक र कसिलो हुन्छ । जो कोहीलाइ यो बिट मार्नै मुस्किल हुन्छ। अहिलेका बच्चा सिक्नै मान्दैनन्”, उहाँले भन्नुभयो, “बस्न र चलाउन खोजे पनि कच्चापदार्थ खोज्न सहज छैन । अलि बुढा भइसकेका महिला सकिएपछि हाम्रो त गुदको गुन्द्री पनि हराउँछ होला ।”

हर्रोको बोक्रालाई पानीमा उमालेर बनाइएको लेदो गुदमा लगाइ घाममा सुकाइन्छ। सुकाइसकेपछि हिलो गाडेर कालो बनाउनु पर्दछ । दरै समुदायका महिलाले कालो र सेतो रङमा बुट्टा बनाएर गुन्द्री बुन्ने गर्दछन् । हिलो राम्रो नभएको स्थानमा गाड्दा कालो राम्रो नआउने उहाँहरूको भनाइ छ ।

हिलोमा गाडेर कालो भएपछि घर ल्याएर सुकाइ केही समय राखेर मात्रै बुन्न सकिन्छ । ४५ वषर्ीया सुनिता दरैले भन्नुभयो, “मेरो छोरा २४ वर्ष लाग्यो । मैले छोरा नपाउँदै बुनेको गुदको गुन्द्री अझै राम्रै छ । गुदको गुन्द्री टिकाउ पनि हुन्छ ।” साथीहरूसँग गुद खोज्न जाने गरिएको भन्दै हालसम्म परम्परा जोगिए पनि पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो।

ज्येष्ठ र अधबैँशे महिलामा यो आकर्षण भए पनि युवामा चासो नदेखिएको सुनिताको भनाइ छ । विगतमा पुरुष र महिला भएर जाने गरे पनि हाल महिला मात्रै गुद खोज्न जाने उहाँले बताउनुभयो । संस्कार र संस्कृतिसँग नै जोडिएकाले संरक्षण गर्नुपर्ने उहाँहरूको जोड छ ।

आधुनिक परिवेशसँगै फेरिँदै गएको नयाँ प्रविधिको गुन्द्री

म्याटभन्दा बढी प्राकृतिक तथा जैविकरूपमा बुनिएका गुदका गुन्द्री उपयुक्त हुने भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताउनुभयो । “पहिले हामीलगायत पुरुषसमेत गुद खोज्न जाने गरेका थियोँ । अहिले पुरुष गुद खोज्न जान छाडेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो समुदायको हरेक संस्कारमा आवश्यक मानिएको गुदको गुन्द्री बुन्ने प्रचलन लोप हुँदै छ। यसको संरक्षणमा सबै जुट्नुपर्ने देखिएको छ ।”

जन्मदेखि मृत्यु संस्कारका लागि अन्य किसिमका गुन्द्री दरै समुदायले उपयोग गर्दैनन् । आफूसँग नभएको अवस्थामा खोजेर ल्याउने गरिन्छ । मृत्यु संस्कारबाट मुक्त हुनका लागि पनि गुदको गुन्द्रीमा बसेर कर्म गर्ने प्रचलन दरै समुदायमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा कोषाध्यक्ष वीरबहादुरले जोड दिनुभयो ।

दरै उत्थान समाज नेपालका वरिष्ठ उपाध्यक्ष चीजबहादुर दरैले व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा बसोबास गर्ने दरै समुदायका महिलाले गुद खोज्न टाढा पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो । गुद खोला किनारमा पाइने भएकाले यसको कच्चापदार्थ संरक्षणमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

“खोला, नदी किनारमा पाइने भएकाले कच्चापदार्थ संरक्षण गर्नु पहिलो प्राथमिकता हो । पहिले दरै समुदायले मात्रै प्रयोग गर्ने गरिएको थियो”, उपाध्यक्ष चीजबहादुर, “यसको उपयोगिता दीर्घकालीन हुनेहुँदा अन्य जातिले पनि सिक्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा अझ यसको कच्चापदार्थ पाउन मुस्किल बन्दै गएको छ ।” खोला, नदीनाला किनारमा पाइने कच्चा पदार्थलाई संरक्षण गर्दै गुदको गुन्द्री बुन्ने प्रचलनलाई प्रवर्द्धन गरी व्यावसायिक बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

बुट्टेदार राम्रा र बलिया गुदका गुन्द्री लामो ससम्म टिकाउ हुने भएकाले पनि बजारमा माग हुने गरेको स्थानीय महिला बताउँछन् । मेहनत र समय बढी लाग्ने भएकाले यसको मूल्य महँगो हुने दरै समुदायले जनाएको छ। गर्मी समयमा बिछ्याउँदा सितलता दिने विशेषता रहेको गुदको गुन्द्री ३० देखि ३५ वर्षसम्म टिक्छ । गाउँघरमा नै हुने जैविक कच्चापदार्थ उपयोग गरी बुनिने गुदको गुन्द्रीको प्रयोग मानवीय र वातावरणीय स्वास्थ्यका दृष्टिले लाभदायक छ। मौलिक संस्कृति तथा जैविक पदार्थको संरक्षण गरी दरै समुदायमा स्वरोजगार सिर्जना गर्न आवश्यक छ । गुदको गुन्द्री उत्पादनलाई आयआर्जनसँग जोड्नतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयको माग छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker