घिरिङका नवनिर्वाचित अध्यक्षको पहिलो निर्णय : लिफ्ट खानेपानीको विल गाउँपालिकाले तिर्ने
भञ्ज्याङ समाचारदाता/घिरिङ

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँको घिरिङ गाउँपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले पदभार ग्रहण गर्दै महत्वपूर्ण तीन निर्णय गरेका छन् ।
घिरिङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले घिरिङमा सञ्चालन गरेको एक घर एक धारा अभियानलाई सफल बनाउने लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानी योजनाको बिल भुक्तानी गाउँपालिकाले तिर्ने निर्णय गरिएको छ । अध्यक्ष थापाले सबै वडामा आउने सेवाग्राहीलाई फोटो कपी निःशुल्क, प्रत्येक वडाबाट बृद्व भत्ता उपलब्ध गर्ने समेत निर्णय गरेका छन् ।

गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित अध्यक्ष थापाले खानेपानी, स्वास्थ्य तथा शिक्षा लगायतका आधारभूत आवश्यकातालाई प्राथामिकता राखेर आफ्नो कार्यभार सम्हालेका छन् । निर्वाचनका समयमा मतदाताको घरदैलोमा पुगेर खानेपानी, शिक्षाको गुणस्तर वृद्धिमा जोड दिने प्रतिवद्धता जनाए अनुसार आफुले काम गर्ने बताएका छन् ।
ग्रामीण गाउँपालिका भएकाले गाउँघरमा खानेपानी, स्वास्थ्य, शिक्षाको अवस्था कमजोर भएकाले विशेषता यी क्षेत्रलाई सुधार गर्दै व्यवसायिक कृषि, पशुपालन, उत्पादित उपजको बजारीकरणका साथै अन्य विकास निर्माणको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढ्ने अध्यक्ष थापाले बताएका छन् ।










