तनहुँको शुक्लागण्डकीस्थित एक्लेखेतका १३ घरमा बाढीको पानी पस्यो

तनहुँ । अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतमा १३ वटा घरमा बाढीको पानी पसेको छ ।
बुधबार राति करिब २ बजे ताकुडाँडाको खोल्सीमा पानीको बहाव बढेपछि स्थानीयवासीका घरमा बाढीको पानी पसेको हो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धार तथा सुरक्षाका लागि घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। हाल बाढीको पानीसमेत पूर्ण रूपमा घटिसकेको छ ।
बाढीको पानी पसेका घरमध्ये कुलप्रसाद पन्थीको दुईतले पक्की घर, हर्कबहादुर पुनको एकतले पक्की घर र मिना सुवेदीको दुईतले पक्की घर रहेका छन्। बाँकी प्रभावित घरहरू एकतले कच्ची घर रहेका छन् ।
प्रहरी विवरणअनुसार बाढीबाट प्रभावित हुनेमा ४५ वर्षीय कुलप्रसाद पन्थी, २७ वर्षीय टिका पुन, ६८ वर्षीय हर्कबहादुर पुन, ७२ वर्षीया तिलकुमारी पुन, ५० वर्षीय खिलबहादुर पुन, ८७ वर्षीया कलिमाया पन्थी, ५० वर्षीया नममाया तिलिजा पुन, ५० वर्षीय शंकर विक, ६० वर्षीय नरबहादुर विक, ४० वर्षीया लुककुमारी पुन, ७५ वर्षीया दुरुपती पौडेल, ४५ वर्षीय खेमबहादुर विक र ३७ वर्षीया मिना सुवेदी रहेका छन् ।
अविरल वर्षाका कारण खोल्सी तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।










