पिसाव फेर्नक्रममा तनहुँको आँबुखैरेनीको डम्पिङस्थित भिरबाट खसेर विद्यार्थी बेपत्ता
भरतपुरको विद्यालयको शैक्षिक भ्रमणबाट फर्किने क्रममा घटना, प्रहरीद्वारा खोजी तथा उद्धार कार्य जारी

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गबाट भिरमा खसेर एक विद्यार्थी बेपत्ता भएका छन् । चितवनको भरतपुरस्थित पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय अंकित गुरुङ भिरबाट खसेर बेपत्ता भएको बताइएको छ ।
तनहुँ प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किरहेको ना४ख ५२८५ नम्बरको विद्यालयको बसमा सवार गुरुङ शौच गर्न बाटोको छेउमा जाने क्रममा करिब ५० देखि ६० मिटर तल भिरमा खसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले तत्काल खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता विद्यार्थीको खोजी तथा उद्धारका लागि थप टोली परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म विद्यार्थीको अवस्था अज्ञात रहेको छ ।











