पुनः मतगणना गर्न माग गर्दै जोशीले भने : ‘स्वास्थ्य ठिक भएपछि मतदाताको घरदैलोमा आउँछु’
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुनः मतगणनाको लागि माग गरेका छन । बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुनः मतगणनाको लागि माग गर्ने बताएका छन् ।
पुनः मतगणनाका लागि कानूनी बाटो अवलम्बन गर्ने बताउँदै जोशीले मतगणना निष्पक्ष रुपमा र आयोग गरेको व्यवस्था अनुसार नभएको बताएका छन् ।
वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाईएको र वडा नं. ९ देखि १४ सम्म विपक्षको डिजाईनमा षड्यन्त्र पूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनले आरोप लगाएका छन् ।
वैशाख ३० गते व्यास-८ गाविस भवन फेदीमा आफूमाथि गरिएको सांघातिक आक्रमण सुनियोजित र षड्यन्त्रमूलक थियो भन्ने कुरा घटनामा आफूमाथि गरिएको प्रहार र गाडीमा पुर्याइएको क्षतिले स्पष्ट भएको जोशीले बताएका छन् ।
उनले भने, ‘मतपत्र च्यात्यो भनी मलाई लागेको आरोपको सम्बन्धमा मेरो र नेकपा एमालेको एजेन्ट मतदान केन्द्र भन्दा बाहिर रहेको र नेपाली कांग्रेसको एजेन्टमात्र राखी मतदान गरिएको र मतदान अधिकृतसँग असहमति हुँदा पनि मतदान कार्य निरन्तरता दिँदा त्यसो नगर्नुस् भन्दा म माथि सांघातिक आक्रमण गरी म बेहोस भएकाले त्यसपछि के भयो मलाई थाहा छैन, मैले केही पनि गरेको छैन ।’
यस्तै, पत्रकार सम्मेलनमा प्रमुखका उम्मेदवार जोशीले आफ्नो स्वास्थ्य अझै ठिक नभएकाले स्वास्थ्यमा सुधार आएपछि सम्पूर्ण मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य लाभपछि व्यास नगरपालिकाका सबै वडाहरुमा आफै उपस्थित भई मतदातालाई धन्यवाद दिने जोशीले बताएका छन् ।
उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्दै प्रगाढ माया दर्शाउने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरु सबैप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।

व्यास नगरपालिकाका उपप्रमुखका उम्मेदवार बसुन्धरा घर्तीले हार्दैमा जीवन नसिकने बताउँदै व्यास नगरपालिकाको समृद्धिमा सदैव क्रियाशील रहने बताएकी छन् । घर्तीले व्यास नगरपालिकाका हरेक गलत क्रियाकलापमा औंला उठाउने बताएकी छन् । घर्तीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भनेअनुसारको मतगणना नभएको आरोप समेत लगाएकी छन् ।
एमालेसंग तालमेल गरी नगरको प्रमुखको उम्मेदवार बनी चुनावी मैदानमा उत्रिएका जोशी कांग्रेसका प्रमुख उम्मेदवार बैकुण्ठ न्यौपाने संग २५२ मतले पराजित भएका छन् । कांग्रेससंग असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोबिन्दराज जोशीले आफ्नो राजनीतिक बिरासत फर्काउन छोरालाई नगर प्रमुखको उम्मेदवारका रुपमा उठाएका थिए ।
उक्त पत्रकार सम्मेलनमा व्यास नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङ, ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ -हिमाल) लगायत विभिन्न वडाका उम्मेदवार सहभागी थिए ।










