आदिकवि भानुभक्त क्याम्पस : सर्वसाधारणका छोरीहरुको उच्चशिक्षा आर्जन गर्ने केन्द्र बन्दै
सम्झना रसाइली

तनहुँ : तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस ग्रामीण क्षेत्रका विद्यार्थीको उच्च शिक्षा हाँसिल गर्ने थलोको रुपमा विकसित हुँदै गएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा उच्च शिक्षा पढ्ने एक प्रेरणादायी केन्द्र बनेको यो क्याम्पस । करिब तीन हजारको हाराहारीमा विद्यार्थी संख्या रहेको यस क्याम्पसमा करिब ९० प्रतिशत विद्यार्थी ग्रामीण क्षेत्रबाट पढ्नका लागि आएका छन् ।
ग्रामीण क्षेत्रका अल्पसंख्याङ्क समुदाय, आर्थिक रुपमा कमजोर, असाय तथा जिल्ला बाहिर गएर सहज रुपमा अध्ययन गर्न नसक्ने सर्वसाधारणका छोराछोरीलाई क्याम्पसले शिक्षाको उज्यालो दिदै आएको छ । आकर्षक र सुविधासम्पन्न भवन र सरकारी बजेटबाट नभई शिक्षाप्रेमी र समुदायले दान गरेको धान, मकै, श्रम, जग्गा, चन्दा र केही नगदबाट अगाडि बढेको यो क्याम्पस समुदायसंगै निर्भर भएर सञ्चालनमा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताउँछन् ।
वि.सं. २०४४ सालमा जिल्लामा सरकारी क्याम्पस नभएपछि स्थानीय शिक्षाप्रेमीहरू जिल्लामै क्याम्पस सञ्चालनका लागि अगाडि सरे । सुरुमा सत्यवती मा.वि.मा केही कक्षा सञ्चालन गर्दै क्याम्पसको यात्रा थालिएको क्याम्पसका प्रमुख हड्खले बताउँछन् । उनले भने, ‘२०५२ सालमा स्थानीय दरै समुदायका शिक्षा प्रेमीले दान गरेको जग्गा र ऐलानी जग्गा समेटेर करिब ७२ रोपनी क्षेत्रफलमा क्याम्पसको आफ्नै संरचना तयार भयो ।’

‘यो क्याम्पसले अहिले करिब ३ हजार विद्यार्थीहरूको भविष्य उज्वल बनाइरहेको छ’ उनले भने, ‘तीमध्ये २२ प्रतिशत बुहारीहरू छन्, जसले घरको जिम्मेवारीसँगै शिक्षाको उज्यालो खोजिरहेका छन्। धेरैजसो विद्यार्थीहरू श्रमिकका छोराछोरी, विपन्न, दलित र ग्रामीण पृष्ठभूमिका हुन् । अभिभावकविहीन, घरठेगाना नभएका र महिलाहिंसाबाट पीडित विद्यार्थीहरू पनि यही क्याम्पसमा पढिरहेका छन् ।’
यस क्याम्पसमा तनहुँ, लमजुङ, गोरखा र कास्किको रुपा गाउँपालिकाको केही भेगका गरी ४ वटा जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । करिव ९० प्रतिशत विद्यार्थीहरु ग्रामीण भेगका विद्यार्थीहरु छन् । समुदायको सहयोगमा निर्माण भएको यस क्याम्पसमा अध्ययनरत ९० प्रतिशत छात्रा छन् भने २० प्रतिशत दलित समुदायका विद्यार्थी छन् । क्याम्पस त्रिभुवन विश्वविद्यालयको कार्यक्रम अनुसार सञ्चालनमा छ भने विद्यालय पनि सञ्चालनमा छ । विद्यालयभित्र ९ र १० कक्षा र ११ कक्षाको पनि अनुमति लिने क्रममा रहेको उनले बताए । क्याम्पस भित्र ११/१२ कक्षामा ८ सय, स्नातक र स्नात्तककोत्तर २२ सय जना विद्यार्थी गरी ३ हजार जना अध्ययनरत छन् । होटल म्यानेजमेन्ट, कानुन, कम्प्युटर विज्ञान, व्यवस्थापन, मानवीकी, शिक्षा, एमविएस, एमए, एमएड, सोसियोलोजि, प्राविधिक धार तर्फ आइटिसंग सम्बन्धित विआईसिटिई र म्यानेजमेन्ट अन्तरगत विविए कार्यक्रम सञ्चालनमा छन् । विहानी, दिवा र साँझमा गरी तीनै सत्रमा पठनपाठन हुन्छ ।

यहाँका प्राध्यापकहरुका अनुसार, क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९७ प्रतिशत विद्यार्थी रोजगारमा आबद्ध छन् । क्याम्पसमा ६७ जना प्राध्यापक कार्यरत छन्, जसमा ४० जना स्थायी प्राध्यापक छन् । १७ जना प्रशासनिक कर्मचारीले क्याम्पस सञ्चालनमा योगदान दिइरहेको उनले बताए । क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध भए तापनि सरकारी सहयोग न्यून रहेको उनले बताए । ‘क्याम्पसको खर्चका लागि विद्यार्थीको शुल्कमा भर पर्नु परेको छ’, उनले भने, ‘त्यो पनि ५० प्रतिशत विद्यार्थी बीचमै पढाइ छाड्ने स्थिति छ ।’ आर्थिक स्थिति कमजोर भएर पढाई छाडेको आकलन गर्दै क्याम्पसले दलित, अपांगता भएका, आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्राबृत्तिको व्यवस्थापन गरेको छ । ४ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिंदै आएको यस क्याम्पसले गत वर्ष ३२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको र यस वर्ष ४० लाख रुपैयाँ छात्रवृत्ति बाढ्ने लक्ष्य राखिएको क्याम्पस प्रमुख हड्खलेले बताए ।
विपन्न, असाय विद्यार्थीहरुको लागि यो क्याम्पस खुलेको थियो। समुदायमा उच्च शिक्षाको विस्तारका लागि यो क्याम्पस खुलेको थियो । ‘क्याम्पसलाई यहाँसम्म पु¥याउनका लागि जनसमुदायबाट प्राप्त आर्थिक सहयोगकको व्यापक परिचालन गरिएको थियो’, उनले भने, ‘सुरुमा धान हुनेले धान, मकै हुनेले मकै, गहुँ हुनेले गहुँ, नगद हुनेले नगद, जग्गा हुनेले जग्गा, श्रम दिनसक्नेले श्रमदान गरी यो क्याम्पसको स्थापना र बिकास भयो ।’
उनका अनुसार सुरुमा मानवीकीबाट कक्षा सञ्चालन गरिएको थियो । बिस्तारै शिक्षा, व्यवस्थापन र २०६३ सालमा महायज्ञ लगाएर स्नातककोत्तको अध्ययन सुरु गरिएको हो । पुनः २०७२ सालमा महायज्ञ लगाएर बिज्ञान तथा प्रविधिका विषयहरुको अध्ययन गराउने भनेर भौतिक, जिन्सी र नगद सबै मिलाएर करिव ४ करोडको आर्थिक सायतापछि विभिन्न पूर्वाधारहरु थप्दै गयौं। यसरी क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्नेतिर लग्यौ र क्युएए सर्टिफाइड पनि बन्यो । उनले भने, ‘अब स्वयत्त क्याम्पस बनाउने उद्देश्य लिएर अगाडि बढेका छौं ।’

भौतिक पूर्वाधार विकासदेखि गुणस्तरीय शिक्षामा केन्द्रित यो संस्थाले भविष्यमा अझ ठूलो भूमिका खेल्ने विश्वास लिइएका छौ। स्वायत्तिकरणको प्रक्रिया रहेको यस क्याम्पसले विभिन्न चुनौतीको सामाना गर्नुपरेको बताएको छ । त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसमा समयसापेक्ष पाठ्यक्रम विस्तार नगरेको, सरकारले अपेक्षित आर्थिक सहायता नपु¥याएको, लक्षित वर्गलाई छात्रवृत्ति दिन नसकिएको गुनासो व्यवस्थापन समितिको छ ।
विभिन्न चुनौतिहरु रहदारहदै पनि सबै समुदायको राम्रो सहयोग रहदै आएको क्याम्पस प्रमुख हड्खलेले बताए । शिक्षण विधिमा सुधार गर्दै नतिजामा बर्षेनी सुधार हुूदै आएको छ । क्याम्पसका गतिविधिलाई डिजिटलाईज गर्दै प्रविधिमा अपग्रेड गर्दै सूचनाको सहज पहुँच बनाएका छौं । ‘यस वर्ष नेपालकै उत्कृष्ट ७ क्याम्पसहरुमा छानिएका छौ र ती क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगले तालिम केन्द्र बिकास गर्दै छ’ उनले भने, ‘हाम्रो क्याम्पसमा पनि गण्डकी प्रदेश, शिक्षक, प्राध्यापक, स्थानीय सरकार, विभिन्न कर्मचारीको लागि लाईब्ररी, हल र अफिस सहित तालिम केन्द्र निर्माणकै चरणमा छ ।’

यस्तै, क्याम्पसले विद्यार्थी क्लवहरुको माध्यमबाट विद्यार्थीको हक हित, व्यतित्व बिकासका कार्यक्रम र ननक्रेडिट कोर्सहरु सञ्चालन गरिरहेका छ । यसले गर्दा विद्यार्थीहरुको सिप बिकासमा टेवा पुगेको क्याम्पसले जनाएको छ ।
(‘भञ्ज्याङ’ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा वैशाख १ गते प्रकाशित भञ्ज्याङ दैनिक पत्रिकाको विशेषाङ्कमा प्रकाशित)










