भानुमा गुणस्तरीय शिक्षा र युनेस्कोको अभियान विषयक अन्तरक्रिया
भञ्ज्याङ समाचारदात/भानु

तनहुँको भानु नगरपालिकामा गुणस्तरीय शिक्षा र युनेस्कोको अभियान विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । युनेस्को क्लबहरूको महासंघको १२औं अधिवेशनको एउटा इभेन्टको रूपमा आइतबार नगरपालिकामा उक्त कार्यक्रम गरिएको हो ।
भानु नगर शिक्षा समितिका अध्यक्ष एवं नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षता तथा युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा भानुका सबै विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षकका पेशागत संस्थाका अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी उपसचिव ध्रुवराज पौडेलले गुणस्तरीय शिक्षा र युनेस्कोको अभियान विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । गुणस्तरको परिभाषा, हाम्रो वर्तमान अवस्था, गुणस्तर अभिवृद्धिमा देखिएका समस्याहरू, समाधानका उपाय, भानु नगरका प्रयासहरू र आगामी बाटो तथा युनेस्कोसंगको सहकार्य सम्बन्धमा प्रस्तुत अवधारणापत्र माथि छलफल गरिएको थियो ।
कार्यक्रममा काठमाडौं युनेस्कोका युवा विज्ञ सविन लामिछाने, हंसराज किराँत, युवराज न्यौपाने लगायत महासंघका पदाधिकारीहरूले युनेस्कोका गतिविधि तथा यसलाई विद्यालय तहसम्म कसरी विस्तार गर्ने र समुदाय स्तरमा युनेस्को क्लबहरूको विस्तारका प्रक्रियाका विषयमा आ-आफ्ना विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डा. अधिकारीले युनेस्कोका संगठन संरचना, यसको प्रकृति, यसका कार्यक्रमहरू र दिगो विकासका लक्ष्यहरूको लक्ष्य नं ४ र यससँग सम्बद्ध कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म हामी विकासशील राष्ट्र हुँदै शैक्षिक हिसावले फड्को मार्नुपर्ने बताएका थिए ।
उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वर्तमान पाठ्यक्रमलाई समयानुकूल र सिकारूको माग बमोजिम परिमार्जन गर्नुपर्ने, मौजुदा जनशक्ति (शिक्षक) लाई क्षमता विकास र उत्प्रेरित गरी उनीहरूको समुचित व्यवस्थापन गर्ने, शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने (कूल बजेटको न्युनतम २०%) सुझाव दिएका थिए ।
युवा विज्ञ लामिछानेले युवा उद्यमशीलतालाई सँगसँगै अगाडि बढाउँदै युवालाई क्षमता विकास गरि आयआर्जन र स्वरोजगार गराउने अभियान पनि अघि बढाउनुपर्नेमा जोडि दिए । उनले विद्यालय तहदेखि नै युवालाई श्रमप्रति सम्मान गर्ने र परिश्रम गर्ने बानीको विकास गर्राई स्वाबलम्बी बनाउने अभियान समेत युनेस्कोले सञ्चालन गरेको विषय चर्चा गरे ।
नगर प्रमुख त्रिपाठीले युनेस्को क्लब गठन गरी यसका गतिविधि सञ्चालनको शुरूवात तुरुन्तै गर्ने र आगामी आवको वार्षिक कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्रथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।










