२१०औं भानु जयन्ती : उपेक्षामा भानु र भानुजन्मस्थल चुँदीरम्घा
नारायण खड्का/तनहुँ

“बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली
बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलिभोलि
कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि
भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली ।”
आदिकवि भानुभक्त आचार्यका यी श्लोकहरु अहिले कागजमा लिपिवद्ध मात्र छन, उचारण र वाचन भने हुन छाडी सकेका छन् ।
आदिकवि भानुभक्तलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पंक्तिहरु सहजै स्मरणमा आउँछन्। नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन् । आफ्नै घर-परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनज्रि्रोमा झुण्डिएकै पाइन्छन् ।

तर, नेपाली भाषाको भाषिक एकीकरण गरेका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पछिल्लो समय कर्मकाण्डी बन्दै गएको छ । भानुभक्तको जन्मस्थल भानु नगरपालिका-४ चुँदीरम्घामा असार २९ गते अर्थात भानुजयन्तीमा सामान्य कार्यक्रम गरी मनाउने गरिएपनि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले जन्मस्थलको बिकास र प्रवर्द्धनमा ध्यान नदिएको स्थानीय ८२ वर्षीय हरिनाथ आचार्यले बताए ।
‘राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव जुन रुपमा मनाउनुपर्ने थियो पछिल्लो समय त्यो भएको देखिदैन’, भानुका पनाती समेत रहेका उनले भने, ‘जन्मोत्सव आउनु एक महिना अघिदेखि देशविदेशबाट साहित्यकारको भेला हुनुपर्ने थियो, भानुको महिमा र कथन हुनुपर्ने थियो तर त्यो हुन नसक्दा हामीलाई दुःख लाग्छ । केही व्यक्तिले भानु र जन्मस्थललाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरेका छन् ।’

यस्तै, भानुभक्तको जन्मथलो चुँदीरम्घा जुन रुपमा बिकास हुनुपथ्र्यो त्यो हुन नसकेको आचार्य बताउँछन् । उनले भने, ‘हामी सिक्किम गयौ त्यहाँका प्रत्येक केटाकेटीले भानुको महिमा गाउँछन्, भानुभक्तीया श्लोक वाचन गर्छन तर चुँदी बत्तिमुनिको अध्याँरो जस्तै भयो । केही वर्षअगाडिसम्म यहाँपनि भानुभक्तका रचना, श्लोक घरघरमा बाचन हुन्थे अहिलेका पुस्ताले भानुको नाम नै बिर्सिए ।’
भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने भनेको सुनेको वर्षौ बितेपनि केही काम नभएको स्थानीय विष्णुकुमारी श्रेष्ठ बताउँछिन् । ‘संघ, प्रदेश तथा स्थानीय सरकारले आदिकवि भानुभक्तको योगदानको कदर गर्न सकेनन्’, उनले भनिन्, ‘गण्डकी प्रदेशले पनि गत वर्षदेखि नै भानुजयन्तीको अवसरमा बिदा दिन सुरु गरेको हो । राष्ट्रिय विभुति भानुको जन्मजयन्तीमा बिदा भन्दा पनि भानुभक्तको योगदान र उनका रचनाको देशव्यापी रुपमा चर्चा चलाउनुपर्ने हो । एक दिन बिदा दिएर भानुकै योगदानको अवमुल्यांकन भएको हो कि जस्तो लाग्छ।’
यस्तै, शिखरकटेरीस्थित भानुको जन्मघरको भग्नावशेष मात्र बाँकी रहेको र त्यसको संरक्षणमा कसैको ध्यान नपुगेको उनले बताइन् । उनले भनिन्, ‘सोही स्थानमा निर्माण गरिएको रामायण भवनको पनि संरक्षण नहुँदा निर्माण भएका संरचना भत्कने अवस्थामा पुगिसकेको छ। यसतर्फसमिति र स्थानीय कोहीपनि जिम्मेवार बनेको देखिदैन।’
भानुको जन्मघरसम्म जाने बाटोको स्तारोन्नती नहुँदा पनि यसको प्रवर्द्धन हुन नसहेको उनको बुझाई छ । श्रेष्ठले भनिन्, ‘सडकको स्तरोन्नती भए विद्यार्थीदेखि साहित्यप्रेमीहरु पनि सहजै भानुको जन्मस्थलसम्म पुगेर त्यहाँको बस्तुस्थिति अध्यायन अवलोकन गर्न सक्थे । भानुको जन्मस्थल चुँदीमा पनि साहित्यिक पर्यटकको चहलपहल बढ्ने थियो। तर, त्यस्तो कहिले हुन्छ ?’

केही वर्ष अगाडि हप्ता १० दिनदेखि साहित्यिक कार्यक्रम भएको सम्झदै उनले भनिन्, ‘केही वर्षयता त जन्मजयान्तिको दिन असार २९ गते यसो कार्यक्रम गरेजस्तो गरी कर्मकाण्ड पुरा गर्छन् । पहिला चुँदीरम्घाका घरघरमा भानुभक्तिया रचनाका श्लोकहरु वाचन गरेको सुनिन्थ्यो अहिले त त्यो पनि एकादेशको कथा बनेको छ ।’
वि.सं. १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो योग्दान दिएका छन् । हजारौं वर्षदेखि पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुनःजन्म गराउन सफल भानुभक्तले भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन लगायतका क्षेत्रमा योगदान पुर्याएर चर्चित बने । तर, यीनै व्यक्तिको जन्मस्थल चुँदीरम्घामा देश विदेशबाट साहित्यकार ल्याएर जुन हिसाबमा कार्यक्रम हुनुपर्ने हो त्यो भने हुन नसकेको स्थानीय बताउँछन् ।
भारत, म्यानमार लगायतका देशहरुमा भानुभक्तको ठुलो चर्चा भएपनि उनकै जन्मस्थल चुँदीरम्घा भने बत्ति मुनिको अध्याँरो जस्तो भएकोमा स्थानीय चिन्तित छन् । यस ठाउँको प्रवर्द्धन तथा आवश्यक भौतिक पूर्वधार निर्माण तथा संरक्षणमा नगरपालिकाले पनि उचित ध्यान दिन सकेको छैन ।

आदिकवि तथा नेपालको राष्ट्रिय विभूतिबाट समेत सम्मानित भानुभक्त रामायणकै कारण विश्वभरका नेपाली भाषीमाझ लोकप्रिय छन् । यीनै नेपाली भाषा र साहित्यफाँटका उज्जवल नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्मस्थलो बिकासका लागि नेपाल सरकारद्वारा २०५२ मा गठनआदेश नै गराएर भानु जन्मस्थल विकास समिति स्थापना गरेको थियो । मुलुक संघीय संरचनामा गएपछि कुन सरकार अन्तरगत राखिने भन्ने विवादमै रुमलिएपनि नेपाल सरकारद्वारा गठनआदेश २०७७ जारी गरी अहिले संघ सरकार मातहत आदिकवि भानुभक्त जन्मस्थल विकास समिति रहेको छ ।
शिखरकटेरीमा करिव ३ करोड रुपैयाँको लागतमा निर्माण भएको रामायण भवन समिति माताहत आएपनि यसको संरक्षण भएको छैन । जंगलको बिचमा बनेको उक्त भवनले संरक्षण नपाउदा बनेका संरचना भत्किने अवस्थामा पुगेको छ भने भवन वरापरा झाँडीले ढाकेको छ । यस्तै, भानुभक्तको जन्मघरको अहिले भग्नावशेष मात्रै बाँकी छ। वि.सं. २०५७ मा वनमा लागेको डढेलोमा परेको उक्त घर भानु जन्मस्थल विकास समितिको सहयोगमा बनाइएको थियो । तर, पुनः वि.सं २०६१ जेठमा जलेर खण्डहर बनेको छ।

भानुको जन्मघर पश्चिमाञ्चल विकास मञ्चले पुनःनिर्माण गर्ने भनेपनि निर्माण कार्य अगाडि बढ्न नसक्दा अब समितिले नै निर्माण गर्ने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए। उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा संघ सरकारसंग बजेट माग गरी उक्त घर निर्माण कार्य अगाडि बढाउने तयारीमा छौं ।’
भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन र अन्य संरचनालाई निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न लागि परेको उनले बताए ।










