चाडपर्व राष्ट्रिय गहना हुन्, अन्धविश्वासको बलि नचढाऊ

सुरेशकुमार पाण्डे

कुनै पनि चाडपर्वको अवश्य नै कुनै इतिहास हुन्छ । त्यसमा सत्यतामा आधारित केही सिक्ने–सिकाउने भूमिका पनि होला । हामीलाई थाहा नभएको कुनै पक्ष वा पाटो हुन सक्छ, जसको खोजबिन र अध्ययन आवश्यक छ । त्यसकारण पनि तीज पर्वको इतिहास खोतल्नैपर्छ र यसमा रहेको महानता तथा कमजोर पक्ष छुट्याउनुपर्छ । आखिर महिलाहरूको महान् पर्व भनेर तीजलाई लगातार किन भनिँदै आएको छ ? के तीज महिलाको हक, हित र अधिकार प्राप्तिको इतिहास बोकेको पर्व हो ? वा समाजमा भ्रम छरेर महिलामाथि हुने शोषणलाई निरन्तरता दिने अर्को माध्यम ? यी प्रश्नमाथि बहस आवश्यक छ ।

नेपाली समाजमा विभिन्न खालका अदृश्य शक्तिका नाममा आस्था राख्ने परम्परा भेटिन्छ। जहाँ चमत्कार र ‘चटक’मा विश्वास गरिन्छ, त्यहाँ ढोंगीहरूको प्रवेश सहज हुन्छ । हामीले देख्दै नदेखेका थुप्रै अदृश्य शक्तिमा आस्था राखेकै कारण विभिन्न समयमा साम्प्रदायिक द्वन्द्व र सामाजिक विभाजनसमेत हुँदै आएका छन्। कसैले केमा आस्था राख्छ भन्ने मात्र प्रमुख कुरा होइन, उसले आस्था राखेर त्यसलाई कसरी प्रयोग गर्छ र त्यसबाट कसले फाइदा लिन्छ भन्ने विषय अझ महत्वपूर्ण हुन सक्छ ।

कुनै बेला सतीप्रथा थियो र कयौँ मानिस त्यसमा पनि आस्था राख्थे । तर समयक्रममा त्यो प्रथा अस्वीकार भयो। छोरीको जन्म हुँदा उनीहरूलाई कल्ली लगाइदिने चलन पनि कताकति देखिन्थ्यो, जसले आफैँमा एउटा दर्दनाक इतिहास बोकेको छ। त्यस्ता परम्पराको विरोधमा निरन्तर संघर्ष पनि भए । आज त्यस्ता धेरै चलन हटिसकेका छन्, तर तिनका अवशेष कतिपय ठाउँमा अझै देखिन्छन् ।

नेपालमा देउकी प्रथा पनि थियो । बालिकालाई देवताका नाममा चढाउने चलनलाई कतिपयले धर्म ठान्थे। कतिपय परिवारले आफ्नी छोरीलाई देवताको सेवामा समर्पित गर्ने नाममा यस्तो प्रथा अपनाउँथे । त्यसमा पनि थुप्रै मानिसको आस्था जोडिएको थियो । तर कुनै प्रथा पुरानो हुँदैमा त्यो सही र न्यायपूर्ण हुन्छ भन्ने हुँदैन ।

नेपाली समाजको लामो पृष्ठभूमिमा यस्ता ‘चटक’ र अन्धविश्वासको इतिहास छ, जुन अझै पूर्ण रूपमा समाप्त भएको छैन । यहाँ धर्मका नाममा पाप गर्नेहरूले आफूलाई धर्मको ठेकेदार नै सम्झेका हुन्छन् । देशको विकासमा बाधक बन्ने प्रवृत्तिमध्ये एउटा यही पनि हो । जसले जति ठूलो पाप गर्छ, उसैले गरेको धार्मिक योगदानलाई महान् ठान्ने प्रवृत्ति अझै समाजमा देखिन्छ ।

महिलाको महिनावारीलाई अझै पनि अछुतका रूपमा हेर्ने व्यवहार पूर्ण रूपमा हट्न सकेको छैन । त्यसको कथा कोर्ने हो भने निकै लामो बन्छ । महिनावारी भएकै कारण महिलालाई छाउगोठमा राखिने र त्यहीँबाट मृत्युको मुखसम्म पुग्ने घटना अझै हाम्रो समाजमा देखिन्छन्। विज्ञान र प्रविधिले संसारलाई धेरै अगाडि पु¥याइसक्दा पनि यस्ता रूढीवादी व्यवहारबाट मुक्त हुन नसक्नु गम्भीर प्रश्न हो ।

दुनिया आज चन्द्रमाको यात्रा गरिरहेको छ । तर हाम्रा युवाहरूको एउटा हिस्सा अझै …चटकÚबाट देशमा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासमा छ । अन्धविश्वास र चमत्कारको प्रतीक्षाले समाज परिवर्तन हुँदैन। परिवर्तनका लागि चेतना, श्रम, विज्ञान, अध्ययन र निरन्तर संघर्ष आवश्यक हुन्छ ।

यस अर्थमा हेर्दा तीज महिलाहरूले वर्षभरि मनमा चाँपेर राखेका पीडा, वेदना र गुनासो सार्वजनिक गर्ने एउटा सांस्कृतिक अवसर पनि हो । उनीहरूले वर्षभरिका दुःख–सुख, पीरमर्का र अनुभवलाई तीजका गीतमार्फत व्यक्त गर्छन्। यसलाई महिलाको सामाजिक अभिव्यक्तिको एउटा माध्यमका रूपमा पनि लिन सकिन्छ ।

तीजको पूर्वसन्ध्यामा दर खाने चलन छ। हाम्रो समाजले कयौँ वर्ष अभाव र अनिकालमा बिताएको इतिहास छ। भातसमेत दसैँ–तिहारजस्ता विशेष अवसरका खान्की हुने समय थियो। यस्तो समाजमा कहिलेकाहीँ खान पाइने खिर, दर तथा मिठा परिकारको आफ्नै महत्व थियो । त्यस दिन विभिन्न परिकार खाने, नाचगान गर्ने, भेटघाट गर्ने र रमाइलो गर्ने परम्परा विकसित भयो ।

तीजमा पिङ खेल्ने, व्रत बस्ने र शिव–पार्वतीको पूजा–आराधना गर्ने चलन छ। तृतीयाका दिन निराहार तथा पानीसमेत नखाई व्रत बस्ने परम्परा पनि छ। तीजको अन्तिम दिन ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरी स्नान तथा हवन गरेर व्रत समापन गर्ने चलन छ । यसमा पनि एक प्रकारको धार्मिक अन्धविश्वास जोडिएको देखिन्छ ।

विवाहित महिलाहरूले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने तथा अविवाहित महिलाहरूले सुयोग्य पति प्राप्तिको कामना गर्ने परम्परा छ। नेपाली समाजमा लामो समयसम्म पुरुषहरू प्रवासमा रहने अवस्था थियो । यस्तो अवस्थामा महिलाहरूले पतिको सुस्वास्थ्यको कामना गर्नु उनीहरूको सामाजिक र पारिवारिक बाध्यता पनि हुन सक्थ्यो । तर आजको बदलिँदो समाजमा महिलाको जीवन, अधिकार र अस्तित्वलाई केवल पति वा वैवाहिक सम्बन्धसँग जोडेर हेर्ने दृष्टिकोणमाथि पुनर्विचार गर्न आवश्यक छ ।

परम्परागत रूपमा तीजमा महिलाहरू रातो पोसाक, सारी, चोली तथा गरगहनामा सजिएर नाचगान गर्छन् । आफ्ना मनका वेदना गीत र नृत्यमार्फत व्यक्त गर्छन् । दुःख–सुख साटासाट गर्छन्। यसले सामाजिक तथा पारिवारिक मेलमिलाप बढाउन सहयोग गर्छ भन्ने मान्यता पनि छ । तीज हिन्दू महिलाको पर्वका रूपमा परिचित भए पनि यसको सामाजिक पक्षलाई फराकिलो बनाउँदै सबै समुदायबीच सद्भाव र सांस्कृतिक संवादको माध्यम बनाउन सकिन्छ ।

तीजको सामाजिक र पारिवारिक मेलमिलापको पक्षमा कुनै दुईमत छैन। दर खानु, नाचगान गर्नु र व्रत बस्नु आफैँमा नराम्रो भन्न सकिँदैन। तर त्यससँग जोडिएका अनावश्यक अन्धविश्वास र ‘चटक’का विषयलाई भने प्रश्न गर्न सकिन्छ। संस्कृति जोगाउने नाममा विवेक र विज्ञानलाई तिलाञ्जली दिन आवश्यक छैन ।

अझ अहिले तीज महिलाले गरगहना प्रदर्शन गर्ने र महँगा पोसाकमा सजिने पर्वका रूपमा विकसित हुँदै गएको आभास हुन्छ । यसले तीजलाई श्रमजीवी महिलाको साझा पर्वभन्दा धनी र सम्पन्न महिलाको प्रदर्शन गर्ने पर्वका रूपमा रूपान्तरण गर्ने खतरा बढाएको छ । चाडपर्वको मौलिकता मनोरञ्जन र सामाजिक भेटघाटमा होइन, त्यसले बोकेको मानवीय भावना र सामाजिक सम्बन्धमा खोजिनुपर्छ ।

हामी श्रमजीवी समाजका महिला–पुरुष सबै देशवासीका लागि चाडपर्व समाजका गहनाजस्तै हुन्। मानव समाजले खुसी व्यक्त गर्ने एउटा माध्यमका रूपमा चाडपर्व विकास भएका हुन्। त्यसै रूपमा तिनलाई लिनुपर्छ । चाडपर्वबाट सामाजिक व्यवहार, सद्भाव, सहिष्णुता र ज्ञानको सन्देश विश्वसामु पु¥याउन सक्नुपर्छ ।

तर कतिपय छाडा र अश्लील प्रकृतिका क्रियाकलापले नेपाली समाजको बदनामसमेत हुँदै आएको छ । संस्कृतिको नाममा अश्लीलता र विकृति स्वीकार गर्नु हुँदैन । त्यसैगरी परम्पराको नाममा अन्धविश्वास र रूढीवादलाई पनि संरक्षण गर्नु हुँदैन। यी दुवै अतिबाट समाजलाई जोगाउन आवश्यक छ ।

मेला र पर्वलाई कुनै लिङ्गीय, जातीय वा क्षेत्रीय सीमाभित्र मात्र किटान गर्नुभन्दा राष्ट्रिय पर्वका रूपमा विकसित गर्नुपर्छ । कतिपय अन्तर्राष्ट्रिय पर्व पनि हुन्छन्, जसलाई हामी सबैले मनाउँदा आपसी समझदारी र ज्ञानको विकास हुन्छ । कुनै पनि चाडपर्व मानव हित, सामाजिक सद्भाव र सांस्कृतिक सम्बन्धका माध्यम बन्न सक्नुपर्छ ।

त्यस्ता पर्वलाई सकेसम्म प्रगतिशील ढंगले मनाउने बानी बसाल्नुपर्छ । एकातिर हामी आफूलाई भौतिकवादी विचारक बताउँछौँ, अर्कोतिर रूढीवादलाई प्रोत्साहन गर्छौँ । यस्तो विरोधाभास त्याग्नुपर्छ। अनावश्यक अन्धविश्वास र ‘चटक’ छाडौँ भन्नासाथ फेरि पश्चिमी छाडा संस्कृतिलाई प्राथमिकता दिने प्रवृत्ति पनि उचित होइन। छाडापनको पनि विरोध गर्नुपर्छ ।

हामीले रोज्नुपर्ने बाटो न त अन्धरूढीवाद हो, न त छाडापन। हाम्रो बाटो वैज्ञानिक चेतना, मानवीय मूल्य, सामाजिक सद्भाव र प्रगतिशील संस्कृति हुनुपर्छ ।

कुनै पनि चाडपर्व सामाजिक सद्भावका लागि हुनुपर्छ । त्यसैले राष्ट्रका यी गहनालाई अन्धविश्वासको बलि चढाउनु हुँदैन । तिनमा रहेका प्रगतिशील, मानवीय र सामाजिक पक्षलाई संरक्षण गर्दै विकृति, रूढीवाद र अनावश्यक ‘चटक’लाई क्रमशः हटाउँदै जानुपर्छ । चाडपर्वको महानता त्यसमा कति अन्धविश्वास छ भन्नेमा होइन, त्यसले समाजलाई कति जोड्छ, कति ज्ञान दिन्छ र कति मानवीय बनाउँछ भन्नेमा निर्भर हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker