तनहुँमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा शनिबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु गरिएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले व्यास-१ हाइस्कूलटारस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट गर्न प्रतियोगिता आयोजना गरिएको समितिले बताएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले खेलकुदले नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनिन सफल भएको बताए । उनले मानिसलाई स्वास्थ्य र अनुशासित बनाउन पनि खेलकुदको अति आवश्यक रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतियोगिता उद्घाटन समारोहमा नेकपा (एमाले) का जिल्ला सचिव राजेश्वर ढकाल, नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल लगायतले शारीरिक र मानसिक विकासका लागि खेल आवश्यक रहेको चर्चा गरे ।
प्रतियोगितामा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।
प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेल सञ्चालन गरिने भएको छ । तनहुँबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।