तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरी र कोभिड संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । कोभिड जोखिमका कारण सुत्केरीलाई समस्यालाई पर्ने भएकाले गाउँपालिकाले सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो । साथै कोभिड संक्रमितलाई पनि एम्बुलेन्स सेवा निःशुल्क हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
गाउँपालिकाले दुइ एम्बुलेन्स सञ्चालन गरेको छ । एउटा एम्बुलेन्स गाउँपालिका आफँैले खरीद गरेको हो भने अर्को सूर्य नेपाल प्रालिले उपलब्ध गराएको हो । ती एम्बुलेन्सले अन्य प्रकृतिका बिरामीका अतिरिक्त सुत्केरी र कोभिडका बिरामीलाई उच्च प्राथमिकता दिई सेवा उपलब्ध गराउनेछ भने कोभिड र सुत्केरीको हकमा मात्र अभिलेख राखी विना लागत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय भएको अधिकारीले बताए ।
यस्तै, व्यास नगरपालिकाले गर्भवती र जटिल बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने भएको छ । नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार वडा कार्यालयको संयोजनमा गर्भवती र जटिल बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स उपलब्ध गराइनेछ ।










