भूमिहीनलाई निस्सा : व्यासमा वितरण गरिएको निस्सा विवादित
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको वडा नं. १ र २ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले स्थानीय पालिकाहरुसंग समन्वय गरी अहिले निवेदन दर्ता गरेको आधारमा ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण -निस्सा) वितरण सुरु गरेको हो ।
व्यास नगरपालिकाले मंगलबार वडा नं. २ मा दमौली खानेपानी संस्थाका अध्यक्षदेखि निवर्तमान वडा सदस्यसम्मलाई लालपूर्जाको निस्सा वितरण गरेको छ । व्यास-२ वडा कार्यालय मार्फत मंगलबार तीन भूमिहीन दलित, ६ भूमिहिन सुकुम्बासी र १२३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ ।
वडा नं. २ का केही व्यक्तिलाई जग्गाको निस्सा वितरण गरेको फोटो सामाजिक सञ्जामा अहिले भाइरल भएका छन् । भूम आयोग सुकुम्बासीको नभई हुकुमबासीको भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा चल्न थालेको छ। वास्तविक सुकुम्बासीलाई भन्दा सरकारी तथा ऐलानी जग्गा कब्जा गर्ने हुकुमबासीलाई निस्सा वितरण गरिएको भन्दै विरोध गर्न थालिएको छ।
निस्सा पाउनेमा दमौली खानेपानी संस्थाका अध्यक्ष एवं व्यवसायी वृषराज श्रेष्ठदेखि व्यास-१३ का निवर्तमान वडाध्यक्ष लेखबहादुर थापासम्म छन् । श्रेष्ठ, थापा लगायत केही व्यक्तिले निस्सा लिंदै गरेको तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल भएका छन् । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारी, वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतको उपस्थितिमा निस्सा बाँडिएको छ ।
निस्सा लिनेमा उक्त वडाका व्यवसायी, पूर्व शिक्षक समेत छन्। उनीहरु सबैलाई अव्यवस्थित बसोबासीको निस्सा वितरण गरिएको नगरपालिकाले जनाएको छ । सोही निस्साका आधारमा अब जग्गा नापजाँचको काम अगाडी बढ्ने भूमि आयोगका सदस्य श्रीराम कार्कीले बताए ।
यस्तै, व्यास नगरपालिकाले वडा नं. १ बाट सोमबारदेखि निस्सा वितरण सुरु गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गरेका थिए ।

व्यास-१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकम्बासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दाबी-विरोधस्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका १४ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब १० हजार जना रहेको नगरपालिकाले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहहरूले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण सुरु गरेका छन् । केही दिन अगाडिमात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपुर्जाको निस्सा वितरण गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नं. १ र २ तथा देवघाट गाउँपालिकाले वडा नं. ५ मा निस्सा वितरण गरेको छ ।
विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत संकलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरूलाई नापनक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
वडा नं १ का ९५ र वडा नं २ का ९९ जनालाई निस्सा बाँडिएको छ । गाउँपालिकाले ६ वटै वडाका ८८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले भूमिहीनले लालपुर्जा पाउने अध्यक्ष चुमानले बताए ।
देवघाट गाउँपालिकाले वडा नं ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ । पटक-पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन संकलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरूले लालपुर्जा पाउन सकेका छैनन् । यसअगाडि शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन् ।
शुक्लागण्डकीले पहिलो चरणमा २४७ जनालाई निस्सा वितरण गरिएको छ । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन संकलन भएको छ। बन्दिपुर गाउँपालिकाले छवटै वडाका ३२५ जनालाई निस्सा वितरण गरिसकेको छ ।
वि.सं. २०७६ साल चैत १२ गते गठन भएको तत्कालिन आयोगले स्थानीय पालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने क्रममा तनहुँ जिल्लाभर एक हजार १७० भूमिहिन दलित, एक हजार ४०५ भूमिहिन सुकुम्बासी, २४ हजार अव्यवस्थित बसोबासी घरपरिवारले निवेदन दिएपनि काम अगाडी बढ्न सकेको छैन ।
भोगचलान गर्दै आएको जग्गाको रातो लालपुर्जा नहुँदा भूमिहीनहरुले विभिन्न समस्या त झेल्दै आएका छन भने सरकारले पनि राजश्व गुमाउँदै आएको छ ।










