पर्यटकलाई शहर भन्दा गाउँ प्यारो
के.बि. मसाल

पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा जान रुचाउछन । शहर बजारको धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण घुमफिर गर्नेहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन। पर्यटकहरुले खासगरी गाउँमा जनजातीहरुका संस्कृति, प्रकृति र रिती रिवाजको अध्ययनमा रुचि देखाउन थालेका छन । पर्यटकहरु गाउँमा जान थालेपछि गाउँघरमा सानातिना होटल र पर्यटकहरुलाई खान र बस्नको लागि धेरै जिल्लाहरुमा होमस्टे पनि सन्चालनमा आएको छ । अब गाउँघरमा पर्यटकहरु पुग्दा खानबस्न सजिलो भएको छ ।
हामी घुमफिर गर्ने भन्नासाथ शहर वा कुनै चिनिएका गन्तव्यबारे सोच्दछौं । नाम चलेका ठाउँहरुको पर्यटकीय थलोबारे सोधीखोजी गर्न थाल्दछौ । तर घुमफिरको लागि कुनै पनि गाउँमा गएर आफ्नो घुमफिरलाई रोमाञ्चक र स्मरणीय बनाउन सकिन्छ । घुमफिर गर्नको लागि पहिले घुमफिर गर्न सक्ने समय र आर्थिक कुरामा पनि बिचार पु¥याउनु पर्दछ । गाउँघरको जनजीवन, रहनसहन, चालचलन आदिसँग साक्षात्कार गर्ने हो भने तपाईंसँग यस्ता थुप्रै विकल्प हुन्छन। गाउँघरको घुमफिर गर्नु हुन्छ भने तपाइँले घुमफिरको प्याकेज बनाउन पर्ने हुन्छ । कुन जिल्लाको कुन गाउँमा घुमफिर गर्ने ? प्राकृतिक सम्पदाको क्षेत्रमा रमाउने कि ? तीर्थाटन गर्ने की ? ताल तलैया अथवा जनजातिको लोक संस्कृतिमा रमाउने ? यी कुराको एकिन भयो भने घुमफिरको लागि सजिलो मात्र हुँदैन खर्चको समेत बचत हुन्छ । आजभोली गाउँघरमा रहेका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा पर्यटनसँग जोडिएका हुन्छन ।

अहिले प्राय धेरै जिल्लाका गाउँमा होमस्टे सञ्चालन भएको छ । गाउँमा खोजे जस्तो स्तरीय वा सुविधायुक्त होटल, रेस्टुराँ, लज नहोलान । तर, गाउँमा हार्दिकता पूर्वक स्वागत गर्ने घर भेटनु हुनेछ । ती घरमा तपाईं परिवारजस्तै भएर बस्न सक्नुहुनेछ । रैथाने बासिन्दासँग घुलमिल गरेर घुमफिरको फरक स्वाद लिन सक्नुहुनेछ । घुमफिरमा गाउँघरमा भेटिने हरेक मानिसले तपाईंसँग परिचित मुस्कान दिनेछन । गाउँमा नौलो अनुहार देख्ने बित्तिकै सोधि हाल्छन हजुर कहाँसम्म कहाबाट आउनु भयो ? हाम्रो गाउँमा यहालाई स्वागत छ । त्यतिमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउने छन । चियापानी टक्राउने छन । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन। बारीमा सुन्तला फलेको छ वा अम्बा, मकै पाकेको छ अथवा सिजन अनुसार काँक्रा, केरा जे छ तपाईंलाई चखाउँन खोज्दछन । आफ्नो घरमा आइदिएकोमा, आफ्नो चुलोमा पाकेको खानेकुरा खाइदिएकोमा कृतज्ञ समेत हुन्छन । अहो ! यस्तो हार्दिकता शहर बजारमा कहाँ पाइन्छ ? गाउँमा पुग्ने पर्यटकहरु गाउँघरको स्वागत सत्कारले खुशि हुन्छन ।
गाउँघरको भौगोलिक बनावटले धेरै पर्यटकहरु लोभिन्छन । गाउँघरका उच्च डाँडाकाँडाबाट देखिने हिमश्रृंखला, विभिन्न किसिमका झरना, पाखा, पखेरा, टाकुरा, हरिया जंगल झाडी, नागवेली आकारमा बग्दै गरेका नदी नाला, गाउँमा पुगेपछि पर्यटकहरुलाई गरिने आतिथ्य सत्कारको भावना, सांस्कृति विविधता, जातजातिका भेषभूषा कला संस्कृति यीनै कुराहरुले गाउँमा पर्यटकहरु जान रुचाउछन । जब गाउँमा पर्यटकहरु पुग्दछन् गाउँघरको प्रकृतिक सौन्दर्य र जैविक विविधतासंग रमाउछन् । अर्को तर्फ ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले पर्यटकहरु आकर्षण हुन्छन । गाउँहरुमा प्राकृतिक सौन्दर्य पर्यटनसँग जोडिएको छ । ती प्राकृतिक श्रृंखलाहरुको दृश्यावलोकन गर्न पर्यटकहरुलाई सहज हुन्छ । पहाडी डाँडाकाँडा पर्यटकहरुका लागि आफैमा प्राकृतिक भ्युटावर बनेका छन । कुनै एक डाडाको चुचुरोबाट हेर्दा दर्जनौ गाउँघरको अवलोकन गर्न सक्दछन् । त्यसै कारण धेरै पर्यटकहरुको रोजाई घुमफिरको लागि गाउँघर प्यारो हुने गर्दछ ।

पर्यटकहरु आजभोली गाउँघरमा विभिन्न योजना र प्याकेज बनाएर घुमफिर गर्ने क्रम बढदै गएको छ । साथीभाईसगं होस अथवा पारिवारिक गाउँघरको मोह बढदै गएको छ। पर्यटकहरुका आ–आफ्नो सौख र रुची हुन्छन । नयाँ ठाउँ घुमफिर गरेर विविध पक्षको अवलोकन र अनुभवको आनन्द लिनु पनि मानवीय सौख र रुचिका महत्वपूर्ण पाटो हो । जुन सौख र रुची अहिले मानवीय स्वभावमा परिणत हुँदै समाजमा संस्कृतिकै रुपमा स्थापित भएको छ । गाउँघरमा फरक–फरक रीतिरिवाज, धर्म संस्कृति, भेषभूषा, भाषा र आफ्नो संस्कृति अनुसारको चाडपर्वहरु हुन्छन । ती सबै मौलिक प्रकृतिका हुन्छन र पर्यटकहरुलाई रुचि हुन्छ । गाउँको आफ्नै महत्व र विशेष पहिचान रहेको हुन्छ । पर्यटकहरुलाई हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछ ।
पर्यटकहरुले नयाँ ठाउँ घुमफिर गर्न खोज्दछन् । नयाँ ठाउँको महत्व छुट्टै हुन्छ । अर्को तर्फ नदेखेको कुनै गाउँठाउँ कसैको लागि नयाँ बन्दछ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहर बजारका मानिसहरुलाई एक दिनका लागि भएपनि हलो, कुटो, कोदालो समाएर गाउँघरमा रमाउने वातावरण हुन्छ । पर्यटकहरलाई आफ्ना केटाकेटीहरुसँगै गाउँ र वस्तिमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै गाउँघरमा घुमफिर गर्दा रमाउँछन् । गाउँमा पुग्ने पर्यटकले कृषकसँगै प्रत्यक्ष रुपमा कृषि सम्वन्धी कुराकानीले धेरै ज्ञान आदान प्रदान गर्न सक्दछन् । गाउँमा पुग्ने एक जना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडी भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही र नौनी उत्पादन गरेको देख्दा सबै केटाकेटीहरुलाई नौलो अनुभूति हुन्छ । शहर बजारमा किनेर खाएका तर त्यसको बोट कस्तो हुन्छ भन्ने थाहा नपाएका केटाकेटीहरुलाई काफल र ऐसेलुको बोट कस्तो हुदो रहेछ भन्ने कुरा थाहा हुन्छ ।

गाउँमा पुग्दा पर्यटकहरुले धार्मिक एवं सांस्कृतिक महत्वका बारेमा पनि रुचि राख्दछन् । कतिपय अवस्थामा एकै धर्मका मानिसहरुको परम्परा र संस्कृति पनि फरक पनि हुनसक्छ । धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन्छन । धार्मिक, सांस्कृतिक ऐतिहासिक, पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरु पर्यटकीय रुपमा कहिलै पुराना हुँदैनन । गाउँमा पुग्ने पर्यटकहरुले यस्ता सम्पदा खोज्ने गर्दछन् । अहिले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको खोजी संरक्षण र संस्कृति एवं परम्परालाई गाउँघरमा पर्यटनसंग जोडिन थालेका छन् । पुराना मठ मन्दिरहरुको संरक्षण गर्ने नयाँ निर्माण गर्ने क्रम पनि बढदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा पर्यटन लक्षित महोत्सव आयोजना भएका छन । यसबाट मध्यमवर्गीय परिवारमा पनि आफ्नै देशको गाउँघरमा घुमफिर गर्नुपर्छ भन्ने सोच उत्पन्न भएको छ ।
सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेपछि नेपालमा घुमफिरको संस्कृति सुरुवात हुन थालेको हो । खासगरी नागो आँखाले हिमाली चुचुरो नियाल्न र साहसिक हिम–आरोहणमा वाह्य पर्यटकहरु नेपाल आउन थाले । उनीहरुसँग घुलमिल भइरहँदा नेपालीमा पनि घुमफिर गर्नु पर्ने रैछ भन्ने मानसिकता विकास हुदै गयो । सुरुमा नेपाली समाजमा तीर्थयात्राका लागि मठ–मन्दिर पुग्ने बाहेक अन्य ठाउमा घुमफिर गर्ने संस्कार थिएन । पछि रमणीय ठाउँ हेर्ने, त्यहाँको कला–संस्कृति अवलोकन गर्ने, जिब्रोको स्वाद फेर्ने, फरक रहनसहनसँग साक्षात्कार गर्ने मनसायले घुमफिर गर्ने लहर चल्न थाल्यो । यसबाट घुमफिर गर्नुपर्छ भन्ने सोचको बिकास भयो । फुर्सदिलो दिनमा वा आफ्नो अनुकूलता मिलाएर गाउँठाउ घुमफिर गर्ने क्रम बढन थाल्यो । नेपालमा घुमफिरका लागि अनगिन्ती ठाउँ छन । जहाँ घुमफिरको बेग्लै अनुभव सँगाल्न सकिन्छ । गाउँघरमा पुग्ने पर्यटकहरुलाई प्राकृतिक, धार्मिक, सांस्कृतिक सबैले आकर्षण गर्दछ। अग्लो पहराबाट झरेको पानीको छाँगो, पानीको वेगसँगै उडने भुवाझंै बाछिटाहरु अनि त्यसमा परेको सप्तरंगी इन्द्रेणी यस्तो दृश्य देख्दा पर्यटकहरु रोमाञ्चित हुन्छन । यो रोमाञ्चकता सँगाल्न पनि पर्यटकहरु गाउँघरमा पुग्दछन ।

पर्यटन र वातावरण एक–अर्कामा ज्यादै नगिचको सम्बन्ध हुन्छ । किनभने मानिस अनुकूलको वातावरण भएन भने त्यो स्थानमा पर्यटक जान रुचाउदैनन् । प्रकृतिबाट प्राप्त वातावरणलाई व्यवस्थित गरी पर्यटनको विस्तार गर्न भने सकिन्छ । हिमाल, वन जंगल, जीवजन्तु, वनस्पति, ताल, झरना, नदी, आदि सबै पर्यटनको बिकासको लागि संरक्षण गर्नु पर्ने हुन्छ । सामान्यतया पर्यटकहरु आफ्नो व्यस्त र भीडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा घुमफिर गर्न चाहन्छन जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नु पर्दैन। स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै पर्यटकको मुख्य उद्देश्य हुन्छ । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ । गाउँघरमा विभिन्न क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन । कतिपय अवस्थामा जो आफै मानवका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो मनमोहक र चुनौतीपूर्ण हुन सक्छन । जसमा सबैखाले पर्यटकहरु रमाउन सक्दछन । कतिपय स्थानहरु त पर्यटकहरुले स्वस्थ्य पर्यटनका रुपमा पनि उपयोग गरिरहेका हुन्छन ।
बिश्वका १९५ मुलुक मध्ये नेपाल प्राकृतिक रुपमा सुन्दर र शान्त देश हो । पर्यटन शब्दले महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक ठाउँको घुमफिर गरी त्यहाँका विविध पक्षको अध्ययन तथा त्यसबाट विभिन्न ज्ञानवद्र्धक, विभिन्न मनोरन्जन हासिल गर्ने विषय भन्ने बुझाउँछ । नेपालको गाउँघरलाई प्रकृतिले विविधता प्रदान गरेको छ। पर्यटकहरुलाई धेरै उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरु छन । यस्ता ठाउँहरुको राम्रो प्रचारप्रसार हुन सके गाउँमा जाने पर्यटकको संख्यामा वृद्धि हुदै जान्छ । पर्यटनको बिकासबाट गाउँलाई आत्मनिर्भर बनाउन सकिएमा गाउँको आर्थीक उन्नती हुन्छ । गाउँमा पर्यटनको बिकास गर्न सरकारले स्पष्ट कार्यनिति तथा रणनिति बनाई त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । नेपाली नेतामा दूरदर्शिताको अभाव छ । राजनीति अस्थिरता हुनुहुन्न । जुन कारणले पर्यटनको क्षेत्रमा सोचेअनुरुपको उपलब्धि हाँसिल हुन सकिरहेको छैन ।

अबको पर्यटन भनेको जती पुर्वाधारको विकास गर्न सकियो त्यतीनै पर्यटकको सख्या बढदै जाने हो । पर्यटन जस्तो अति संवेदन विषयलाई सस्तो प्रचारमात्र गरेर हुदैन । पर्यटकहरुले घुमफिर गर्ने गाउँघरमा सुरक्षाको अनुभुति हुनु पर्दछ । स्वास्थ्य केन्द्र र सञ्चारको सुविधा हुनु पर्दछ । बस्ने वास र खाने कुराहरु सहज रुपमा पाइने होटल लजको सुविधा पनि हुनु पर्दछ । गाउँघरमा पर्यटनको क्षेत्रमा पुर्वाधारको बिकास गर्न नसक्दा पर्यटन प्रवद्र्धनमा पछाडी परेको छ । ऐतिहासिक, धार्मीक र प्राकृतिक पर्यटकिय सम्पदाको उचित संरक्षण तथा सम्बर्दन हुन सकेको छैन । यी कुराहरुको समयमै पहिचान भई त्यसको समुचित प्रयोग गर्न सकेको भए अहिलेसम्म पर्यटनको बिकासले सबै गाउँठाउमा बिकास हुने थियो ।
समाजमा रहेका धनीहरुको पैसा गरिबहरुसम्म पु¥याउन, रोजगारी श्रृजना गर्न एवं राष्ट्रिय आय वितरणलाई सन्तुलित तुल्याउन आन्तरिक पर्यटनको भूमिका महत्वपूर्ण हुन्छ । यसैगरी, स्थानीय स्रोतहरुको विकास एवं संरक्षण गर्न आन्तरिक पर्यटनको भूमिका अग्रणी हुन्छ । तर दुस्खद यथार्थ त के छ भने हामी कहाँ वाह्य पर्यटनले महत्व पायो तर अन्तरिक पर्यटनले महत्व पाएको छैन । बास्तवमा ग्रामीण पर्यटनको भविष्य अत्यन्त उज्ज्वल छ। अब नेपालको प्रत्येक गाउँगाउँ पर्यटनका केन्द्र बन्न पर्दछ । नेपाल गाउँ–गाउँहरुको देश हो । प्रत्येक गाउँका आ–आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरु छन । ती सबै पर्यटनका विषयहरु हुन सक्दछन । तिनीहरुलाई व्यवस्थित वा विकसित गरेर पर्यटनको विकास गर्न सकिन्छ। ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ । एकातिर, ग्रामीण विकास नभइकन ग्रामीण पर्यटनको विकास हुन सक्दैन। अर्कोतर्फ पर्यटनले ग्रामीण विकासमा मद्दत पु¥याउँछ । त्यसरी पर्यटनसित जोडिएपछि गाउँहरुको विकासको सम्भावना बढेर जान्छ । ग्रामीण पर्यटनको विकास हुनु भनेको गाउँहरुको पनि विकास हुनु हो ।

अब देशैभरका सम्भावना बोकेका क्षेत्रलाई प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रितका आधारमा पर्यटन गाउँ बनाउन पर्दछ । तर गाउँमा पर्यटकहरु जानको लागि पुर्वाधारको बिकास हुनु पर्दछ । गाउँको सरसफाई, स्वास्थ्य चौकी र सुरक्षा हुनु पर्दछ। गाउँघरमा कृषि क्षेत्रमा उत्पादन बढाउन पर्दछ। गाउँमा पुग्ने पर्यटकहरुलाई उत्पादित बस्तुहरु बिक्री गर्न सकियोस तब मात्र गाउँमा पनि पर्यटनको बिकास हुन्छ । पर्यटकहरुले आफु पुगेको गाउँठाउबाट केहि न केही चिनो स्वरुप बस्तुहरु घरमा लैजान चाहन्छन । पर्यटनको बिकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ। जुन शिपबाट उत्पादन भएका बस्तु पर्यटकहरुलाई किनु किनु हुन सकोस र गाउँलेहरुलाई आय आर्जन हुन सकोस, गाउँमा उत्पादन भएका बस्तुले गाउँठाउलाई चिनाउन सकोस । उनिहरुले उत्पादन गरेका बस्तुहरु पर्यटकहरुले किन्न सकुन। अनिमात्र हुन्छ गाउँमा पर्यटनको बिकास ।










