तनहुँ १ मा सिटौला उम्मेदवार बन्ने चर्चा र गोविन्द भट्टराईको अभिव्यक्तिले कांग्रेसमा तरंग

रिखिराम जिसी

पाेखरा । तीन दिनअघि नेपाल शिक्षक संघ तनहुँको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त तनहुँ १ मा आयातित उम्मेदवार उठाउन खोजिएको संकेत गरेपछि कांग्रेस पंक्तिमा खैलाबैला मच्चिएको छ ।

भट्टराईले भनेका थिए- यहाँका नेताहरु सक्षम छन् । यहाँ अन्यत्रबाट नेता झिकाएर लडाउनुपर्ने अवस्था छैन । यहाँ आयात होइन नेताको निर्यात गरेका छौं । कोही काठमाडौंमा गएर निर्वाचन जित्नुभयो, कोही बारमा । यहाँ अन्यत्रबाट नेता झिकाएर लडाउनुपर्ने अवस्था छैन । म निर्वाचन लड्न तयारी अवस्थामा छु र अरु आकांक्षी साथीहरुको व्यवस्थापनको दायित्व पनि मेरो हो ।

विना प्रसंग भट्टराईले किन बाहिरबाट नेता ल्याउन खोजिएको भने ? यसबारे तनहुँ नेपाली कांग्रेसका जिल्ला कार्य समितिका एक सदस्यले भने भट्टराईले केही सूचना पाएरै यस्तो अभिव्यक्ति दिएको दाबी गरेका छन् ।

नेपाल प्रेससँग आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै ती सदस्यले भने- गोविन्द दाइले केही संकेत पाएरै बोलेका हुन् । खासमा कृष्णप्रसाद सिटौलालाई तनहुँ १ बाट उपनिर्वाचन लडाउनेबारे शीर्ष तहमा छलफल भएको खबर आएको छ । कृष्ण सिटौला जत्तिको राष्ट्रिय नेता आउँदा हामी त खुशी नै हुन्छौं ।

सिटौला यसपटक कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका दाबेदार थिए । तर, सभापति शेरबहादुर देउवाले रामचन्द्रलाई गुण तिर्न सिटौलालाई ब्याक गरेका थिए । आफूलाई दुवैपटक सभापति बन्न निर्णायक सहयोग गरेका सिटौलालाई पनि देउवा न्याय गर्न चाहन्छन् ।

कतिपयले रामचन्द्रलाई राष्ट्रपति बनाउने बेलामै सिटौलालाई उपचुनाव जिताएर ल्याउने समझदारी बनेको अनुमानसमेत गरेका छन् । यसबारेमा सिटौलासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

कांग्रेस स्रोतका अनुसार सिटौलाले चाहेमा उनलाई तनहुँ १ मा उपचुनाव लडाउन सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का तयार छन् । आगामी महाधिवेशनमा सिटौलाले आफूलाई सभापतिमा सघाउने वातावरण बनाउन खड्काले चाहेका छन् । झापा ३ बाट लगातार २ पटक राप्रपाका राजेन्द्र लिङ्देनसँग चुनाव हारेका सिटौलालाई संसदमा ल्याउन कांग्रेस शीर्ष नेतृत्व चाहन्छ ।

राजनीतिक सक्रियता र पहलकदमी लिनसक्ने कांग्रेसका शीर्ष नेताहरुमध्ये संसद बाहिर अहिले सिटौलामात्र छन् । उनलाई कुनै न कुनै रुपमा न्याय गर्ने देउवाको चाहना प्रकट हुने गरेको नेताहरु बताउँछन् । त्यसो त सिटौलाको नाम आउनु र गोविन्द भट्टराईले तत्कालै प्रतिक्रिया जनाउनुको पछाडि तनहुँ कांग्रेसको आन्तरिक राजनीतिक फ्याक्टरले पनि काम गरेको छ ।

तनहुँ १ बाट उपचुनावमा उम्मेदवार बन्न भट्टराईसँगै रामचन्द्र पोखरेल, ध्रुव वाग्ले र दीपक भट्टराईले पनि बलियो दाबी पेश गरिरहेका छन् ।

यीमध्ये वाग्ले देउवाका सदाबहार सहयोगी हुन् । गोविन्द भट्टराईले मंसिर ४ को निर्वाचनमा टिकट नपाएपछि एमालेबाट चुनाव लड्न बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको जानकारी कांग्रेसका सबै नेतालाई छ । एमालेले सूर्य चिन्ह लिनुपर्ने भनेपछि उनी स्वतन्त्र उम्मेदवारी दिन निर्वाचन कार्यालयसम्म पुगेर केन्दीय कोषाध्यक्षको आश्वासन पाएपछि फर्किएको नेताहरु बताउँछन् ।

आफूले टिकट नपाउने अवस्थामा गोविन्दलाई रोक्न सिटौला ल्याउने पहल पनि जिल्लाकै कतिपय नेताले गर्न थालेका छन् । त्यसो त हाल २ नम्बर क्षेत्रबाट जितेका शंकर भण्डारी पनि अर्को चुनावमा १ नम्बरमा आउन चाहन्छन् । गोविन्दले जित्दा उनले सो क्षेत्रमा आउन अवरोध हुने भएकाले सिटौला ल्याउँदा उनको पनि स्वार्थ मिल्नेछ ।

तनहुँ १ कांग्रेसमा राम्रो आधार भएकाले भण्डारी एमालेको पकड रहेको क्षेत्रबाट सर्न चाहन्छन् । यसपटक उपचुनावमा सिटौलालाई उम्मेदवार बनाउँदा कांग्रेसमा अन्तर्घात पनि नहुने र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पनि सिटौलाको लागि आवश्यक सहयोग गर्ने भएकाले उनले चाहँदा तनहुँ १ मा कांग्रेसबाट अरु उम्मेदवार नहुने यहाँका नेताहरुले बताएका छन् । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker