तनहुँमा पशुपन्छी विकास सम्बन्धी अन्तरक्रिया गोष्ठी

भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले सोमबार दमौलीमा पशुपन्छी विकाससँग सम्बन्धित शिक्षण, अनुसन्धान र प्रसारमा संलग्न निकाय बीच ज्ञान आदान प्रदान तथा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।

तनहुँ जिल्लामा पशुपन्ती पालनाको अवस्था, सम्भावना तथा चुनौतिहरुका विषयमा केन्द्रले जिल्लाका १० वटै पालिकाका विषयगत शाखा, प्रदेश मातहत सञ्चालित कार्यालय, कृषकहरुको सहभागितामा उक्त कार्यक्रम गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा. बाल कुमार श्रेष्ठले तनहुँमा पशुपन्छी पालनको अवस्था, सम्भावना तथा चुनौतिहरुका विषयमा सहभागिहरु बीच सहजिकरण गरेका थिए ।

जिल्लमा पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका सबल पक्ष, कमजोर पक्ष, अवसर तथा चुनौतीका विषयमा सहभागिहरु बीच जानकारी गराएका थिए । डा. श्रेष्ठले तनहुँ व्यावसायिक पशुपालनको लागि उपयुक्त भूबनोट तथा हावापानी भएको, स्थानीय बजारको उपलब्धतामा वृद्धि भएको, प्राविधिक जनशक्तिको उपलब्धता बढ्दो क्रममा रहेको, मोडेल भेटेरिनरी अस्पताल निर्माणबाट विशिष्टिकृत पशु चिकित्सा सेवा प्राप्त हुने अवस्था, निजी क्षेत्रको बढ्दो संलग्नताको अवस्था रहेको, सडक, विद्युत, संचार जस्ता भौतिक पूर्वाधारको विकास भएको, पशुपालन क्षेत्रमा सहकारीकरण एवं सहयोगी संस्थाको उपस्थिति दिनानुदिन बढेको, प्रदेश सरकारको नीतिमा कृषि तथा पशुपालन उच्च प्राथमिकतामा परेको लगायतका सवल पक्षहरु देखाएका थिए ।

यस्तै, जिल्लाको कमजोर पक्षमा पशुपालन सम्वद्ध स्पष्ट ऐन, नीतिको अभाव र भएका नीतिहरूको समेत प्रभावकारी रूपमा कार्यान्वयनमा नआउनु रहेको डा. श्रेष्ठले बताए । जिल्लाका पालिकास्तरमा दक्ष प्राविधिक जनशक्तिको कमिले न्यूनतम पशु चिकित्सा सेवा ग्रामीणस्तरसम्म पुर्‍याउन नसक्नु, पशुपालनमा सरकारी क्षेत्रको न्यून लगानीको अवस्था रहेको, बढ्दो पशुजन्य उत्पादन लागत, आवश्यक मात्रामा यान्त्रीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्न नसकिएको, पशु र पशुजन्य पदार्थको मूल्य निर्धारण प्रक्रिया वैज्ञानिक र व्यवहारिक बनाउन नसकिएको, कृषकको सीप र क्षमता विकास तथा कृषकले आवश्यक ठानेका विषयमा यथेष्ट कार्यक्रम नहुनु, प्रविधि विकासमा आवश्यक अध्ययन अनुसन्धानको कमी रहेको कमजोर पक्षहरु रहेको जानकारी गराइएको थियो ।

यस्तै, स्थानीय पशुपन्छीको उत्पादकत्व कम हुनु तथा उन्नत नश्लका पशुपन्छीहरूको स्रोतको अभाव हुनु, बजारीकरणमा बिचौलियाहरू हावी हुनु र बजारीकरणको समुचित व्यवस्था गर्न नसक्नु, अनुदानका कार्यक्रमहरूलाई वस्तुनिष्ठ बनाई दायरा वृद्धि गर्न नसकिएको, प्रविधिको प्रसार, बिमा, सुलभ ऋण जस्ता सेवामा कृषकहरूको पहुँच नपुग्नु, पशुपन्छीजन्य उत्पादनलाई मूल्य श्रृंखलासँग जोड्न नसक्दा बजारीकरणमा समस्या देखिनु, सरोकारवालाहरूबीच समन्वयमा कमी हुनु जस्ता कमजोर पक्ष जिल्लामा रहेका छन् ।

जिल्ला भौगोलिक तथा वातावरणीय हिसाबले पशुपालनको प्रचूर सम्भावना रहेको डा. श्रेष्ठले बताए । उनले भने, ‘तीन तहका सरकारले कृषि तथा पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु, पर्यटन अभिवृद्धिसँगै पशुजन्य उपजहरूको माग तथा उपभोग बढ्नु, विदेशबाट फर्किएका युवाहरू सीप, ज्ञान, पूँजी र उन्नत प्रविधिसहित यस क्षेत्रमा आकर्षित हुनु, पशुपालन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र पनि आकषिर्त हुँदै जानु, कृषि विकास रणनीति, २०७२, प्रादेशिक आवधिक योजना र कृषि विकासका अन्य मार्गदर्शनहरूको विकास भई कार्यान्वयन अगाडि बढ्नु जस्ता अवसरहरु रहेका छन् ।’

यस्तै, स्वदेशी लगानीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको शुरूवात भई गाईभैंसी, बाख्रा तथा मत्स्य ब्लक र पकेट कार्यक्रमहरू प्राथमिकताकासाथ कार्यान्वयन हुनु, प्रदेश सरकारले मासु तथा दुग्ध व्यवसाय क्षेत्र विस्तार गर्ने नीति लिनु, जिल्लाका सम्पूर्ण क्षेत्रमा यातायात सुविधा बढ्दै जानु, सुलभ ऋण, बीमा र नयाँ प्रविधिहरूको उपयोग बढ्दै जानु, माछा, मासु तथा दुग्धजन्य वस्तुहरूको उपभोग वृद्धि हुँदै जानु जस्ता राम्रो पक्ष रहेको उनले सहभागिहरुलाई जानकारी गराएका थिए ।

तनहुँमा कृषि तथा पशुपालन पेशालाई प्रतिस्पर्धी, नाफामूलक, सम्मानजनक पेशाका रूपमा स्थापित गर्न नसक्नु जस्ता चुनौतीहरु रहेको पशु विकास अधिकृत डा. श्रेष्ठले बताए । उनले भने, ‘पशुपन्छी तथा मत्स्य विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य, सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउनु, पशुपालन क्षेत्रमा सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको लगानी वृद्धि गर्नु, नयाँ प्रविधिको विकास गरी पशुपन्छी पालन प्रणालीलाई यान्त्रीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्नु, गुणस्तरीय उत्पादन सामग्री, दाना घाँसका बिउवेर्ना, औषधि लगायतका सामग्रीको समयानुकूल आपूर्ति बढाउनु तथा मूल्य नियन्त्रण गर्नु, वर्षेनि युवा जनशक्तिको विदेश पलायनले गर्दा पशुपालन क्षेत्रमा परेको श्रम अभावलाई सम्बोधन गर्नु, नयाँ नयाँ तथा पटक पटक देखिने जुनोटिक एवं महामारीजन्य रोगहरूको प्रकोप न्युनीकरण गर्नु, भेटेरिनरी सेवामा कृषकहरूको पहुँचमा वृद्धि गराउनु, कृषि ऋणको सहज उपलब्धता तथा पशु विमा सुनिश्चित गर्नु, बजार मूल्य तथा मागको सूचना कृषकको पहुँचमा पुर्‍याउनु, जलवायु परिवर्तन अनुकूलन हुने गरी पशुपालन प्रणालीको विकास तथा व्यवस्थापन गर्नु जस्ता समस्याहरु रहेका छन् ।’

यस्तै, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुरका संयोजक राजु कडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुरका वैज्ञानिक दिपक अधिकारीले जिल्लामा पशुपालन, पशुको आहाराका लागि प्रयोग गरिने घाँस खेती, पशु रोगको उपचार लगायतका विषयमा सहभागिहरुलाई सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker