संघीय चुनावमा उठ्ने पूर्वमन्त्री जोशीको घोषणा
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले मंसिर ४ गते हुने संघीय चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन् । शनिबार दमौलीमा आयोजित नेपाली काँग्रेस स्वतन्त्र अभियानको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै जोशीले उक्त घोषणा गरेका हुन् । स्थानीय तहको निर्वाचनमा आफ्नो स्वतन्त्र समुहले प्राप्त गरेको मतले नै आफूले चुनाव जित्ने जोशीको दाबी थियो ।
‘विकास अवरुद्ध भएको र जनतालाई ढाट्ने काम भएकाले आफू चुनाव उठ्ने तयारी गरेको छु’, उनले भने, ‘जनतालाई पनि ढाट्ने कुराको सिमा हुन्छ, कुनै अस्पताल बन्ने भयो कि, नयाँ बाटो बन्ने भयो ? केही गर्न नसक्नेले तनहुँको विकासको जिम्मा लिन्छु भन्दा पत्याउने कि नपत्याउने ?’
‘स्वार्थी, अहम्वादी तत्वको पराजयको लागि आउने निर्वाचनमा मेरो उम्मेदार आवश्यक छ भन्ने ठानेर यो चुनावमा मैले उम्मेदवारी दिने निर्णय गरेको छु’ नेता जोशीले भने, ‘सिधापनले गर्दा धोका भएको र राम्रो मान्छेले टिकट नपाएकोले व्रि्रोह गरी ‘आफ्नो टिकट आफै लिउँ र योग्य व्यक्तिलाई जिताऔं भन्ने अभियान आफूले थालेको हो ।’
काँग्रेस रसिदको आधारमा हैन व्याहार, सिद्धान्त, र आदर्शको आधारमा हुने जोशीको भनाई थियो । अहिले कसैसँग तालमेल नभएको र नहुन पनि सक्ने भएकोले एक्लै लड्ने तयारी गर्न पनि जोशीले कार्यकर्तालाई आग्रह गरे । आदर्श, निष्ठा, सिद्धान्तलाई पुर्याउन सके कार्यकर्तामा परिवर्तन गर्न पनि उनले आग्रह गरे ।
बीपी विचार समाजका सभापति हरिशरण पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरी, शुकुमलाल गुरुङ, युवा नेता दीपकराज जोशी, स्वतन्त्र अभियानबाट निर्वाचित वडाध्यक्ष सहिदपुत्र भरतकृष्ण श्रेष्ठ, विमलराज जोशी, स्वतन्त्र अभियान्ताहरु क्या. रेशमबहादुर गुरुङ, कमलभक्त पोख्रेल, ऋषिराम पोख्रेल, सोलबहादुर चितौरे, नरेन्द्र थापा, केशरबहादुर गुरुङ, इन्द्रबहादुर दरै, भिमबहादुर अधिकारी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










