संविधान दिवसका अवसरमा दमौलीमा सरसफाइ र रक्तदान

संविधान दिवस–२०८१ को अवसरमा बुधबार तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । व्यास नगरपालिकाको व्यवस्थापनमा दमौली बजार क्षेत्र सरसफाइ गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, संघ संस्थाका प्रतिनिधिको सहभागितामा मालपोत लाइन, प्रशासन चोक, दमौली अस्पताल परिसर, खुल्ला चौरमा सरसफाइ गरिएको थियो ।
तनहुँमा बुधबार, बिहीबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । सार्वजनिकस्थान तथा सरकारी कार्यालय सरसफाइ र साँझ कार्यालयमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान दमौली बजारमा ¥यालीको आयोजना गरिएको छ ।
यस्तै, विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा तनहुँको दमौलीमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम गर्ने निर्णय बमोजिम रक्तदान गरिएको हो ।
दमौली अस्पताल र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा दमौली अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौली अस्पतालमा रगतको मागलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताए ।
अहिलेको समयमा संविधान संशोधनको आवाज उठिरहेकाले यस विषयमा छलफल गर्न आवश्यक रहेको वाग्लेले बताए । संविधानले हरेक वर्गलाई अधिकार दिएको बताउँदै वाग्लेले संविधान समयानुकूल परिमार्जन गर्न सकिने बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रक्तदान जीवनदान भएकाले रक्तदाताले समय–समयमा रक्तदान गर्न सबैमा आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्राडा कृष्णप्रसाद गौतमले हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्नसक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह गरे ।










