“लम्पी स्किन” संक्रमणबाट तनहुँमा १९५ गोरु, ५८ वटा गाई मरे
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेतबारी जोत्न समस्या पर्न थालेको छ । धान रोपाइँको चटारोका बीचमा रोगबाट गोरु बिरामी पर्ने तथा मर्न समेत थालेपछि कृषकलाई खेती लगाउन समस्या आइलागेको छ ।
जिल्लाका दशवटै पालिकाका ८ हजार ५७ पशुमा लम्पी स्किन रोग संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्र ठकुरीका अनुसार जिल्लामा हालसम्म ४ हजार ३३५ गोरु, २ हजार ८१७ गाई, ८३९ बाच्छा बाच्छी, ६४ वटा भैसी र २ वटा रागोमा संक्रमण देखिएको छ ।
लम्पी स्किन रोठ संक्रमणबाट जिल्लामा हालसम्म २७१ पशु मरेका छन् । यसमध्ये १९५ वटा गोरु, ५८ गाई, ११ वटा बाच्छा बाच्छी र ३ वटा भैसी मरेको पशु स्वास्थ्य प्राविधिक ठकुरीले जानकारी गराए । स्थानीय पालिका र कार्यालयको समन्वयमा हालसम्म ११ हजार बढी पशुमा रोग संक्रमण रोकथामका लागि खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्रयाक्टर भए पनि कतिपय किसानले ट्रयाक्टर किन्न सक्ने अवस्था छैन ।’
उनका अनुसार लम्पी स्किन संक्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । उनले भने, ‘लम्पी स्किन संक्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ ।’
लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन संक्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले बताए । उनले भने, ‘यो खोप संक्रमित भएको पशुलाई नभई संक्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।’
सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफँै खरिद गरेका थिए ।
नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा मनोज विश्वकर्माले बताए । पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले बताए ।
उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका-१ चारकुने, व्यास नगरपालिका-१३ बेलबास, पोखरीभञ्ज्याङ, व्यास नगरपालिका-११ फराकचौर र व्यास नगरपालिका-७ मा गाईभैँसी संक्रमित भएका थिए ।
जिल्लाको म्याग्दे गाउँपालिकाले दुइ हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ । गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताए । उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो ।
‘व्यावसायिक रुपमा गाईभैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ’, उनले भने, ‘पहिलो चरणमा दुइ हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ ।’ भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन् । अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ ।










