भिमादको धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा

तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।

पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित भएको थियो । कोभिड–१९ पूर्व दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्ने बताइएको छ। धन्दुर सिद्धगुफा समितिका अध्यक्ष दधिराज सुवेदीले विस्तारै जनजीवन सामान्य बन्दै गएकाले पर्यटक आउने विश्वास गरिएको बताउनुभयो ।

सिद्धगुफा परिसरमा चमेरो र सिद्ध गुफा समेत छन् । चमेरो गुफाको लम्बाइ करिब एक हजार ५०० मिटर छ भने सिद्धगुफाको लम्बाइ ३०० मीे छ । सिद्धगुफा तीन तलाको छ । परापूर्वकालमा शिकारीले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफाभित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको उहाँले जानकारी दिनुभयो ।

वर्षायाममा पानी पर्दा मोहोरियाको केही क्षेत्रबाट पानी पसेर चमेरोगुफाबाट पानीको भेल निस्कने गरेको बताइन्छ । चमेरो गुफा नेपालकै लामो गुफा रहेको दाबी गरिएको छ । सिद्धगुफा पहिला सात तलासम्म रहेकामा पछि आफैँ पुरिँदै गएर अहिले चार तलासम्म मात्र रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

भिमाद बजारबाट पश्चिमतर्फ तीन किमी दूरीमा रहेको सिद्धगुफाको धार्मिक ऐतिहासिक महत्व रहेको छ । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको सिद्धगुफाभित्र स्वनिर्मित आकर्षक ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृतिले पर्यटकलाई लोभ्याउने गर्दछ । सिद्धगुफाभित्र रहेको गाईको थुनमुनि कुनै पनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहँदै आएको छ ।

बजारको होहल्ला र कोलाहलबाट मुक्त हुन धेरैजसो व्यक्ति यहाँ पुग्ने गर्दछन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारी साधन यस क्षेत्रमा पुग्न सक्छ । यो ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य छ । गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङ निर्माण सम्पन्न भइसकेको छ । समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र गुुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker