“बन्दिपुरमा बाघजात्रा”

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दिपुरका नेवार समुदायले तीन वर्षछि बाघजात्रा मनाएका हुन् । कोभिड-१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन ।

बन्दिपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, ‘जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो ।’

जात्रामा बाघ, डाक्टर, नर्स, शिकारी, पहलवान, राजाको भूमिकामा बन्दिपुरका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । कोभिड-१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले बताए । ‘संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको हो’, उनले भने, ‘ऐतिहासिक संस्कृति संरक्षणका लागि हामी सधैँ क्रियाशील छौँ ।’

बन्दिपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दिपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । भक्तपुरबाट बन्दिपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ ।

उनीहरूले बन्दिपुरमा व्यापारमात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन् । बन्दिपुरका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दिपुरमा बस्ती मगर समुदायले बसालेका हुन् ।

त्यसैकारण बन्दिपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जंगल र डी भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

आजभन्दा साढे दुइ सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दिपुर बसाइसराइँ गरी आएका जनाइएको छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरूमात्रै बन्दिपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो ।

सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दिपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दिपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker