‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

अशोक घिमिरे/रासस

काठमाडौँ : आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ ।

रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नललपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला परेको प्रहरी तथ्याङ्क छ ।

फेला परेकामध्ये २० वटा शव आफन्तको जिम्मा लगाइएको छ । प्रभावित जिल्लामा फरेन्सिक चिकित्सकको अभाव हुँदा शवको व्यवस्थापनमा समस्या पैदा भएको छ ।

शव भण्डारणका लागि पर्याप्त ‘रेफ्रिजरेटिङ कन्टेनर’ नुहँदा प्रहरीलाई ती शव सुरक्षित राख्न ‘हम्मेहम्मे’ परेको छ । अस्पतालका शव गृह भरिएका छन् । शव भण्डारणमा समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज केही शव जमिनमा समाधिस्थ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले बाढीमा परेर निधन भएका व्यक्तिको शव व्यवस्थापन चुनौतीका रूपमा देखिएको बताउनुहुन्छ । “शव व्यवस्थापनका लागि चाहिने ‘रेफ्रिजरेटिङ कन्टेनर’को निकै जरुरी देखिएको छ”, उहाँले भन्नुभयो, “हामीले यसबारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पहल गरिरहेको छौँ ।”

बाढीले बगाएर ल्याएका शवको सुरक्षित व्यवस्थापनमा ढिलाइ हुँदा महामारी फैलनसक्ने चिकित्सकको चेतावनी छ । फेला परेका कतिपय शव पहिचान हुनै नसक्ने अवस्थामा छन् । कतिपय स्थानमा त मानव अङ्ग मात्रै फेला परेका छन् ।

शव सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । फेला परेका शवको तस्बिर ट्यागसहितको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ ।

हेडक्वार्टरमा उद्धार तथा समन्वय केन्द्र क्रियाशील

प्रहरी हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षक सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ सञ्चालन गरेर प्रतिकार्यलाई व्यवस्थित बनाइएको छ । विपद् भएकै दिन साँझदेखि सो केन्द्र सञ्चालनमा आएको हो ।

सो केन्द्रले त्यसैदिनदेखि फेला परेका शवको फोटो र भिडियोसहितको विस्तृत विवरण लिने र त्यसको व्यवस्थापनको काम गर्दै आइरहेको छ । यस्तै, बाढीमा परी हराइरहेका व्यक्तिको पनि विवरण लिएर खोज तथा उद्धारमा समन्वयको काम पनि सोही केन्द्रले गरिरहेको छ ।

“शवका तस्बिर र भिडियोलाई हराइरहेका व्यक्तिको विवरणमा ‘म्याचिङ’ गर्ने र मातहतको निकायमा समन्वय गर्ने काम केन्द्रले गरिरहेको छ”, प्रवक्ता काफ्लेले भन्नुभयो, “शवको पहिचान भइसकेपछि कानुनी प्रक्रिया पूरागरी सम्बन्धितलाई हस्तान्तरण गर्दै आएका छौँ ।” कानुनी सहायता तथा मुचुल्का लेखनका लागि प्रभावित जिल्लामा टोली परिचालन गरिएको छ ।

दुई हजार बढी व्यक्ति अझै बेपत्ता

यही भदौ १० गतेको सो बाढीमा परी एक हजार ८६३ नेपाली र ५२३ विदेशी गरी कुल दुई हजार ३६२ बेपत्ता भएको सरकारी तथ्याङ्क छ । बेपत्ताको खोजीका लागि रसुवा, नुवाकोट हुँदै त्रिशूलीको तटीय क्षेत्रमा व्यापक रूपमा सुरक्षा फौज परिचालन गरिएका छन् ।

हराइरहेका व्यक्तिको खोजीका लागि अनलाइनबाट निवेदन लिएर खोजी तीव्र बनाइएको प्रहरी प्रवक्ता काफ्ले बताउनुहुन्छ । विभिन्न अस्पतालमा उपचारार्थ घाइतेको विवरण नेपाल प्रहरीको फेसबुक पेजमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

सम्पर्कविहीन प्रहरी कर्मचारी तथा व्यक्तिको खोजतलासका कामलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । “निजका आफन्तसँग समन्वय गरेर, प्रहरीको अभिलेखबाट हुलियासहित तीनपुस्ते निकालेर खोजतलास गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

सम्पर्कविहीन विदेशी पर्यटकको समन्वय तथा विवरण सङ्कलन पर्यटक प्रहरी परिचालन गरिएको छ ।

बाढीपछि हालसम्म एक हजार ५०६ पुरुष र ७९५ महिला गरी दुई हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई नुवाकोटमा रहेको नौ वटा ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।

बाढीबाट प्रभावितलाई सुरक्षित आश्रय दिन प्रहरीले नुवाकोट र धादिङमा ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ । हाल धादिङको होल्डिङ सेन्टरमा कसैले पनि आश्रय लिएका छैनन् ।

घाइतेको उद्धार र उपचारका लागि नेपाल प्रहरीका २२ वटा मेडिकल टिम फिल्डमा खटिएका छन् । सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारका लागि कुकुर र ड्रोनसहित प्रहरी परिचालन भएको अवस्था छ ।

उपकरण नहुँदा उद्धारमा चुनौती

बाढीबाट प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारका लागि आवश्यक उपकरण नहुँदा खोज तथा उद्धारमा चुनौती थपिएको प्रहरीको विश्लेषण छ । बाढी आएको ठाउँमा अझै पनि हिलोको दलदल भएका कारण उद्धारमा समस्या भएको उद्धारकर्मीको भनाइ छ ।

“बाढीले गर्दा दलदल छ, त्यो दलदलमा हिँड्न मिल्ने खालको ‘बुट’, उच्च तौल बहन गर्नसक्ने ड्रोन, ताररहित ट्र्याकिङ उपकरण प्राप्त भएमा अझ प्रभावकारी हुन्थ्यो”, प्रवक्ता काफ्लेले भन्नुभयो ।

पृथ्वी राजमार्ग सञ्चालन

बाढीका कारण अवरोध भएका मुख्य राजमार्गमा सवारी सञ्चालनमा ल्याइएको छ । यही भदौ १० गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड आजदेखि सञ्चालनमा आएको छ ।

विपद्को मौका छोपी चोरी, लुटपाटलगायत आपराधिक गतिविधिको रोकथाम र त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कानुनबमोजिम कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

“महिलाको शवबाट गहना निकाल्नेदेखि बाढीले बगाएर ल्याएको बैङ्कको भल्ट चोरी गर्नेलाई कारबाही गरिएको छ”, उहाँले भन्नुभयो, “अप्ठयारो अवस्थामा ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ वा गलत अफवाह फैलाउने व्यक्ति पहिचान गरी कारबाही भइरहेको छ ।”

विपद्को विषम् परिस्थितिमा तत्कालै खोज तथा उद्धार, स्वास्थ्य सहायता, राहत वितरण, होल्डिङ¬ सेन्टर व्यवस्थापन, शव सङ्कलन र व्यवस्थापनमा प्रहरी सङ्गठन दिनरात खटिरहेको उहाँको भनाइ छ ।

“नदी किनारमा रहेका शव ड्रोनमार्फत पहिचान गर्ने, त्यसको आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्ने, तस्बिर–भिडियो लिने र नम्बरिङ गर्नेदेखि त्यसलाई सुरक्षितरूपमा अस्पताल पठाउने काम भइरहेका छन्”, प्रवक्ता काफ्लेले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker