तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढ्दै

कृष्ण न्यौपाने

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी सरगर्मी बढेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरु शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल यतिखेर गृहजिल्ला तनहुँमा हुनुहुन्छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ पनि अहिले जिल्लामै हुनुहुन्छ । यसकारण पनि यहाँ चुनावी चर्चा बढेको पाइएको छ ।

विभिन्न दलका नेताहरुले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नं १ मा आफूहरुको दाबी पत्रकार सम्मेलनमार्फत गरिसक्नुभएको छ ।

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री शङ्कर भण्डारीको पनि दाबी छ । अघिल्लो पटक क्षेत्र नं २ बाट पराजित भण्डारी यसपटक भने तनहुँ क्षेत्र नं १ मै उम्मेदवार बन्ने चाहनामा हुनुहुन्छ । नेकपा (एमाले) का तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । यसैगरी तनहुँ क्षेत्र नं १ मा स्वतन्त्ररुपमा प्रविण पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उता तनहुँ क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको दाबी छ । नेकपा (एमाले) का तर्फबाट स्थायी कमिटी सदस्य किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल, पोलिटब्युरो सदस्य टुकराज सिग्देलको दाबी छ ।

नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ आजदेखि सुरु गरेको छ । यो अभियानका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई तनहुँमा प्रतिनिधिका रुपमा खटाएको छ । अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।

नेपाली कांग्रेसले यो अभियानका लागि जिल्लाका दशवटै पालिकामा प्रतिनिधि परिचालन गरेको छ । व्यासमा प्रा डा कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दीपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण विक खटिनुभएको छ ।

यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिने खनालले जानकारी दिनुभयो । “नेपाली कांग्रेस पूर्णरुपमा निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको छ”, खनालले भन्नुभयो ।

नेकपा एमाले तनहुँले जिल्लास्तरको प्रशिक्षण, पालिकास्तरको प्रशिक्षण र बैठक आयोजना गरेको छ । निर्वाचनलाई लक्षित गरी सबै पालिकामा भेला, प्रशिक्षण र बैठक सञ्चालन गरिएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले जानकारी दिनुभयो ।

सत्तारुढ नेकपा एकीकृत समाजवादी तनहुँ उम्मेदवार सिफारिस गर्ने तयारीमा छ । केन्द्रीय कमिटीले उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक बसेर उम्मेदवार सिफारिस गर्न लागिएको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिनुभयो ।

सत्तारुढ जनता समाजवादी पार्टी तनहुँले भने उम्मेदवार सिफारिस गरिसकेको छ । जसपा तनहुँको जिल्ला कार्यसमिति बैठकले तनहुँका दुई सङ्घीय क्षेत्र र दुई प्रदेशसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ । त्यस्तै तनहुँ क्षेत्र नं १ को प्रदेश (क) मा टेकबहादुर गुरुङ र प्रदेश (ख) मा सामाजिक अभियन्ता खड्क आले मगर सिफारिस हुनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा केन्द्रीय विज्ञ परिषद् सदस्य सोमबहादुर नेपालीलाई सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker