व्यास र ऋषिङ जोड्न सेती नदीमाथी पक्की पुल निर्माण शुरु
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि पक्की पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा व्यास नगरपालिका-३ देउरालीनगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्न सेती नदीमाथि पक्की पुल निर्माण शुरु गरिएको हो । प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणका लागि विसं २०७७ मंसिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले बताए ।
एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू अवमा चार करोड ५० लाख रुपैयाँ विनियोजन भएकामा निर्माण कम्पनीलाई दुइ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।
उक्त पुलको सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् । पुल शिलान्यास गर्दै मन्त्री गुरुङले विकास निर्माणका सवालमा सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेका बताए । राजनीतिक दलबीच मतभेद रहेपनि विकास निर्माणका सवालमा एकजुट हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए ।
संघीयताले घर घरमा विकास पुगेको चर्चा गर्दै मन्त्री गुरुङले प्रदेशभित्र आधारभूत खानेपानी सुविधा, हरेक बस्तीमा सडक र विद्युत् सुविधा पुर्याउन सरकारले काम गरिरहेको चर्चा गरे । ‘प्रदेश सरकारले महत्वपूर्ण सडक पुल निर्माणलाई जोड दिएको छ, त्यसैको उदाहरण झापुटारमा बन्न लागेको पुल पनि हो’, उनले भने, ‘भौतिक पूर्वाधार निर्माणमा सरकारको जोड छ ।’
झापुटारमा निर्माण शुरु भएको पुलले तनहुँको दक्षिणी भेगका जनताको जीवनस्तर परिवर्तन गर्ने बताउँदै उनले भने, ‘तनहुँको कर्णाली भनेर चिनिने दक्षिणी भेगका जनतालाई पुल बनिसकेपछि निकै सुविधा हुन्छ ।’ गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको बताए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जनताको वर्षौदेखिको सपना पूरा हुने क्रममा रहेको भन्दै समयमै पुल निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुल निर्माणका लागि स्थानीय तहबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विकास निर्माणका कार्यमा आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गराउने बताए ।










