चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित, पीडित परिवारलाई राहत रकम प्रदान

केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन ।

केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ । चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका र एक पुरुष घाइते भएका छन् ।

मङ्गलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुई सय मिटरमाथि जङ्गलमा भेटिएको थियो ।

शनिबार बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणमा परेर आठ वर्षीया रियाना थापा र आइतबार बन्दीपुर–१ मा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते हुनुभएको थियो । चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । घरछेउमै चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दीपुर–४ का सन्तोष थापाले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो ।

चितुवाको आक्रमण बढेपछि चितुवा नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा आइतबार फलामे खोर राखिएको थियो ।

सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,” उहाँले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौं ।”

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” चितुवाको आक्रमणबाट पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

पीडित परिवारलाई राहत रकम प्रदान

यस्तै, डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मंगलबार मृत्यु भएका बन्दिपुर गाउँपालिका-१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत रु ५० हजार प्रदान गरेको छ ।

डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त रुपमा उक्त रकम मृतकका बुबा प्रेमबहादुर बगाले मगरलाई हस्तान्तरण गरिएको छ ।

बन्दिपुर गाउँपालिका-१ दिल प्राविमा नर्सरीमा अध्ययनरत बालकलाई चितुवाले आक्रमण गरी घरदेखि करिब दुइ मिटर माथि जंगलमा लगेको थियो ।

मृतकका परिवारलाई सुरुमा काजक्रिया खर्चबापत उक्त रकम प्रदान गरिए पनि बाँकी रु नौ लाख ५० हजार छिट्टै उपलब्ध गराउन पहल गरिने निमित्त डिभिजन वन अधिकृत दयानिधि अर्यालले बताए ।

गाउँपालिका कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई रु ५० हजार दिने यसअघि नै निर्णय गरेकाले उक्त रकम उपलब्ध गराउन पहल भइरहेको बन्दीपुर-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker