पर्यटन प्रवर्द्धनका लागि बन्दिपुरमा पर्यटन शाखा स्थापना

भञ्ज्याङ न्यूज

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ। बन्दिपुर गाउँपालिकाले आन्तरिक एवं बाहृय पर्यटक भित्रयाउन सहज बनाउन सो शाखा स्थापना गरेको हो ।

पर्यटन प्रवर्द्धनका लागि विभिन्न संघसंस्थासँग हातेमालो गर्दै प्रचारप्रसारका कार्यलाई तीव्रताका साथ अघि बढाउने योजना सो शाखाले बनाएको छ । पालिकास्तरबाट पर्यटन क्षेत्रको विकासका लागि नियमित काम गर्नेगरी जनशक्ति सहित व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

पोखरा क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर पोखरा घुम्न आएका पर्यटकलाई बन्दिपुर ल्याउने वातावरण सिर्जना गरी पर्यटन प्रवर्द्धनमा शाखाले भूमिका खेल्ने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि सुरुमा २० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि वडागत र पालिकास्तरमा विभिन्न शीर्षक अन्तर्गत बजेट विनियोजन गरेको छ । बन्दिपुर क्षेत्र पर्यटकीय गन्तव्यस्थल भएकाले परम्परागत निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । आधुनिक घरले मौलिक घर विस्थापित गर्ने भएकाले अब निर्माण हुने नयाँ घरका लागि सहुलियत दरमा काठ खरिद गर्न व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।

बन्दिपुरमा पर्यटकको आगमन बढेसँगै परम्परागत शैलीका नयाँ घर बनाउन थालिएको छ । बन्दिपुरबाट धौलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृंखलाका आकर्ष दृष्य सहजै अवलोकन गर्न सकिन्छ।

विभिन्न जातजातिको कला, संस्कृति, ढुंगा विछयाइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीद पार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि यहाँका आकर्ष पक्ष हुन् । बन्दिपुरबाट आधा घण्टाको यात्रापश्चात् सिद्धगुफा अवलोकन, मर्स्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् ।

एकपटक बन्दिपुर आएका पर्यटक पटकपटक दोहोर्‍याएर आउने गरेको होटल व्यवसायी बताउँछन् । बन्दिपुरमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायी उत्साहित छन् । निर्माणाधीन अवस्थामा रहेको बन्दिपुर केबुलकार र थ्रीस्टार होटलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker